जाडोमा छालाको स्याहार कसरी गर्ने ?

हिटर र आगो नजिकै बसेर शरीर तताउँदै हुनुहुन्छ भने छालामा आउन सक्छ समस्या


    • डा.अस्मिता गौतम / छाला रोग विशेषज्ञ

  • ६ माघ २०८१, आईतवार

नेपालगन्जः अत्यधिक जाडोका कारण जनजीवन प्रभावित छ । बढ्दो जाडोले स्वास्थ्यलाई पनि असर गरिरहेको हुन्छ । जाडोमा टाउकादेखि पैतालासम्मका सबै अंग चिसोबाट प्रभावित हुन पुग्छन्, त्यसैले आवश्यक सतर्कता नअपनाए समस्या हुनसक्छ । जाडो मौसममा हावामा आद्रता (ह्युमिडिटी) कम हुने भएकाले छाला बढी सुक्खा हुन्छ ।

छाला सुख्खा, फुस्रो हुने, हावा र चिसोको एलर्जी हुने, फुट्ने लगायत विभिन्न छालासम्बन्धी समस्या जाडोमा धेरै हुन्छ । छालामा आएको सुख्खापनका कारण हात–गोडाका औला सुन्निने, रातो हुने, चिलाउने समस्या बढी देखिन्छ । जाडो याममा रगतका नसाहरु खुम्चने  (चिल्बिलेन्स) समस्या बढी हुन्छ ।  त्यसैले छालालाई जाडोमा बढी स्याहार चाहिन्छ । राम्ररी ख्याल राख्ने हो भने चिसोमा छालालाई नरम र मुलायम राख्न सकिन्छ ।

त्यसका लागि चिसोबाट जोगिनु नै पहिलो उपाय हो । र, सकेसम्म न्यानो कपडा लगाएरै चिसोबाट जोगिने हो । त्यसले छालाको समेत स्याहार गर्छ ।  चिसोमा बाहिर निस्किनु परेमा शरीर छोप्ने कपडा लगाउने, गोडामा मोजा तथा हातमा पन्जा लगाउनुपर्छ । सकेसम्म नरम कटनको कपडा लगाइसकेपछि मात्रै उल्लनको कपडा लगाउँदा उपयुक्त हुन्छ । खाली शरीरमा उल्लनको कपडा लगाउँदा चिलाउने समस्या पनि हुन सक्छ ।

अर्को कुरा जाडो मौसममा छाला सुख्खा हुने कारणले ओठ फुट्ने गर्छ । बाहिरको मौसम बढी चिसो हुने भएकोले छालामा रहेका ग्रन्थीहरुले तेलको मात्रा कम निकाल्छ । जसले ओठ तथा कुर्कच्चा सुख्खा भएर फुट्छ । यस्तोमा नरिवलको तेल र मोस्चराइजरको प्रयोग गर्न सकिन्छ । नियमित रुपमा पर्याप्त मात्रामा पानी पिउने, शरीरमा हावा छिर्ने भागमा चिल्लो पदार्थ दलेर नरम पार्ने लगायतका उपाय अवलम्वन गर्न सकियो भने पनि छालालाई जाडोयाममा हुने समस्याबाट जोगाउन सकिन्छ ।

जाडोमा लुतोको समस्या पनि बढी हुने गर्छ । खासगरी सरसफाइको कमीका कारणपनि शरीर चिलाउने समस्या हुन्छ । त्यसैले जाडो समयमा सरसफाईमा ध्यान दिनु पर्छ ।

जाडोमा छालाको स्याहार कसरी गर्ने ?
– जाडोमा मौसममा अत्यधिक तातोपानीले नुहाउने बानी धेरैको हुन्छ । तातोपानीले नुहाउँदा छाला एकदमै सुख्खा हुने गर्छ । त्यसैले सकेसम्म मन तातोपानीले नहाउनु पर्छ । तातोपानीमा लामो समय ननुहाउने ।

–नुहाइसकेपछि तुरुन्तै मोस्चराइजर क्रिम, भ्याक्सिन वा तेल पुरै शरीरमा लगाउनुपर्छ, जसले छालालाई सुख्खा हुनबाट केही मात्रामा बचाउँछ ।

– बढी जाडो भयो भन्दैमा हिटर तथा आगोको धुनी नजिक धेरै समय बस्नु हुँदैन । एसीको तातो हावाले पनि छालालाई सुख्खा बनाउने जोखिम बढी हुन्छ ।

– जाडो छ भन्दैमा सन्सक्रिमको प्रयोग गर्न छोड्नु हुँदैन । अर्को कुरा जाडोको समयमा मोस्चराइजर क्रिमको प्रयोग गर्नुपर्ने हुन्छ । यस्ता मोस्चराइजरले शरीरमा पानीको मात्रालाई नियन्त्रणमा राखिरहन्छ ।

– जाडोयाममा पानी कम पिउने गरिन्छ । शरीरमा आवश्यक पानीको अभाव हुँदा पनि छालामा समस्या हुन्छ । त्यसैले पर्याप्तमात्रामा पानी पिउनु पर्छ ।

–सिजनका फलफुलहरु नियमित खाने गर्नुपर्छ । जसले छालालाई स्वस्थ बनाइराख्छ ।

(छाला रोग विशेषज्ञ डा.गौतम भेरी अस्पताल नेपालगन्जमा कार्यरत छिन्)

  • ६ माघ २०८१, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech