पश्चिम नेपालमै पहिलो पटक नेपालगन्ज स्किन सेन्टरमा कपाल प्रत्यारोपण

करिव २२ घण्टा लगाएर दुई जना युवकको सफलता पूर्वक कपाल प्रत्यारोपण गरिएको हो ।


    • स्वास्थ्य पेज

  • १७ माघ २०८१, बिहीबार

नेपालगन्जः नेपालगन्जमा पहिलो पटक कपाल प्रत्यारोपण गरिएको छ । नेपालगन्ज स्किन सेन्टरमा नेपालगन्जका दुई जना युवकको सफलता पूर्वक कपाल प्रत्यारोपण गरिएसँगै नेपालगन्जमा अव कपाल प्रत्यारोपण सेवा सुरु भएको सर्जन डा.अभिषेक अर्जेलले बताए । कस्मेटिक डर्माटोलोजिष्ट समेत रहेका अर्जेलको नेतृत्वमा नेपालगन्जका ३४ वर्षीय र ३५ वर्षीय पुरुषको सफलतापूर्वक कपाल प्रत्यारोपण गरिएको छ । डा.अर्जेलसँगै डा.सपना शर्मा, एनेस्थेसिया डा.नवीन रेग्मी लगायतको टिमले सफलतापूर्वक कपाल प्रत्यारोपण गरेको हो ।

३४ वर्षीय पुरुषको १२ घण्टा लगाएर ५ हजार कपाल रोपिएको छ भने ३५ वर्षीय पुरुषको १० घण्टा लगाएर ३ हजार २ सय कपाल रोपिएको छ । ‘ती बिरामीमा तालुको कपाल झर्ने वंशाणुगत समस्या थियो । मेडिकल भाषामा यसलाई ‘एन्ड्रोजेनेटिक अलोपेसिया’ भनिन्छ । पछिल्लो समय कपाल नभएका व्यक्तिहरुका लागि कपाल प्रत्यारोपण अर्थात् हेयर ट्रान्सप्लान्ट विकल्पको रुपमा आइरहेको छ ।

नेपालगन्जमा पनि कपाल प्रत्यारोपण सेवा सुरु गरिएसँगै कपालको रहर गर्नेहरुका लागि अव सहजता मिल्नेछ । कपाल प्रत्यारोपण सर्जन डा अर्जेल कतिपय व्यक्तिको कपाल औषधिका माध्यमबाट रोक्न सकिने बताउँछन् । तर केही गरी कपाल झर्न रोकिएन र तालु देखिने अवस्थामा भने प्रत्यारोपण गर्न सकिने उनको भनाइ छ ।

‘पश्चिम नेपालमा नेपालगन्जमा पहिलो पटक कपाल प्रत्यारोपण सफलतापूर्वक गरिएको छ उनले भने–‘अव कपाल प्रत्यारोपणकै लागि काठमाडौं लगायत अन्य सहर जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।’ कपाल प्रत्यारोपण धेरै सुरक्षित छ । किनकि छालाको भागमा मात्रै काम गर्ने हो। त्यहाँभन्दा भित्र जान पर्दैन ।

छालामा एउटा प्वाल बनाएर कपाल हाल्ने हो । त्यही प्रक्रिया ४÷५ हजार पटक गरिन्छ । तर यो प्रत्यारोपण अनुभवी चिकित्सककहाँ गर्नुपर्छ । सुरूआती चरणमा केही डरलाग्दो देखिए पनि १०÷१५ दिनमा त्यसलाई सफा गरिन्छ ।

  • १७ माघ २०८१, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech