‘रक्सीले जाडो भगाउँछ भन्नु भ्रम मात्र हो’

    • डा. स्मृति शाक्य /मुटुरोग विशेषज्ञ

  • १२ माघ २०८१, शनिबार

जाडोमा मुटुको समस्या,उच्च रक्तचाप, कोलस्ट्रोल जस्ता समस्याहरू अलि धेरै देखिन्छन्। जाडोमा हाम्रो शरीरले तातोपनालाई जोगाएर राख्नने भएकाले नसाहरूलाई खुम्च्याइदिन्छ। यस्तो नसाहरू खुम्चिँदा रक्तचाप बढ्न जान्छ र मुटुलाई पनि स्ट्रेस पर्छ। त्यसैगरी जाडोमा हाम्रो खानपिनमा समेत परिवर्तन आउँछ।

हामीले अलि धेरै चिल्लो खानेकुराहरू खान्छौं। यसको साथै एकै ठाउँमा न्यानो गरी बस्ने, बाहिर धेरै नजाने, शारीरिक गतिविधि नगर्ने, व्यायाम नगर्ने लगायतका कारण पनि हुन्छन्। जसले गर्दा क्यालरी सन्चित हुन्छ तर क्यालरी घट्ने क्रम थोरै हुन्छ। जाडोमा रक्सीको सेवन पनि धेरै गर्ने चलन हुन्छ। त्योसँगै धुम्रपानको सेवन पनि हुन्छ। र जाडोमा तनावको मात्रा पनि धेरै हुन्छ। यी सबै कारणले गर्दा रक्तचाप, कोलस्ट्रोल बढ्छ। जसले गर्दा मुटुको रोगको जोखिम पनि बढ्ने हुन्छ।

जाडोमा रक्सीले तातोपना ल्याउँछ, चिसो भगाउँछ भनेर जुन भन्ने कुरा गरिन्छ। यो एउटा भ्रम मात्र हो। रक्सीले हाम्रो शरीरको कुनै पनि अंगलाई राम्रो गर्दैन। यो कुरा विज्ञानले समेत प्रमाणित गरिसकेको छ। हामीले पहिला थोरै रक्सी शरीरको लागि राम्रो छ भन्ने गर्थ्यौं। अहिले त्यो होइन भनेर पुष्टि भइसकेको छ। त्यही भएर रक्सीले हाम्रो शरीरको लागि कुनै फाइदाजनक काम गर्दैन। थोरै मात्रामा पनि रक्सीको सेवन भनेको विषालु पदार्थ भनेर नै सोच्नुपर्छ। कुनै पनि उमेरमा प्रेसर, कोलस्ट्रोल बढ्ने केही कुरामा निर्धारण हुन्छ। यसलाई तीन भागमा बाँड्न सकिन्छ।

पहिलो-हाम्रो खानपिन हो।

दोस्रो-वंशानुगत कारण हो

तेस्रो-कुनै अरू रोग थाइराइड, डाइबिटिज लगायत हो।

यस्ता रोगहरू युवालाई हुँदैन वृद्ध अवस्थामा मात्र हुन्छ भन्ने एउटा बुझाइ छ। जसले गर्दा युवा अवस्थामा खानपिनमा ध्यान दिइँदैन, अनुशासित भइँदैन, धेरै जंकफुड खाइन्छ। तर यसले हाम्रो मुटुलाई हानि गरिरहेको हुन्छ। अनि मोबाइल र ल्यापटपको प्रयोगले व्यायामको कमी भइरहेको छ भने युवा अवस्थामा धुम्रपान र मद्यपानलाई फेसनको रूपमा लिइन्छ। अझै युवाहरू हुक्का तानेर बसिरहेका हुन्छन्। इ-सिग्रेट तानिरहेका हुन्छन्।

तर यी सबै कारणले युवा अवस्थामा मुटुको समस्या बढ्दै जान्छ। मद्यपानले पनि उत्तिकै समस्या पार्छ भने युवाहरू अलि तनावमा समेत हुन्छन्।उनीहरूको निद्रा समेत पर्याप्त हुँदैन। यी कारणले युवाहरूमा प्रेसर, कोलस्ट्रोलको समस्या देखिन्छ। युवाहरूमा एउटा अचम्मको भ्रम छ। चुरोट, सुर्तीभन्दा हुक्का कम हानिकारक छ भन्ने गरिन्छ। तर हुक्का झन् हानिकारक छ। यसो भन्दै गर्दा चुरोट, सुर्ती हानिकारक छैन भनेर बुझ्नु हुँदैन। अर्थात् सुर्तीजन्य पदार्थ र रक्सी सबै हानिकारक छन्। त्यसैले यस्ता पदार्थबाट टाढा रहनु पर्छ। अनि यस्तो कुलत छ भने आजैबाट र अहिल्यैबाट छोड्नुपर्छ।

  • १२ माघ २०८१, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech