रिसले हाम्रो शरीरमा कहाँ-कहाँ हानि गर्छ ?

    • प्रा.डा. विद्या सागर प्रसाद / इन्टरनल मेडिसिन

  • ८ माघ २०८१, मंगलवार

रिस एक प्राकृतिक प्रतिक्रिया हो, जसले हामीलाई केही ठीक छैन भनेर बताउँछ । कोही मानिसको स्वभाव यस्तो हुन्छ कि उनीहरू धेरै छिट्टै रिसाउँछन् भने कोही मानिस रिसलाई नियन्त्रण गर्छन् । तर जब अत्यधिक रिस अनुभव हुन्छ, यो स्वास्थ्यका लागि हानिकारक साबित हुनसक्छ । रिस यस्तो भावना हो जसले व्यक्तिलाई मानसिक र शारीरिक रूपमा असर गर्न सक्छ । केवल दुई मिनेटको रिसले पनि शरीरलाई हानि पुर्‍याउन सक्छ ।

न्युयोर्क टाइम्सको रिपोर्टका अनुसार रिसले हाम्रो शरीर र दिमागमा ठूलो प्रभाव पार्छ । अत्यधिक रिसले शरीरभरि, हृदय प्रणालीदेखि स्नायु प्रणालीमा प्रभाव पार्न सक्छ । जसकारण हाम्रो शरीरका तीन प्रमुख अङ्गहरू मुटु, मस्तिष्क र आन्द्रा धेरै हदसम्म प्रभावित हुन्छन् ।

मुटुको चाल अनियमित हुन्छ

रिसले शरीरमा तनाव हर्मोनहरू निष्कासन गर्छ । जसले मुटुको स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्छ । रिसले मुटुको चालमा परिवर्तन निम्त्याउँछ, जसले रगत पम्प गर्ने मांसपेशीहरूको क्षमतालाई कमजोर बनाउँछ, जसले उच्च रक्तचाप र पछि हृदयरोग, हृदयघात, स्ट्रोकको जोखिम बढाउँछ ।

पाचन प्रक्रियालाई असर

रिसले हाम्रो पाचन प्रणालीमा पनि धेरै नराम्रो असर गर्छ । रिसको समयमा, पाचन प्रणालीको काम प्रभावित हुन्छ । यसले पेटसम्बन्धी समस्या जस्तै अपच, कब्जियत र अल्सर निम्त्याउन सक्छ ।

ह्याप्पी हर्मोन कम हुन्छ

जब कोही व्यक्ति रिसाउँछ उसको शरीरमा डोपामाइन जस्तो ह्याप्पी हर्मोन कम हुन्छ र शरीरमा तनाव हर्मोन ‘कोर्टिसोल’को स्तर द्रुत रूपमा बढ्छ । केवल दुई मिनेटको रिसले शरीरमा कोर्टिसोलको स्तर अर्को सात घण्टासम्म उच्च रहन्छ । यसले मानसिक स्वास्थ्यको साथै शारीरिक स्वास्थ्यलाई पनि असर गर्छ र चिन्ता र बेचैनी बढाउँछ ।

कोषिकामा असर

रिसाएपछि शरीरको कोषिका पुनरुत्थान प्रक्रिया सात घण्टाको लागि सुस्त हुन्छ । यसले छाला र शरीरको मर्मत प्रक्रियामा प्रत्यक्ष प्रभाव पार्छ । रिसले छालाको हिलिङ प्रक्रियालाई असर गर्न सक्छ र चोटपटक वा छालासम्बन्धी समस्या निको हुन समय लाग्न सक्छ ।

प्रतिरक्षा प्रणाली कमजोर हुन्छ

रिस उठेपछि सात घण्टासम्म प्रतिरक्षा प्रणाली कमजोर हुन्छ । यसको मतलब शरीर संक्रमण र रोगसँग लड्न कमजोर भएको हो । जसकारण सजिलै रुघाखोकी र अन्य रोग लाग्ने सम्भावना बढ्छ ।

निद्रामा प्रभाव

रिसले निद्राको चक्रलाई पनि असर गर्छ । दुई मिनेट मात्रैको रिसले निद्राको चक्रलाई अर्को २४ घण्टाको लागि असर गर्न सक्छ । जब निद्रा प्रभावित हुन्छ, भोलिपल्ट थकान, चिडचिडापन र ध्यान केन्द्रित गर्न नसक्ने समस्या महसुस हुनसक्छ ।

रिसको प्रभावले रक्तचाप बढ्छ

जब कोही व्यक्त सानो कुरामा पनि छिटो प्रतिक्रिया दिन्छ, रिसाउँछ तब बिस्तारै शरीरमा रगतको प्रभाव बढ्न थाल्छ ।  जसले पछि उच्च रक्तचापको समस्या निम्त्याउन सक्छ ।

सम्बन्धमा पनि असर पर्छ

रिसले व्यक्तिगत जीवनलाई पनि असर गर्छ । रिसले आमाबाबु, बच्चा र जीवनसाथीसँगको सम्बन्ध प्रभावित हुनसक्छ । यदि रिस व्यवहारमा प्रकट हुन्छ भने यसले पारिवारिक वा व्यावसायिक जीवनलाई प्रभाव पार्न सक्छ ।

  • ८ माघ २०८१, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech