नेपालगन्जः भारतमा ह्युमन मेटान्युमो भाइरस (एचएमपिभी) तीनजनामा पुष्टि भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार भाइरस पुष्टि भएका तीनै जना बालबालिका रहेका छन्।
भारतीय चिकित्सा अनुसन्धान परिषद्का अनुसार कर्नाटका राज्यका दुई जनामा विभिन्न श्वासप्रश्वाससँग सम्बन्धित भाइरसको नियमित निगरानीको क्रममा पत्ता लागेको थियो।
बेंगलुरुको बेप्टिस्ट अस्पतालमा ब्रोंकोन्युमोनिया भएकी तीन महिने बालिकालाई यो भाइरस देखिएको थियो र उनी डिस्चार्ज भइसकेकी छिन्।
साथै, आठ महिनाका बालकलाई पनि ब्रोंकोन्युमोनिया भएका कारण अस्पताल भर्ना गरिएको थियो र उनलाई ३ जनवरीमा यो भाइरसको परीक्षणमा पोजिटिभ आएको थियो। उनको अवस्था अहिले सामान्य नै छ।
यस्तै गुजरातका एक बालकमा पनि यो भाइरस पुष्टि भएको छ। गुजरातको राजस्थान डुंगरपुरका एक बालकलाई दिसम्बर २४ मा अहमदाबादको चांदखेडा क्षेत्रको निजी अस्पतालमा श्वासप्रश्वास संक्रमणको लक्षणसहित भर्ना गरिएको थियो। परीक्षण पछि उनलाई यो भाइरस पोजिटिभ देखाइएको थियो।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार यी तीनै जना बालबालिकाले अन्तर्राष्ट्रिय यात्रा गरेका छैनन्। मन्त्रालयले भनेको छ कि ह्युमन मेटान्युमो भाइरस पहिले नै विश्वभरि फैलिएको छ। जसमा भारत पनि समावेश छ र यससँग सम्बन्धित श्वासप्रश्वास रोगका घटनाहरू विभिन्न देशहरूमा रिपोर्ट भएका छन्।