काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा सुधारका लागि सुझाब दिन गठित कार्यदलले दिएको प्रतिवेदन कार्यान्वयनमा लैजान कार्यदल बनाएको छ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले प्रतिवेदन कार्यान्वयनमा लैजान मन्त्रालयका अतिरिक्त सचिव डा दिपेन्द्ररमण सिंहको संयोजकत्वमा कार्यदल गठन गरेका हुन्।
कार्यदलमा मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा सरोज शर्मा, डा अनुप बास्तोला, कानुन उपसचिव गोपीकृष्ण रेग्मी सदस्य तथा उपसचिव शालिकराम दाहाल सदस्य सचिव छन्।
मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सुधार सुझाब कार्यदलको प्रतिवेदनका आधारमा तत्काल गर्न सकिने व्यवहारिक र नीतिगत सुधार तथा दीर्घकालिन सुधारका लागि आन्तरिक गृहकार्य अघि बढाइएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँगको कुराकानीका क्रममा सरकारले प्रतिवेदनका आधारमा कार्ययोजना बनाएर कार्यान्वयनमा लैजाने तयारी थाले पछि मन्त्री पौडेलले मन्त्रालयगत तयारी अघि बढाएका हुन्।
आइतबार प्रतिवेदनका सुझावका आधारमा स्वास्थ्य बीमा कार्यक्रमलाई परिमार्जन गर्ने स्वास्थ्य मन्त्री पौडेलको प्रस्तावमा प्रधानमन्त्री ओलीले सकारात्मक जवाफ दिएका थिए। कार्ययोजना एक साताभित्र तयार पारेर मन्त्रीपरिषदमा लैजाने मन्त्रालयको तयारी छ।