नेपालगन्जः धूम्रपान स्वास्थ्यका लागि हानिकारक हुन्छ, यो त सबैलाई थाहा छ । चुरोट–खैनीको सेवनले क्यान्सर हुन्छ भनेको पनि हामीले सुनेका छौँ । तर, चुरोटले क्यान्सर र फोक्सो सम्बन्धि रोग मात्रै होइन अन्य समस्या पनि निम्त्याउँछ ।
चुरोटमा ७ हजार भन्दाबढी प्रकारका केमिकल हुन्छन् । त्यसमा भएका अधिकांश केमिकल शरीरका लागि हानिकारक नै हुन्छन् । त्यसमध्ये सबैभन्दा हानिकारक केमिकल निकोटिन हो ।
रुस युनिभर्सिटी मेडिकल सेन्टरले सार्वजनिक गरेको अनुसन्धानमूलक रिपोर्टअनुसार चुरोटको धुवाँले हड्डी, मांसपेशी र जोर्नीलाई पोषण दिन आवश्यक अक्सिजनयुक्त रगतको प्रवाहमा अवरोध गर्छ । साथै शरीरमा क्याल्सियम अवशोषित गर्ने प्रक्रियालाई बाधा गरेर हड्डीको घनत्वलाई पनि कम गराउँछ ।
चुरोटले हाम्रो हाडजोर्नी र मांसपेशीलाई असर गर्छ । चुरोटको सेवनले हाम्रो हड्डीको घनत्व (बोन डेनसिटी) घट्छ । हामीले खानेकुराको माध्यमबाट जति पनि क्याल्सियम प्राप्त गर्छौँ, त्यो शरीरको हड्डी र मांसपेशीमा पुग्नुपर्छ । तर, चुरोट खाँदा त्यसमा भएको केमिकलका कारण शरीरले क्याल्सियम अवशोषित गर्न पाउँदैन, जसले गर्दा क्रमशः हड्डी कमजोर हुँदै जान्छ ।
एउटै उमेरका चुरोट नखाने व्यक्ति र चुरोट खाने व्यक्तिमा भएको अनुसन्धानअनुसार चुरोट खाने व्यक्तिमा नखानेमा भन्दा ३० देखि ४० प्रतिशतबढी हिप भाँच्चिएको पाइएको थियो । प्रत्येक दिन नयाँ हड्डी बन्ने र पुरानो हड्डी अवसोसित हुने प्रक्रिया हुन्छ । तर, चुरोटमा भएको निकोटिन र अन्य हानिकारक तत्वले शरीरमा नयाँ हड्डी बन्ने क्रम घटाउँदै जान्छ र हड्डी अवशोषित हुने क्रमलाई भने बढाउँछ ।
हाम्रो शरीरमा धेरै प्रकारको हर्मोन हुन्छ । त्यसमध्ये एस्ट्रोजोन हर्मोनले हड्डी अवशोषित हुने क्रमलाई ढिलो गराउँछ । तर, धूम्रपानको कारण एस्ट्रोजोन भन्ने हर्मोन कम हुन्छ र हड्डी कमजोर हुँदै जान्छ ।
चुरोटले शरीरमा फ्रि–रेडिकल्स निर्माण गर्छ । जसले हड्डी र मांसपेशीमा हानी गर्छ । शरीरमा फ्रि–रेडिकल्स बढेपछि हड्डी र मांसपेशी कमजोर हुँदै जान्छ । धूम्रपान गर्नेहरूमा कम्मरको दुखाइ पनि बढी मात्रामा देखिन्छ ।
चुरोटले हड्डीको साथै मांसपेशीमा पनि असर गर्छ । चुरोट खाने व्यक्तिहरूको मांसपेशी पनि कमजोर हुँदै जान्छ । एउटा अध्ययनका अनुसार धूम्रपान गर्नेहरूमा कुमको हड्डी वरपरको मांसपेशीको समस्या बढी मात्रामा देखिने गर्छ ।
घाउ भरिने र भाँच्चिएको हड्डी जोडिने क्रम ढिलो हुन्छ
यदि धूम्रपान गर्ने कोही व्यक्ति दुर्घटनामा परेर घाउ चोट लाग्यो, हड्डी भाँच्चियो भने उनीहरूको घाउ भरिन र हड्डी जोडिन धेरै समय लाग्छ । कतिपय अवस्थामा चुरोटको नकारात्मक प्रभावले त्यो चोट लागेको ठाउँमा रक्तसञ्चार हुन पाउँदैन । र, भाँचिएको हड्डी जोडिँदै नजोडिने समेत हुन सक्छ ।
त्यसैले, इमरजेन्सीबाहेक कुनै योजना बनाएर गर्नुपर्ने शल्यक्रिया जस्तो ‘जोर्नी प्रत्यारोपण’ गर्दा बिरामीले चुरोट खान्छन् भने न्यूनतम ४ देखि ६ हप्तासम्म चुरोट बन्द गराएर मात्र शल्यक्रिया गरिन्छ । धूम्रपान छोड्ने बित्तिकै हड्डी तथा मांसपेशीमा भएको नकारात्मक प्रभाव कम हुँदैन ।
धूम्रपान छोडेको यति समयपछि फोक्सोमा परेको असर ठिक हुन्छ भने जस्तो ठ्याक्कै यति समयमा पहिलेकै जस्तो हड्डी बन्ने भन्ने त हुँदैन । तर, धूम्रपान छोडेको दिनबाट नै क्रमिक रुपमा हड्डीको अवस्था सुधार हुँदै आउँछ । साथै, यसबाट हड्डीमा आउन सक्ने समस्या न्यूनीकरण हुन्छ ।
चुरोट मात्र हैन भेप पनि उत्तिकै हानिकारक हुन्छ
स्वास्थ्यको दृष्टिकोणले चुरोटभन्दा भेप सुरक्षित हो भन्ने सोच पनि धेरैको हुन्छ । अथवा, चुरोट त खान्न तर कहिलेकाहीँ भेप वा सुर्ती खान्छु यसले त स्वास्थ्यमा खासै असर गर्दैन होला भन्ने पनि लाग्न सक्छ । तर, चुरोटमा मात्र हैन भेप र खैनीमा पनि उत्तिकै हानिकारक तत्वहरू हुन्छन् ।
त्यसैले सुर्तीजन्य पदार्थ कुनैपनि मात्रा सुरक्षित हुँदैन । त्यसैले चुरोट होस्, भेप होस् वा सुर्ती सबै शरीरका लागि हानिकारक हुन्छ ।