नेपालगन्जः बाँकेमा ३५ हजार बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लाका आठ स्थानीय तहमा रहेका ३५ हजार ४४ जना किशोरीलाई खोप लगाइने भएको हो ।बाँकेमा विद्यालयमा अध्ययनरत ३३ हजार तीन सय ७५ जना र विद्यालय बाहिर रहेका दुई हजार आठ सय ५० जना गरेर ३५ हजार ४४ जना किशोरीलाई खोप लगाउन थालिएको स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत तथा खोप फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
फोकल पर्सन श्रेष्ठका अनुसार तीन सय ७८ वटा विद्यालयमा अध्ययनरत किशोरीलाई खोप लगाउनका लागि जिल्लामा चार सय ५९ वटा खोप केन्द्र तोकिएको छ । जसमा तीन सय ७८ वटा विद्यालयमा र ८१ वटा विद्यालय बाहिर खोप केन्द्र छन् । फोकल पर्सन श्रेष्ठका अनुसार राप्तीसोनारीमा सामुदायिक तथा संस्थागत गरी ४८ विद्यालयमा अध्ययनरत तीन हजार एक सय ४५ जना र विद्यालय बाहिर रहेका ६६ जना गरेर तीन हजार दुई सय ११ जना, कोहलपुर नगरपालिकामा ४६ विद्यालयमा अध्ययनरत छ हजार आठ सय नौं जना र विद्यालय बाहिर रहेका छ सय ४९ जना गरेर सात हजार चार सय ५८ जना किशोरीलाई खोप लगाइनेछ ।
बैजनाथ गाउँपालिकामा ५० विद्यालयमा अध्ययनरत तीन हजार नौ सय ३३ जना र विद्यालय बाहिर रहेका ३५ गरेर तीन हजार नौं सय ६८, खजुरा गाउँपालिकामा ६० विद्यालयमा अध्ययनरत तीन हजार दुई सय एक जना र विद्यालय बाहिरका ५२ जना गरेर तीन हजार दुई सय ५३ जना, जानकी गाउँपालिकामा १२ विद्यालयमा अध्ययनरत एक हजार सात सय २१ जना र विद्यालय बाहिरका छ सय ८४ जना गरेर दुई हजार चार सय पाँच जना, नेपालगन्ज उपमहानगरपालिकाका ९९ विद्यालयमा अध्ययनरत सात हजार तीन सय ३६ जना र विद्यालय बाहिर रहेका नौं सय २६ जना गरेर आठ हजार दुई सय ६२ जना, डुडुवा गाउँपालिकामा २४ विद्यालयमा अध्ययनरत दुई हजार दुई सय ४२ जना र विद्यालय बाहिर रहेका ८६ जना गरेर तीन हजार तीन सय २८ जना र नरैनापुर गाउँपालिकामा ३३ विद्यालयमा अध्ययनरत दुई हजार एक सय ३८ जना र विद्यालय बाहिर रहेका तीन सय ५२ जना गरेर दुई हजार चार सय ९० जनालाई खोप लगाउने कार्यक्रम रहेको खोप फोकलपर्सन श्रेष्ठले बताए ।
खोप माघको २२ गतेदेखि फागुनको ६ गतेसम्म विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालयबाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका बालिका तथा किशोरीलाई खोप लगाइने उनले बताए । बाँकेमा दुई चरणमा खोप अभियान सुरु हुनेछ । पहिलो चरणमा माघ २२ गतेदेखि नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा ७ दिनसम्म खोप अभियान चल्नेछ । अन्य राप्तीसोनारी, डुडुवा, नरैनापुर र बैजनाथ गाउँपालिकामा भने माघ ३० गतेबाट अभियान चल्ने पनि फोकलपर्सन श्रेष्ठ बताउँछन् । त्यसका लागि जिल्लामा खोप आइसकेको रहेको अहिले खोप लगाउनका लागि पालिका तहमा स्वास्थ्यकर्मीलाई जानकारीसँगै तालिम दिने काम भइरहेको पनि श्रेष्ठले बताए ।