बीच बाटोमै बच्चा जन्माएकी खीनाको उपचार नपाएरै मृत्यु, शिशु पनि जोगिएन

    • स्वास्थ्य पेज

  • २३ पुष २०८१, मंगलवार

नेपालगन्जः बझाङमा एक सुत्केरी महिलाको उपचार नपाएरै मृत्यु भएको छ । जिल्लाको केदास्युँ गाउँपालिका –१ डुडिलकी ३१ वर्षीया खीना बोहराको बीच बाटोमै बच्चा जन्माउँदा मृत्यु भएको हो । बच्चा जन्माउँदा अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको केदास्युँ गाउँपालिका अध्यक्ष गणेश बहादुर बोहराले जानकारी दिए ।

‘व्यथाले च्यापेर निकै समस्या भएपछि अस्पतालको लागि लगिएको रहेछ उनले भने–‘अस्पतालसम्म पुग्न नपाउँदै बच्च जन्मियो । उपचार नपाएर आमा र शिशु दुवैको मृत्यु भयो ।’ उनका श्रीमान् उमेश बोहरा भारत छन् । घरमा सासू ससुरासँग रहेकी खिनालाई हिजो साँझबाटै व्यथा सुरु भएको थियो । बिहान करिब ३ बजे समस्या बढ्दै गएपछि सासू ससुराले उनलाई नजिकैको रायल प्राथमिक स्वास्थ्य चौकी देउराको लागि हिँडाएका थिए ।

निकै समस्या हुँदा पनि उनलाई हिँडाएरै अस्पताल पुराउने प्रयास गरिएको थियो । त्यसको करिब डेढ घण्टापछि उनले बाटामा नै बच्चा जन्माएकी थिइन् । बाटो मै शिशुको जन्म भएपछि उनका अभिभावकहरूले जनप्रतिनिधि पदम प्रसाद भट्टलाई सम्पर्क गरेका थिए । वडा सदस्य भट्टले रायल प्राथमिक स्वास्थ्य चौकीका अहेब कमल कुमार मल्ललाई घटनाबारे जानकारी गराएपछि त्यहाँ एम्बुलेन्स ,उपचार सामाग्रीसहित टोली पुगेको थियो ।

तर, त्यो बेलासम्म आमा र शिशुको अवस्था निकै गम्भीर भइसकेको अहेब मल्लले जानकारी दिए । ‘हामी पुग्दासम्म उहाँको अवस्था गम्भीर भइसकेको थियो तर पनि बचाउन सकिन्छ कि भनेर प्रयास गरेका थियौँ उनले भने– ‘निकै प्रयास गर्दा पनि आमा छोरा दुबैलाई बचाउन सकेनौँ ।’

समयमा अस्पतालसम्म पुराउन नसक्दा आमा र शिशु दुवैको मृत्यु भएको उनको भनाइ छ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा प्रत्येक वर्ष उपचार नपाएर यसरी सुत्केरी तथा गर्भवतीको मृत्यु हुने गरेको छ ।

  • २३ पुष २०८१, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech