एमपक्सको जोखिम, घातक संक्रमण धान्नै नसकिने चिकित्सकको चेतावनी

    • स्वास्थ्य पेज

  • १८ पुष २०८१, बिहीबार

काठमाडौंः विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले एमपक्सलाई जनस्वास्थ्य संकटकाल घोषणा गरिसकेको छ र यसको संक्रमण नेपालमा पनि देखिएको छ । तर, संक्रमणको पूर्वतयारी र सावधानीमा भने सरकारले पर्याप्त ध्यान दिन सकेको छैन । कोभिड महामारीबाट ठूलो क्षति भोगिसके पनि त्यसबाट सरकारले पाठ सिकेको देखिँदैन ।

साउदी अरबबाट यही पुस १३ गते बिहान सवा १० बजे त्रिभुवन विमानस्थल ओर्लिएका सिन्धुलीका ४४ वर्षीय पुरुष सीधै आफन्तकहाँ पुगे । भोलिपल्ट मात्र उपचारका लागि टेकु अस्पताल पुगेका उनलाई एमपक्स संक्रमण भएको पुष्टि भयो । पुस ५ गते साउदी अरबबाटै आएका तनहुँका ३६ वर्षीय पुरुषमा पनि एमपक्स संक्रमण पुष्टि भएको थियो । अहिले दुवै जनाको टेकु अस्पतालमा उपचार भइरहेको छ । तर, उनीहरूको सम्पर्कमा आएकाहरूको ‘कन्ट्याक्ट ट्रेसिङ’ अझै हुन सकेको छैन ।

“सम्भवतः छिटै उहाँहरू डिस्चार्ज भएर जान सक्नु हुन्छ । उहाँहरू आफैं शंका लागेर सीधै अस्पताल आइपुग्नुभएको हो । तसर्थ अहिले उहाँहरूबाट अरू व्यक्तिमा सर्न सक्ने सम्भावना धेरै न्यून देखिन्छ । यद्यपि, यातायतको माध्यमबाट वा आउँदाखेरीको अवस्थामा त म भन्न सक्दिनँ”, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले भने ।

नेपाल प्रवेश गर्ने नाका विमानस्थल होस् या सीमाबिन्दु सावधानीको अवस्था निकै नाजुक छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेस्क त छ, तर नाम मात्रको । यहाँ ज्वरोको मात्र परीक्षण हुन्छ, तर त्यो पनि सबैको होइन । जाँचकर्ताले कसैकसैलाई व्यक्तिगत रूपमा बोलाएर ज्वरो चेक गर्छन् । यसकारण एमपक्स लागेका कति व्यक्ति भित्रिरहेका छन् भन्ने कुनै यकिन तथ्यांक छैन । नेपालमा एमपक्सको जोखिम बढेकै कारण सरकारले अहिले १४ वटा अस्पताललाई एमपक्स उपचारका लागि फोकल अस्पताल तोकेको छ ।

यसपालि मात्र होइन, २०८० असार १ मा पनि नेपालमा पहिलो पटक एक विदेशीमा एमपक्स संक्रमण पुष्टि भएको थियो । एमपक्सले संक्रामक रूप लिन्छ वा लिँदैन त्यो अहिले नै भन्न सक्ने अवस्था छैन । डब्ल्यूएचओले यसलाई ‘पब्लिक हेल्थ इमर्जेन्सी’ घोषणा गरेको छ । तर सरकार संक्रमण रोकथामको पाटोमा गम्भीर देखिएको छैन । यसअघि कोभिडका कारण नेपालमा १० लाखभन्दा बढी संक्रमित भए भने १२ हजार ३१ जनाको मृत्यु नै भयो । त्यसबाट सरकारले पाठ सिकेर भविष्यमा संक्रमणजन्य रोगको पहिचान तथा उपचारका लागि तयारी थाल्नुपर्ने थियो । तर सरकार यसमा चुकेको छ ।

आर्थिक वर्ष २०८०-८१ को बजेटमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई तीन सय शय्यामा विस्तार गर्नेदेखि विभिन्न प्रदेशमा सरुवा रोग अस्पताल निर्माण गर्नेसम्म उल्लेख गरियो । तर त्यो काम अहिलेसम्म कागजमै सीमित छ ।

अर्कोतिर, सरुवा रोग अस्पताल नै संक्रामक रोगको जोखिममा छ । सामान्यतया कसैलाइ खोकी, ज्वरो तथा अन्य संक्रमण देखिएमा उनीहरूको सम्पर्कमा जान सावधानी अपनाइन्छ । तर टेकु अस्पताल आउने संक्रमित बिरामीले पुर्जा काट्दैदेखि संक्रमण सर्ने जोखिम छ । चिकित्सकहरू नै भन्छन् यस्तै अवस्था रहने हो भने भविष्यमा इबोला, निपा, बर्डफ्लु लगायत घातक संक्रमण देखिएमा धान्न गाह्रो हुनेछ ।

“विश्वमा यस्ता घातक रोगहरू पनि छन जो खोकेर वा छोएर पनि मृत्यु हुने सम्भावना छ । त्यस्को मृत्युदर एकदमै उच्च देखिन्छ । त्यो कुनै पनि समयमा कुनै पनि ठाउँमा देखिन सक्ने सम्भावना रह्यो । त्यसमा पनि बिरामी भएर आउने अस्पताल त यही नै हो”, संक्रामक रोग विशेषज्ञ पुनले भने, “यदि यो खालको भौतिक संरचना यथावत् रहिरहने हो र यसमा हामीले तुरुन्तै विचार गरिएन भने पक्कै पनि आगामी वर्ष हाम्रो लागि चुनौतीपूर्ण विशेष गरेर संक्रामक रोगको हिसाबले एकदमै चुनौतीपूर्ण देखिन्छ ।”

जानकारहरू अहिले देखिएको एमपक्स र भविष्यमा देखिन सक्ने संक्रामक रोग रोकथामका लागि तयारी थाल्न ढिला भइसकेको बताउँछन् । अर्थात् संक्रामक रोगको उपचार हुने अस्पताल निर्माण, जनशक्तिलाई तालिम तथा आवश्यक औषधि तथा उपकरणको जोहो गर्न ढिला भइसकेको छ ।

“सरकारले यथाशीघ्र रोकथाममा जानुपर्यो, कन्ट्याक्ट ट्रेसिङ र आइसोलेशनमा केन्द्रित गर्नुपर्यो । र भविष्यमा यो आउन नदिनलाई खोप र औषधिहरूको जोहो गर्नुपर्यो र हाम्रो जनशक्तिहरू र स्वास्थ्य संस्थाहरूलाई अहिलेदेखि नै तालिम दिनुपर्यो”, संक्रामक रोग विशेषज्ञ डा प्रभात अधिकारीले भने ।

संक्रामग रोग फैलन नदिन र उपचारका लागि आवश्यक सम्पूर्ण स्रोत साधन प्रयोग गरेर पूर्वतयारी थाल्ने तथा सरकारले नै घोषणा गरेका कार्यक्रम र संरचना निर्माण गर्न सक्नुपर्छ । तत्कालको आवश्यकता भने विमानस्थलमा सुविधासम्पन्न हेल्थ डेक्स तयार गरी सम्पूर्ण यात्रुको चेकजाँच गर्ने तथा स्थल सीमानाकामा पनि स्वास्थ्य सावधानी अपनाउने हो ।

  • १८ पुष २०८१, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech