राप्तीसोनारीमा पाठेघर सम्वन्धी स्क्रिनिङ शिविर

    • स्वास्थ्य पेज

  • २१ पुष २०८१, आईतवार

नेपालगन्जः बाँकेको राप्तीसोनारी गाउँपालिकाले महिलाहरुको पाठेघर सम्वन्धी स्क्रिनिङ स्वास्थ्य शिविर संचालन गर्ने भएको छ । गाउँपालिकाले सबै वडामा स्क्रिनिङ शिविर आयोजना गरेको स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले जानकारी दिए । आर्थिक वर्षको निशर्त तर्फ विनियोजन बजेटबाट स्क्रिनिङ शिविर गर्न लागिएको पनि उनले बताए ।

यही पुस २४ गते बुधवार राप्तीसोनारी गाउँपालिका वडा नं.६ स्थित आधारभूत स्वास्थ्य केन्द्र कमैयाडाँडाबाट सुरु हुने शिविर माघ ७ गते सोमवार राप्तीसोनारी गाउँपालिका वडा नं.९ स्थित महादेवपुरी स्वास्थ्य चौकीमा समापन हुने कार्यक्रम तय भएको पनि स्वास्थ्य शाखा प्रमुख केसीले बताए ।

२५ गते विहीबार वडा नं.८ स्थित आधारभूत स्वास्थ्य केन्द्र शम्शेरगन्ज, २६ गते शुक्रबार वडा नं.३ स्थित आधारभूत स्वास्थ्य केन्द्र भवानियापुर, २८ गते आइतवार वडा नं.७ स्थित फत्तेपुर स्वास्थ्य चौकी, २९ गते सोमवार वडा नं.१ स्थित खासकुश्मा स्वास्थ्य चौकी, माघ ३ गते विहीबार वडा नं.५ विनौना स्वास्थ्य चौकी, ४ गते शुक्रबार वडा नं.४ स्थित राप्तीसोनारी अस्पताल बैजापुर र ६ गते आइतवार वडा नं.२ स्थित कचनापुर स्वास्थ्य चौकीमा स्क्रिनिङ शिविर राखिएको छ ।

विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मीको टोलि शिविरमा परिचालन हुने पनि उनले बताए । महिलाहरुमा पाठेघरको समस्या बढी देखिएको छ । विशेषगरी कामकाजी महिलाहरुमा यो समस्या बढी देखिएको छ । लाज र डरका कारण कतिपय महिलाहरु पाठेघरसँग सम्वन्धी समस्या लुकाउने गरेका छन् । पछिल्लो समय अझ पाठेघरको मुखको क्यान्सर सम्वन्धी समस्या महिलाहरुमा विकराल देखिएको चिकित्सकहरु बताउँछन् ।

समयमै रोगको पहिचान गरे पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सकिने चिकित्सकहरु बताउँछन् । त्यही भएर स्थानीय सरकारले गाउँघरमै शिविर राखेर महिलाहरुले झेल्दै आएका स्वास्थ्य समस्याको परामर्श, उपचार र निदानका लागि उनीहरुलाई स्वास्थ्यको पहुँचमा ल्याउने प्रयास गरिरहेको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेल बताउँछन् ।

पाठेघरको मुखको क्यान्सर यस्तो क्यान्सर हो जुन स्क्रिनिङका माध्यमबाट पहिचान गर्न सकिन्छ । र, समयमै पहिचान भए उपचार गरेर निको पार्न सकिन्छ । अन्य क्यान्सर भने पहिचान गर्नै मुश्किल पर्ने चिकित्सकहरु बताउँछन् । पहिचान हुँदासम्म त्यसले विकराल रुप लिइसकेको हुन्छ । राप्तीसोनारी गाउँपालिकाले गतवर्ष पनि महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्वन्धी स्क्रिनिङ शिविर गरेको थियो । त्यसमा ग्रामीण क्षेत्रका थुप्रै महिलाहरुले लाभ उठाएका थिए ।

  • २१ पुष २०८१, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech