दम्पतीको लामो समयसम्म प्रयास गर्दा सन्तान भएन । यसको दोष गर्भनिरोधकको साधनलाई दिइन्छ । सन्तानको योजना तत्कालको लागि नबनाएका तर विवाह गरेको केही वर्ष भएका दम्पतीलाई गर्भनिरोधक साधनको प्रयोगले पछि सन्तान हुँदैन भनेर बारम्बार नातागोता र साथीभाइले भनिरहेकै हुन्छन् । कतिपय दम्पतीले हाल यस्तै भाष्य सुनिरहेको हुनसक्छ । यसले त्यस्ता कैयौं दम्पतीलाई सन्तान नै नहुने हो कि भनेर चिन्तामा पारिरहेको हुनसक्छ ।
के वास्तवमै गर्भनिरोधक साधनले निःसन्तानको जोखिम गराउँछ त ?
साधनले निःसन्तानको जोखिम गराउँदैन। यसले मात्र हर्मोनलाई नियन्त्रण गरी महिलाको अण्डाशयबाट निस्कने अण्डालाई अस्थायी रूपमा रोकेर गर्भ रहने प्रक्रियालाई कम गराउँछ ।
यसको मतलब अस्थायी रूपमा शारीरिक सम्पर्कको बाबजुद पनि गर्भ रहने सम्भावनालाई अस्थायी रूपमा रोक्छ । जब अस्थायी साधनको प्रयोग बन्द हुन्छ तब गर्भ रहने सम्भावना अस्थायी साधन नलिनेको बराबर नै हुन्छ ।
यद्यपि, गर्भनिरोधक साधनको प्रयोग कस्तो गर्ने ? कस्तो खालको खाने भन्ने बारेमा आफ्नो चिकित्सकीय परामर्श लिनु उपयुक्त हुन्छ ।
प्रजनन क्षमता सामान्य अवस्थामा फर्किन्छ
गर्भनिरोधक विधि प्रयोग गर्न बन्द गरेपछि प्रजनन क्षमता सामान्य अवस्थामा फर्किन्छ । तर, आजको भोलि नै गर्भ रहन्छ भन्ने हुँदैन ।
गर्भ रहनको लागि केही समय पक्कै लाग्छ । किनकि गर्भनिरोधक साधनको काम भनेको महिलाको प्रोजेस्टेरोन र एस्ट्रोजेन हर्मोनलाई नियन्त्रण गरी डिम्ब निष्कासन हुन नदिनु हो ।
डिम्ब र गर्भसँग के सम्बन्ध छ ?
अण्डाशयबाट निस्कने अण्डा १२ देखि २४ घण्टासम्म बाँच्न सक्छ । सो समयभित्र यौन सम्पर्क भएमा शुक्रकीटले यसलाई निषेचन गर्छ, जसले गर्दा गर्भावस्था हुन्छ । महिलाको शरीरमा वीर्य तीन दिनसम्म जीवित रहन्छ ।
अण्डा ननिस्किएको दुई दिनअघि यौन सम्बन्ध राखे पनि गर्भ रहने सम्भावना बढी हुन्छ । यस्तोमा गर्भनिरोधक चक्कीले महिनामा एकपटक निस्किने अण्डाको प्रक्रियालाई रोक्छ । जसले गर्दा गर्भ रहँदैन ।सन्तानको चाहना भई पूरा गर्न पहिले अपनाइरहेको साधन रोकेमा गर्भ रहन्छ ।
तर, केही महिना भने लाग्न सक्छ । किनकि हर्मोनले प्राकृतिक सन्तुलन मिलाउन केही समय लिन्छ ।
यद्यपि, उमेरसँगै प्रजनन क्षमता स्वाभाविक रूपमा घट्दै जान्छ । ३५ वर्षको उमेर पछि गर्भधारणमा स्वाभाविक रूपमा केही कठिनाइहरूको सामना हुनसक्छ ।
कस्तो साधनले कसरी काम गर्छ ?
कम्बिनेसन वा हर्मोनल पिल्स
यसमा प्रोजेस्टेरोन र एस्ट्रोजेन हुन्छ, जसले पाठेघरको वरपर हुने झोलिलो पदार्थलाई गाढा हुनबाट रोक्छ । पाठेघरको तहलाई बाक्लो पार्छ जसले गर्दा अण्डा निष्कासन हुन दिंदैन ।
यो जन्म नियन्त्रण गर्न ९९ प्रतिशत प्रभावकारी रहेको दाबी छ । यो खान छोडेपछि पुनः महिला गर्भवती हुन सक्छिन् ।
मिनी पिल
बजारमा मिनी पिल पनि छ । यसमा प्रोजेस्टेरोन हर्मोन हुन्छ । गर्भ निरोधकका लागि यो उपयुक्त साधन हो । यसले पाठेघरको तहलाई पातलो पारेर अण्डाशय निस्कनबाट रोक्छ ।
चक्की खान छाडेपछि पाठेघरको तह बाक्लो हुन्छ । यसरी, महिलाहरूको महिनावारी चक्र फेरि सामान्य हुन्छ । उनीहरू गर्भवती हुन सक्छन् । यस्ता गर्भनिरोधक चक्की खान छोडेको अर्को महिनाबाट बच्चा बस्ने सम्भावना बढी हुन्छ ।
कपर्टी
औषधि मात्र होइन, गर्भनिरोधक साधनमा कपर्टी जस्ता उपकरण पनि हुन्छन् । यो चिकित्सकको मद्दतले गर्भाशयमा लगाइन्छ । जसले पाँच वर्षसम्म काम गर्न सक्छ । यो अवधिमा चाहेको खण्डमा निकाल्न पनि सकिन्छ ।
यसमा हुने कपर भन्ने पदार्थले पाठेघरमा हुने तरल पदार्थलाई बाक्लो बनाउने, पाठेघरको तहलाई पातलो बनाउने, पुरुषको वीर्यको चाल र प्रभावमा असर पार्छ।
तीन महिने सुई
यो सुई तीन महिनामा एक पटक लगाइन्छ । जुन ती महिलाहरूको लागि उपयोगी छ जो हरेक दिन चक्की खान चाहँदैनन्। यस गर्भनिरोधकको एउटै मात्र डर भनेको महिनावारी चक्र पुनः सुरु हुन एक वर्ष लाग्न सक्छ । त्यसैले छिटै गर्भवती हुन चाहने महिलाहरूमाझ यो कम लोकप्रिय छ ।
कण्डम
अर्को भरपर्दो साधन भनेको कण्डम हो । जुन यौन सम्पर्क गर्दा पुरुषले प्रयोग गर्न सक्छन्। यसमा हुने एउटा रबरको शिथ (म्यान)ले महिलाको गर्भाशयमा शुक्रकीटहरू प्रवेश गर्नबाट रोक्छ । जसकारण गर्भ रहँदैन । यसले गर्भ रोक्ने मात्र होइन, यौन प्रसारित रोगबाट पनि बचाउँछ ।
क्यान्सरबाट जोगाउँछ
गर्भनिरोधक चक्कीको प्रयोग लामो समयसम्म प्रयोग गर्ने महिलाहरूमा अण्डाशयको क्यान्सर लाग्ने जोखिम समेत कम गर्छ ।
गर्भावस्थाबाट बच्न सुरक्षित विधि छ ?
अस्थायी रूपमा गर्भ रोक्न सबै साधन भरपर्दो छन्। तर, ती साधन चिकित्सकको सुझाव अनुसार प्रयोग गरेमा सुरक्षित भन्न सकिन्छ ।
गर्भनिरोधक साधनका साइड इफेक्ट
गर्भनिरोधक साधनको प्रयोग गर्ने सुरुवाती चरणमा रिंगटा लाग्ने, जीउ दुख्ने र टाउको भारी भएको अनुभव हुनसक्छ । यसको प्रयोग गर्दै जाँदा शरीरले सहन सक्ने ऊर्जाको विकास गर्ने हुँदा लक्षण सामान्य हुँदै आउँछ । विस्तारै लक्षण शून्य बराबर हुँँदै आउँछ।
यद्यपि; उमेर ४५ नाघेको, मिर्गौला, कलेजोमा समस्या भएको, रगत जम्ने औषधि खाएकाहरूले प्रयोग नगरेकै राम्रो । यदि प्रयोग गर्ने नै हो भने चिकित्सकीय परामर्श आवश्यक छ ।