मरेको कुखुराको मासु खाएपछि किशोरको मृत्यु, ३ जना बिरामी

    • स्वास्थ्य पेज

  • १४ पुष २०८१, आईतवार

अछाम: अछाममा मरेको कुखुराको मासु खाएपछि बिरामी भएका एक किशोरको मृत्यु भएको छ भने परिवारका अन्य तीनजना बिरामी भएका छन् । कमलबजार नगरपालिका-३ बयलाका १५ वर्षीय कमल बिकको आइतबार मृत्यु भएको अछामका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।

बिकले शुक्रबार स्थानीय मासु पसलबाट ल्याएको मरेको कुखुराको मासु खाएको थिए । मासु खाएपछि बिरामी भएका बिकको आइतबार मृत्यु भएको भण्डारीले बताए ।उनका अनुसार कुखुराको मासु खाने मृतककि हजुरआमा ७० वर्षीय नाम बिक, उनकी १४ वर्षीय नातिनी सीता बिक र नाति ९ वर्षीय विकास बिक पनि बिरामी भएका छन् ।

उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको डीएसपी भण्डारीले बताए ।मरेको कुखुराको मासु खाएपछि मृतक बालकसहित परिवारका अन्य सदस्यमा पेट दु:ख्ने, बान्ता गर्ने लगायतका स्वास्थ समस्या देखिएको थियो।

मृतक किशोरका आमाबुवा रोजगारीका सिलसिलामा भारत रहेका छन् । घटनापछि अनुसन्धानका लागि प्रहरीले मासु पसल सञ्चालकलाई निगरानीमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ।

  • १४ पुष २०८१, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech