समिरमान श्रेष्ठ ।
नेपालगन्जः बाँकेमा कुष्ठरोगको प्रभावदर उच्च देखिएको छ । जसका कारण निवारण नै चुनौतीपूर्ण देखिएको छ । आर्थिक वर्ष २०८०÷८१ को तथ्यांक अनुसार जिल्लामा कुष्ठरोग प्रति १० हजार जनसंख्यामा १ भन्दा उच्च रहेको छ । चालू आर्थिक वर्षको पछिल्लो ६ महिनामा जिल्लामा ५८ जना नयाँ कुष्ठरोगी फेला परेका छन् ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको कुष्ठरोग प्रेषण अस्पतालका रुपमा रहेको बाँकेको जानकी–३ स्थित आइएनएफ साइनिङ अस्पतालका अनुसार नयाँ फेला परेका विरामी मध्ये बाँकेका २३ जना, बर्दियाका १५ जना र अरु अन्य जिल्ला तथा सीमापारीका छन् । साइनिङ अस्पताल प्रमुख मंगल थारुले बहिरंग सेवामा ९ हजार ६१४ जनाको जाँच गर्दा ५८ जना नयाँ कुष्ठरोगी भेटिएको बताए ।
स्वास्थ्य कार्यालय बाँकेका कुष्ठरोग फोकल पर्सन रविन्द्र साहका अनुसार जिल्लामा पछिल्लो पाँच महिनामा ३६ जनाले औषधि सेवन गरिरहेको बताए । ती मध्ये कोहलपुरका १०, नेपालगन्जका ८, डुडुवा ५, राप्तीसोनारी ४ तथा बैजनाथ, खजुरा र नरैनापुरका २÷२ जना छन् । नेपालले सन् २०१० मै कुष्ठरोग निवारणको राष्ट्रिय लक्ष्य प्राप्त गरे पनि बाँकेमा प्रभावदर बढ्दै गएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीले बताए ।
बाँकेमा प्रत्येक बर्ष बढ्दै गइरहेको कुष्ठरोग निवारणका लागि राज्यबाट आवश्यक योजना तथा बजेट विनियोजन नहुनु, प्राथमिकतामा नपर्नु दुःखको विषय भएको बताउँदै उनले यसमा सञ्चार जगतले झक्झक्याउनुपर्नेमा जोड दिए । साइनिङ अस्पताल प्रमुख थारुले कुष्ठरोगका बारेमा आम समुदायलाई सुसूचित गर्न सञ्चारकर्मी र सञ्चार माध्यमहरुको अहम् भूमिका हुने बताए । आगामी आइतबार नेपालमा पनि ७२औं विश्व कुष्ठरोग दिवस मनाइँदैछ ।
७२ औं विश्व कुष्ठरोग दिवस भब्यरुपमा सफल पारौं, एकताबद्ध भई कुष्ठरोग अन्त्यको कार्यमा सहभागी बनौं भन्ने नाराका साथ दिवस मनाइँदैछ । दिवसको पूर्व सन्ध्यामा साइनिङ अस्पतालले आज पत्रकार भेटघाट गरेर रोगको पछिल्लो अवस्था र दिवसको तयारीका बारेमा जानकारी गराएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, बिएनएमटी नेपालका दिपेन्द्र पाण्डे, साइनिङ अस्पतालका यम बहादुर केसी लगायतले बोलेका थिए ।