बुटवलः लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एमआरआई मेसिन खरिदका लागि पुनः बोलपत्र आह्वान गरिएको छ । अस्पताल प्रशासनले सोमबार सार्वजनिक सूचना जारी गर्दै मेसिन खरिदका लागि बोलपत्र आह्वान गरेको जनाएको हो ।
एमआरई मेसिन ल्याउने प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, अस्पताल विकास समिति तथा अस्पताल प्रशासनको प्रतिबद्धता अनुसार पुनः बोलपत्र आह्वान गरिएको हो ।
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले अस्पतालमा एमआरआई मेसिन आएपछि बिरामीले सहुलियतमा स्वास्थ्य सेवा पाउने भएकाले बिगतमा देखापरेका कमजोरी सुधार गर्दै छलफलका आधारमा नयाँ बोलपत्र आह्वान गरिएको बताए ।
मन्त्री सारुले मेसिन खरिदका लागि यसअघि आह्वान गरिएको बोलपत्रमा देखिएका प्राविधिक त्रुटिहरुलाई आश्यक छलफल, विज्ञहरुको सुझाव, सार्वजनिक खरिद ऐनको अध्ययन तथा विभिन्न पक्षसँग छलफल गरी पुनः बोलपत्र आह्वान गरिएको र अब जसरी पनि एमआरआई मेसिन खरिद गरिने बताए ।
लुम्बिनी प्रदेश सरकारले अस्पतालमा आवश्यक एमआरआई मेसिन खरिदका लागि १५ करोड रुपियाँ उपलब्ध गराएको थियो ।
उता एमआरआई मेसिन खरिद प्रक्रियामा विलम्ब हुँदा अस्पतालमा उपचारका लागि आउने बिरामीले दुःख पाएको बताउँदै जसरी पनि एमआरआई मेसिन खरिद प्रक्रिया अघि बढाउन राजनीतिक दल तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरुले जोड दिएका छन् ।
लुम्बिनी प्रदेशका पूर्व सामाजिक तथा स्वास्थ्य मन्त्री सुदर्शन बरालले समयमा एमआरआई मेसिन नहुँदा सेवाग्राहीले दुःख पाएको बताउँदै कुन पनि आर्थिक चलखेल वा बहानामा जनताले दुःख पाउन नहुने बताए ।
यसैगरी, पूर्व स्वास्थ्य मन्त्री तथा लुम्बिनी प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले अबको टेन्डर प्रक्रियाबाट जसरी भए पनि एमआरआई मेसिन खरिद हुने बताए ।
नेकपा (माओवादी केन्द्र)का रुपन्देही अध्यक्ष नारायण जि.सीले एमआरआई मेसिन खरिदका लागि गरिएको टेन्डर प्रक्रिया फेरि पनि रोकिएमा वा स्थगित भएमा जनता आन्दोलित हुने बताए।
समयमा मेसिन खरिद गर्न नसक्दा सेवाग्राहीले निजी स्वास्थ्य संस्थामा गएर महँगो शुल्न तिर्नुपर्ने बाध्यता छ ।
अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले विगत चार वर्षदेखिको लामो प्रयासमा पनि अस्पतालमा एमआरआई मेसिन ल्याउन नसक्नु दुःखद भएको बताए।
अस्पतालका मेडिकल सुपेरिटेण्डेण्ट डा.इन्द्र ढकालले एमआरआई मेसिन खरिद भएमा सेवाग्राहीले निजी स्वास्थ्य संस्थामा गएर १६र१७ हजार शुल्क तिरेर सेवा लिनुपर्ने बाध्यता अन्त्य भई आधा मूल्यमा सेवा लिन पाउने बताए ।
उनले मेसिन खरिदका लागि यसअघि आह्वान गरिएको बोलपत्रमा समेत विज्ञहरुको सुझाव, सार्वजनिक खरिद ऐन, आपूर्तिकर्ता कम्पनीहरुको राय अनुसार स्पेसिफिकेशन तयार पारिएको भए पनि त्यसमा थप सुधार गर्दै सप्लायर्स कम्पनीहरुको अधिकतम सहभागिता रहने गरी खरिद प्रक्रियालाई प्रतिस्पर्धी र पारदर्शी गराइएको बताए ।