चिसो बढ्यो: कोहलपुर नगरले मिलायो आगो ताप्ने व्यवस्था

    • स्वास्थ्य पेज

  • २४ पुष २०८१, बुधबार

कोहलपुर : शीतलहर र अत्यधिक चिसो बढेपछि बाँकेको कोहलपुर नगरपालिकाले नगरका विभिन्न सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको छ ।

विगत केही दिनदेखि हुस्सु, कुहिरो र शीतलहरसँगै बढेको चिसोले जनजीवन प्रभावित बनेपछि बुधवारदेखि नगरका विभिन्न स्थानमा दाउरा वितरण गरी आगो ताप्ने व्यवस्था मिलाइएको नगर प्रहरी प्रमुख वीरबहादुर थापाले बताए ।

कोहलपुरको मुख्य चौराह, साझा चोक, हाइस्कुल, पिपरी, हवल्दारपुर, मदनचोक, कौशिलानगर, चपरगौरी लगायतका मानिसहरु बढी जमघट हुने मुख्य राजमार्ग क्षेत्रका चोकहरुमा दाउरा वितरण सुरु गरिएको नगर प्रहरी प्रमुख थापाले बताए ।

उनका अनुसार जिल्ला वन पैदावर आपूर्ति समितिबाट ६ चट्ठा दाउरा खरिद गरी इलाका प्रहरी कार्यालय कोहलपुरसँगको सहकार्यमा वितरण सुरु गरिएको नगर प्रहरी प्रमुख थापा बताउँछन् ।

‘कोहलपुर नगरपालिकाले विशेषगरी गरिब, असहाय, वृद्धवृद्धा तथा बालबालिकालाई न्यानो बनाउनका लागि आगो ताप्ने व्यवस्था मिलाउँदै आएको छ थापाले भने–‘यो वर्ष पनि दाउरा खरिद गरेर चोक–चोकमा नगर प्रहरी आफै खटिएर आगो ताप्ने व्यवस्था मिलाइरहेको छ ।’

चिसो र शीतलहरले गरिब, असहाय, वृद्धवृद्धा, बालबालिका र मजदुरी गर्नेहरु बढी कष्ट सहनु परेको छ । चिसोले जिल्लाको जनजीवन दिनदिनै कष्टकर बन्दै गएको छ । मंगलवारबारदेखि बाँकेमा शीतलहर सुरु भएको छ ।

  • २४ पुष २०८१, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech