नेपालगन्जः बाँकेमा १४६ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । साइनिङ अस्पताल आइएनएफ बाँकेले आर्थिक वर्ष २०८०-८१ मा १४६ जना नयाँ कुष्ठरोगी निदान गरी उपचारका लागि विभिन्न स्वास्थ्य संस्थामा रेफर गरिएको जनाएको छ । साइनिङ अस्पताल आइएनएफ प्रमुख मंगल बहादुर थारुले नयाँ निदान भएका कुष्ठरोगीमा बाँकेका ८४ जना, बर्दिया २४, भारतका २१ जना, रोल्पा ५, दैलेख ४ र सुर्खेतका १ जना रहेको बताए ।
निदान भएका मध्ये ३९ प्रतिशत विरामीहरुमा कुष्ठरोगको किटाणु पोजिटिभ रहेको थारुले जानकारी दिए । साइनिङ अस्पतालले कुष्ठरोग सेवालाई बिस्तार गर्दै पश्चिम क्षेत्रकै कुष्ठरोग प्रेषण केन्द्रका रुपमा आफूलाई स्थापित गरिरहेको थारुको भनाइ छ । यो अस्पतालले आफ्नो बहिरंग सेवामार्फत १७ हजार २ सय ६५ जनालाई सेवा प्रदान गरेको जनाएको छ ।
अस्पतालले कुष्ठरोगीको पहिचान, अपांगता रोकथाम तथा उपचार, कुष्ठरोग सम्पर्क परीक्षण, समुदायस्तरमा छाला तथा कुष्ठरोग पहिचान शिविर, स्वास्थ्यकर्मीका लागि क्षमता अभिबृद्धि तालिम, समुदायमा कुष्ठरोग सचेतना कार्यक्रम, निःशुल्क उपचार सेवा लगायतका गतिविधि गरिरहेको थारुले जानकारी दिए ।