नेपालगन्जः नेपालगन्जमा दशौं राष्ट्रिय योग दिवस मनाइएको छ । दिवसको अवसरमा योग समिति नेपालले योगाभ्यास कार्यक्रम गरेको छ । योग समिति नेपालका अध्यक्ष एवम् योग गुरु गिरिराज शर्मा भट्टराईको अध्यक्षता एवम् नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहको प्रमुख आतिथ्यतामा नेपालगन्ज उपमहानगरपालिकाको कार्यालय प्रांगणमा कार्यक्रम सम्पन्न भएको हो ।
‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने आदर्श वाक्यका साथ देशभर दशौं राष्ट्रिय योग दिवस मनाइँदैछ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नरैनापुर गाउँपालिकाका अध्यक्ष शाहले शारीरिक र मानसिक तन्दुरुस्तीका लागि योग अति जरुरी रहेको बताए । हरेक नागरिकले अनिवार्यरुपमा योग गर्नुपर्नेमा उनले जोड दिए ।
योग समिति नेपालका अध्यक्ष एवम् योग गुरु भट्टराईले दिन प्रति दिन योगप्रतिको आकर्षण बढ्दै गएको बताए । कार्यक्रममा योग समिति नेपालका ३४ वटा केन्द्रका संयोजक र प्रतिनिधिहरुको सहभागितामा रहेको योग समिति नेपालका उपाध्यक्ष सुमित्रा पण्डितले बताइन् ।