पछिल्लो समय बिरामीको मृत्यु हुने कारणमा स्ट्रोक अर्थात् मस्तिष्कघात पनि एक मुख्य कारण हो । यसमा मस्तिष्कमा रक्तसञ्चार बन्द हुने वा अचानक मस्तिष्कमा रगतको नसा फुट्ने आपतकालीन अवस्था हो । यो दुई किसिमका हुन्छन्- स्केमिक स्ट्रोक र हेमोरेजिकस्ट्रोक ।
मस्तिष्कको नसा बन्द भई रक्तसञ्चार एक्कासी बन्द हुनेलाई स्केमिक स्ट्रोक भनिन्छ । यसमा मस्तिष्कको नसामा रगत जमेको हुन्छ । जसकारण रगत प्रवाहको अभावमा दिमागको कोषहरु बिस्तारै मर्दै जान्छन् ।
त्यस्तै, मस्तिष्कमा एक्कासी रगतको नसा फुटेर रगत अधिक प्रवाह हुनुलाई हेमोरेजिक स्ट्रोक भनिन्छ । यसमा अत्याधिक रगत बग्नाले दिमागको तन्तुहरुमा चाप बढ्न गई क्षति पुग्ने गर्छ । यी दुई मस्तिष्कघातमध्ये धेरैजसोलाई स्केमिक स्ट्रोक हुने गर्छ ।
लक्षण
स्ट्रोकमा एक्कासि आँखा कमजोर हुँदै जाने, मुख बाङ्गिने, हातखुट्टा गल्ने वा कमजोर हुने, बोली लरबराउने वा बोल्नै नसक्ने जस्ता लक्षण देखिन्छ ।
उपचार
स्ट्रोक हुनेबित्तिकै बिरामीलाई अस्पताल पुर्याउन सकेमा उपचार सम्भव छ । बिरामी चारदेखि पाँच घण्टामा अस्पताल आइपुगेमा रगत पातलो बनाउने औषधि दिएर उपचार गर्न सकिन्छ । यसमा रगतको नसाबाट जहाँ रगत जमेर अवरोध भएको छ त्यो रगतको ढिक्कालाई पगाल्ने काम गर्छ । उक्त ढिक्कालाई पगाल्न सके रक्त सञ्चालन साबिक रुपमा हुन थाल्छ । जसले गर्दा बिरामीमा कठिनाइ पनि त्यति बढ्न पाउँदैन । अलिअलि भएको कमजोरी पनि ठीक हुँदै जानसक्छ । तर मस्तिष्काघात भएको चार घण्टाभित्र अस्पताल पुगेमा मात्र यो उपचार सम्भव हुन्छ ।
तर उक्त समय अवधिभन्दा पछि अस्पताल ल्याई पुर्याएमा शल्यक्रिया गर्नुपर्ने हुन्छ । शल्यक्रिया दुई किसिमबाट गर्न सकिन्छ । ओपन सर्जरी (चिरफार गरेर गरिने शल्यक्रिया) र नन-इन्भेजिभ सर्जरी (सानो प्वाल बनाई गरिने शल्यक्रिया) ।
कसरी गरिन्छ ?
नन-इन्भेजिभ सर्जरी भनेको टाउको नचिरीकन वा मस्तिष्क नखोलीकन दूरबीनको सहायताले गरिने प्रविधि वा शल्यक्रिया हो ।
यसलाई न्युरो इन्टरभेन्सन पद्धति पनि भनिन्छ । यस्तो न्युरो इन्डोभास्कुलर प्रविधिमा हात वा खुट्टाको नसाबाट क्याथेटर (एक किसिमको तार) छिराएर गरिन्छ । जस्तै यसमा बिरामीको मस्तिष्कमा रगत जमेको छ भने त्यसलाई रगतको नसाबाट जमेको रगत निकालिन्छ । स्केमिक स्ट्रोक अर्थात् मस्तिष्कमा रगत जमेको छ भने नन-इन्भेजिभ शल्यक्रिया नै गर्नुपर्ने हुन्छ । यसमा ओपन सर्जरी हुँदैन ।
दुईमध्ये कुन प्रभावकारी ?
हेमोरेजिक स्ट्रोक भएमा नन-इन्भेजिभ शल्यक्रिया र ओपन सर्जरीबाट उपचार गर्न मिल्छ । तर तुलनात्मक रुपमा ओपन सर्जरी भन्दा नन-इन्भेजिभ शल्यक्रियामा ५० प्रतिशत प्रभावकारी हुन्छ । यसले बिरामी चाँडै निको हुने हुन्छ ।
साथै, आजीवन प्यारालाइसिस (पक्षाघात) हुने वा अपांगता हुने सम्भावना कम हुन्छ । नन-इन्भेजिभ शल्यक्रियामा ओपन शल्यक्रिया गर्दा जस्तै टाँका छुट्ने, घाउ पाक्ने, संक्रमण हुने जोखिम हुँदैन ।
विभिन्न अध्ययनमा मस्तिष्कघात, एन्युरिज्म (रक्तनसा पातलो भएर फुल्ने, अनि फुट्ने) र ब्रेन ह्यामरेज (मस्तिष्कमा रक्तस्राव हुने) भएका बिरामीको उपचार गर्दा १० देखि १५ प्रतिशत जटिलता हुनसक्छ । तर न्युरो इन्टरभेन्सन प्रविधिले गर्दा अस्पतालमा अहिलेको सफलता दर लगभग ९०-९५ प्रतिशत रहेको छ ।
स्ट्रोकबाहेक मस्तिष्कको नसा खुम्चिएमा, मस्तिष्कको नसाहरु गुजुल्टो परेमा पनि ओपन शल्यक्रिया गर्नुअघि इन्टरभेन्सनल शल्यक्रिया गरिन्छ । जसमा गुजुल्टो परेको नसालाई बन्द गर्ने गरिन्छ । जसले गर्दा शल्यक्रिया गर्न सहज हुन्छ । ब्रेन ट्युमर भएमा इन्टरभेन्सनल प्रविधिमार्फत शल्यक्रिया गरेमा सामान्य शल्यक्रियाभन्दा ८० प्रतिशत दरले सुरक्षित हुन्छ ।
घाँटीको नसा (स्नायु) सुक्ने, मेरुदण्डको नसा (स्नायु) सम्बन्धी समस्यामा पनि न्युरो इन्टरभेन्सनल पद्धतिबाट गरिने उपचार निकै प्रभावकारी मानिएको छ ।