राप्तीसोनारीः बढ्दो लागु पदार्थ दुर्व्यसन रोकथामका लागि यसले पार्ने नकारात्मक पक्षका बारेमा विद्यार्थीहरु सचेत हुनुपर्नेमा जोड दिइएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका नागरिक आरोग्य सेवा केन्द्र आयुर्वेद शाखाले लागु औषध दुर्व्यसन रोकथाम सम्वन्धी जनचेतनामुलक कार्यक्रममा सहभागिहरुले बढ्दो लागु पदार्थ दुर्व्यसन रोकथामका लागि यसले पार्ने व्यक्तिगत, पारिवारिक तथा सामाजिक पक्षका नकारात्मक पक्षका बारेमा स्वयम विद्यार्थी सचेत हुनु पर्नेमा जोड दिए ।
राप्तीसोनारी गाउँपालिका वडा नं.८ स्थित जनशक्ति माध्यामिक विद्यालयमा आयोजित उक्त कार्यक्रममा बोल्दै राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारुले पछिल्लो समय लागु पदार्थ दुर्व्यसनको समस्या विकराल बनेकाले यसको नियन्त्रणका लागि व्यक्ति स्वयम सचेत हुनुपर्ने बताइन् ।
उनले कलिला उमेरका बालबालिकाहरु साथीभाइको लहलहीमा लागेर दुर्व्यसनको लतमा फस्ने गरेको पाइएकाले त्यस्ता खराव प्रवृत्तिबाट जोगिन सुझाव दिइन् । राप्तीसोनारी गाउँपालिका वडा नं.८ का वडा अध्यक्ष शालिकराम डाँगीले किशोरावस्थामा दुव्र्यसनको जोखिम हुने भएकाले यस्तोमा आफै सजग बन्नुपर्ने विद्यार्थीहरुलाई सुझाव दिए ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक हरी भट्टराई र प्रहरी नायव निरीक्षक रुपा बुढामगरले लागु पदार्थको प्रयोग, यसले निम्त्याउने जोखिम, बच्ने उपाय लगायतका बारेमा प्रशिक्षण दिएका थिए । त्यसैगरी सामाजिक उत्तरदायित्व र स्वस्थ जीवनशैलीका बारेमा पनि विद्यार्थीहरुलाई सचेत पार्ने काम गरिएको शाखा प्रमुख अञ्जना थारुले जानकारी दिइन् । उनीसँगै खजुरा आयुर्वेद शाखाका किरन खनालले समेत विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा १०८ जना विद्यार्थीहरुलाई लागु औषध दुर्व्यसन रोकथाम, सामाजिक उत्तरदायित्व र स्वस्थ जीवनशैलीका बारेमा जानकारी प्रदान गरिएको थियो । सोमवार राप्तीसोनारी गाउँपालिका वडा नं.२ मा रहेको दुर्गा भवानी माध्यमकि विद्यालयमा यस्तै सचेतनामुलक कार्यक्रम गरिने पनि शाखा प्रमुख थारुले बताइन् ।