हरेक व्यक्तिको शरीर फरक-फरक प्रकृतिको हुन्छ । कसैका लागि गर्मी सहिनसक्नु हुन्छ भने कसैलाई जाडो । अहिले जाडोयाम चलिरहेको छ । यो मौसममा केहीलाई तुलनात्मक रुपमा जति बाक्लो लुगा लगाए पनि आवश्यकताभन्दा बढी चिसो महसुस हुनसक्छ । तुलनात्मक रुपमा आवश्यकता भन्दा बढी चिसो अनुभव हुन्छ भने त्यसलाई चिकित्सकीय भाषामा कोल्ड इन्टोलोरेन्स (असहिष्णुता) भन्ने गरिन्छ । यो यस्तो अवस्था हो जब शरीर चिसो तापक्रममा बढी संवेदनशील हुन्छ ।
दीर्घकालीन स्वास्थ्य समस्या भएका वा शरीरमा बोसो कम भएका व्यक्तिलाई विशेषगरी चिसो लाग्ने जोखिम हुन्छ । पातलो व्यक्तिमा भित्री बोसो कम हुने भएका शरीरमा इन्सुलिन पनि कम हुन्छ, जसकारण त्यस्ता व्यक्तिलाई जाडो बढी हुन्छ । मोटो व्यक्तिमा भने बोसोको मात्रा बढी हुने कारणले जाडो कम हुन्छ । बोसो कम हुनु गम्भीर समस्या भने होइन ।
स्वास्थ्य समस्याले पनि जाडो बढी हुन्छ
एनिमिया (रक्तअल्पता)
एनिमिया अर्थात् शरीरमा स्वस्थ रातो रक्तकोषिकाको कमी भएमा पनि जाडो बढ्न सक्छ । महिनावारीको समयमा अत्यधिक रक्तस्राव, पोषणको कमी र आवश्यक मात्रामा रातो रक्तकोषिका बनाउन नसक्दा रगतको कमी हुन्छ । अत्यधिक जाडो महसुस हुनु रक्तअल्पताको एनिमियाको सुरुवाती लक्षणमध्ये एक हो ।
अस्वस्थकर खाना, आन्द्रारोग, गर्भावस्थाका कारण रक्तअल्पता हुनसक्छ । यस्तो अवस्थामा व्यक्तिले अनावश्यक थकान, कमजोरी, चिसो हात खुट्टा जस्ता लक्षणको सामना गर्नुपर्ने हुन्छ ।
हाइपोथायरायडिजम
हाइपोथाइराइडिजम चिसो असहिष्णुताको अर्को मुख्य कारण हो । थाइराइड ग्रन्थीले शरीरलाई राम्ररी काम गर्न पर्याप्त थाइराइड हर्मोन उत्पादन नगर्ने अवस्थालाई हाइपोथाइराइडिजम भनिन्छ । यस्तोमा तौल बढ्नुका साथै चिसो लाग्ने समस्या पनि रहन्छ ।
मधुमेह
मधुमेहको प्रभाव मिर्गौलामा देखिन्छ भने यसलाई मधुमेह नेफ्रोप्याथी भनिन्छ । यो समस्या भएमा स्नायुको क्षतिको समस्या कायम रहन्छ । चिसोको समस्या झेल्नुपर्ने हुन्छ । यसबाहेक जाडो अत्यधिक भएर हात, खुट्टा र अनुहारमा सुन्निने समस्या पनि देखिन्छ ।
भिटामिन–१२ को कमी
शाकाहारी मानिसमा भिटामिन बी-१२ को कमी पाइन्छ । यसले सामान्यतया ५० वर्ष नाघेका वा ग्यास्ट्रोइन्टेस्टाइनल शल्यक्रिया गरेका मानिसलाई असर गर्छ । चिसो लाग्नुका साथै कब्जियत, पखाला, थकान, सास फेर्न गाह्रो हुने र भोक नलाग्ने जस्ता समस्याको सामना गर्नुपर्ने हुन्छ ।
रक्तनलीमा समस्या
रक्तनली गडबडीका कारण पनि हात र खुट्टा चिसो रहन्छ । वास्तवमा हात र खुट्टाको रक्तनली साँघुरो भएकाले रगतको आपूर्ति राम्रोसँग हुन सक्दैन । जसकारण रगत जम्ने खतरा पनि रहन्छ । यस्तो समस्या भइरहे रक्तनली साँघुरो हुन थाल्छ ।
निद्राको कमी
निद्राको कमीले सर्केडियन घडीमा बाधा पुर्याउँछ, जसले निद्रा र ब्युँझिने ढाँचामा बाधा पुर्याउँछ । यसरी बाँधा पुगेमा हर्मोनल असन्तुलन बढाउँछ । जसकारण शरीरको तापक्रममा परिवर्तन देखिन थाल्छ । जसकारण हात खुट्टा धेरै चिसो हुने र शरीरमा रक्तसञ्चार नियमित हुँदैन ।
के अत्यधिक चिसोबाट बच्न सकिन्छ ?
– शरीरलाई चिसोबाट जोगाउन स्वस्थकर खाना खाने र क्यालोरीको मात्रा घटाउनुपर्छ ।
– शरीरलाई उर्जा मिल्ने खालको आहारमा फलफूल, हरियो सागपात र ड्राइफ्रुट खानुपर्छ । रक्तअल्पताको कमीबाट बच्न पर्याप्त मात्रामा आइरनयुक्त खानेकुरामा जोड दिनुपर्छ ।
व्यायाम
केही समय व्यायाम गर्दा शरीरमा रक्तसञ्चार बढ्न थाल्छ । यसले शरीरलाई दिनभर स्वस्थ र सक्रिय राख्छ । साथै पहिलाको जति जाडो अनुभव नहुन सक्छ । शरीरको तापक्रम कायम राख्न दैनिक हिंड्नु फाइदाजनक हुन्छ ।
शरीर न्यानो राख्न प्रयास गर्ने
न्यानो कपडा, मोजा र टोपी पनि लगाउनुपर्छ । यसले शरीरमा न्यानोपन कायम राख्छ र चिसो कम हुन्छ । रुम हिटरको पनि मद्दत लिन सक्नुहुन्छ । जसले गर्दा शरीरको तापक्रम ठीक रहन्छ । तर धेरै हिटर बाल्न भने हुँदैन । यसले छाला सुक्खा पार्छ ।
नियमित चेकअप
शरीरमा केही असामान्य परिवर्तन देखिएमा चिकित्सकसँग परामर्श र सो अनुसारको स्वास्थ्य परीक्षण गर्ने बानी गर्नुपर्छ ।