नेपालगन्जमा रहेको प्रहरी अस्पतालको ‘अप्रेशन थिएटर’ भवन बन्यो तर हस्तान्तरण भएन, किन ?

    • स्वास्थ्य पेज

  • १५ पुष २०८१, सोमबार

नेपालगन्जः नेपालगन्जमा रहेको लुम्विनी प्रदेश प्रहरी अस्पतालमा निर्माण भएको ‘अप्रेशन थिएटर’ नयाँ भवनको निरीक्षण तथा अनुगमन गरिएको छ । लुम्विनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री आदेशकुमार अग्रवालले अस्पताल भवनको निरीक्षण गर्दै जानकारी समेत लिए । साढे तीन तले सुविधासम्पन्न अत्याधुनिक भवन तोकिएको समयावधिमा निर्माण सम्पन्न भएपनि बाँकी बक्यौता रकम निकाशा नभएपछि अझै भवन हस्तान्तरण भएको छैन ।

२०८१ असार १३ गते तोकिएको समयावधिभित्र भवन निर्माण कार्य सम्पन्न भएपछि अन्तिम भुक्तानीका लागि २०८१ असार २३ गते फाइल पेश गर्दा बजेट अभावको कारण देखाई भुक्तानी रोकिएको थियो । चालु आर्थिक वर्षको अहिले ५ महिनाभन्दा बढी समय वितिसक्दा पनि भुक्तानी नभएपछि समस्यामा परेको निर्माण कम्पनी सनलाईट-एनपी कन्स्ट्रक्सन जेवी नेपालगन्जका संचालक मोहनप्रकाश आचार्यले बताए । उनका अनुसार भवन निर्माण सम्झौताको अवधीभित्रै ऋण साप्टी लिएर भएपनि निर्माण कार्य सम्पन्न गरेर समयमा भुक्तानी नहुँदा ठुलो संकट भएको छ ।

भवन निरिक्षणका क्रममा मन्त्रीसमक्ष निर्माण कम्पनीका संचालक आचार्यले आफनो समस्या राख्दै बाँकी बक्यौता रकम निकासाका लागि आग्रह गरे । त्यसक्रममा मन्त्री अग्रवालले मन्त्रालयमा बजेटको अभाव भएकाले चालु आर्थिक वर्षको योजनाको बजेटलाई रकमान्तरण गरि भुक्तानी गर्ने सकिने विकल्प भएकाले त्यसका लागि आवश्यक पहल गर्ने बताए । मन्त्री अग्रवालले अत्याधुनिक भवनले अस्पतालको थप सेवास्तर बृद्धि भएको र प्रहरीलाई मात्र नभई बाहिरका विरामीलाई पनि सेवा प्रदान गर्नमा सहज हुने विश्वास व्यक्त गरे । निरीक्षणका क्रममा अस्पतालका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक डा. दिपा न्हुच्छे प्रधान र प्रहरी नायब उपरीक्षक डा. श्यामकृष्ण लौडारीले मन्त्री अग्रवाललाई अस्पतालको सेवा सुविधलगायतका बारेमा जानकारी गराएका थिए ।

भवनको निरीक्षणमा लुम्विनी प्रदेशका पुर्व मन्त्री तथा प्रदेश सभासदस्य रत्न खत्रीले अत्याधुनिक भवनले पश्चिम क्षेत्रका प्रहरीलाई औषधी उपचारमा सहयोग पुगेको भन्दै अस्पतालभित्रको विशेषज्ञतालाई बाहिरका आमनागरिकलाई पनि उपलब्ध गराउनुपर्नेमा जोड दिए । भुकम्पप्रतिरोधात्मक साना ठुला गरि ६७ कोठा लिफ्टसहितको अत्याधुनिक साढे तीन तले भवन रु ८ करोड २१ लख ६३ हजार ८३८ (मुल्य अभिबृद्धि करसहित)को लागतमा निमार्ण गरिएको निर्माण व्यवसायी आचार्यले बताए ।

उनका अनुसार भवन निमार्णको कार्य सम्पन्न गरेको र अहिले रु १ करोड ६२ लाख ७५ हजार ८७६ बाकी रकम बक्यौता लिनुपर्नेछ । २०७९ मसिंरदेखि भवन निर्माण शुरु भएर २०८१ असार १३ गते तोकिएको समयावधिभित्र भवन निर्माण गरिएको छ ।

  • १५ पुष २०८१, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech