नेपालगन्जः हात्तीपाइले रोग निवारणका लागि आइडिए इम्प्याक्ट सर्भेमा बाँकेका तीन वटा पालिका फेल भएका छन् । नेपालगन्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिका आइडिए इम्प्याक्ट सर्भेमा फेल भएका हुन् । ती पालिकामा फेरी हात्तीपाइले रोग विरुद्धको औषधि सेवन कार्यक्रमलाई निरन्तरता दिनुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा र स्वास्थ्य कार्यालय बाँकेको संयुक्त आयोजनामा बाँकेका आठवटै पालिकामा मंसिर ११ गतेबाट २८ गतेसम्म सर्भेको काम भएको थियो ।
बाँकेलाई दुई कलष्टरमा बाँडेर सर्भेको काम गरिएको थियो । नेपालगन्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकालाई कलष्टर ‘ए’ बनाइएको थियो भने कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका, जानकी गाउँपालिका र राप्तीसोनारी गाउँपालिकालाई कलष्टर ‘बि’ बनाइएको थियो । कलष्टर ‘ए’ फेल भएपनि कलष्टर ‘बि’ भने आइडिए इम्प्याक्ट सर्भेमा उर्तिण भएको छ । अव कलष्टर ‘बि’ मा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान रोएिको छ ।
बैजनाथ गाउँपालिकाको वडा नं.४ र जानकी गाउँपालिकाको वडा नं.१ र ३ मा भने केहीमा पोजेटिभ देखिएकाले ती वडामा औषधि खुवाउने की नखुवाउने वारे विज्ञ टोलिले अध्ययन गरिरहेको छ । बैजनाथ ४ मा ३ जना, जानकी गाउँपालिका १ र ३ मा २ २ जनामा पोजेटिभ देखिएको छ । नेपालगन्ज उपमहानगरपालिकामा ३८२ घरधुरीका १ हजार २१८ जनाको स्याम्पल जाँच गर्दा १९ जना, डुडुवा गाउँपालिकामा ११४ घरधुरीका ३५१ जनाको स्याम्पल जाँच गर्दा ८ जना र नरैनापुर गाउँपालिकाको ९९ घरधुरीको ३३१ जनाको स्याम्पल जाँच गर्दा ७ जनागरी ३४ जनामा हात्तीपाइले पुष्टि भएको छ ।
गएको वर्ष पनि बाँकेलाई दुई कलष्टरमा बाँडेर चार ठाउँमा इपिडिमियोलोजिकल मोनिटरिङ सर्भे (इएमएस)को काम गरिएको थियो । इएमएसमा पास भएपछि यो पटक आइआइएस–आइको सर्भे गरिएको थियो । आइडिए इम्प्याक्ट सर्भे अन्तर्गत २० वर्ष उमेर माथिका नागरिकको रक्त नमुना संकलन गरिएको थियो । ¥यापिट डाइगोनिष्टक टेस्ट (आरडिटी) मार्फत माइक्रोफाइलेरिया फेला परे उनीहरूको फेरि राती १० बजेदेखि २ बजेसम्मको समयमा माइक्रो स्कोपबाट रक्त नमुना जाँच गरी हात्तीपाइले रोगको परिजिवी भए नभएको पुष्टि गर्ने काम गरिएको स्वास्थ्य कार्यालय बाँकेका ल्याव टेक्निसियन निरीक्षक केशव ज्ञवालीले बताए ।
यदि दुई वा दुई भन्दा कम माइक्रोफाइलेरिया पोजेटिभ देखिए पास भएको मानिन्छ र उक्त क्षेत्रमा औषधि सेवन कार्य रोकिन्छ । तर तीनभन्दा बढी पोजेटिभ देखिए भने फेल हुने र पुनः औषधि सेवन गर्नुपर्ने हुन्छ । कलष्टर ‘ए’ मा स्याम्पल जाँच गरिएकामध्ये ९ जना भन्दा कममा माइक्रोफाइलेरिया पोजेटिभ देखिएको भए औषधि सेवन गर्ने काम रोकिन्थ्यो । तर ३४ जनामा माइक्रोफाइलेरिया पोजेटिभ देखिएपछि यहाँ हात्तीपाइले रोगको अवस्था भयावह देखिएको छ ।
हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गर्ने सम्पूर्ण लक्षित समुदायले औषधि नखाइदिएका कारण १३ वर्षदेखि निरन्तर औषधि खुवाउने अभियान चलिरहेको स्वास्थ्य कार्यालय बाँकेका हात्तीपाइले रोग निवारण कार्यक्रमका फोकलपर्सन दुर्गा गौतमले जानकारी दिइन् । खासगरी मधेशी र मुस्लिम समुदायले औषधि सेवन गर्न इन्कार गर्ने गरेका छन् ।
उनीहरुले औषधि सेवन नगरिदिने गरेका कारण सबै समुदायले हात्तीपाइले रोगको जोखिममा परेका छन् । औषधि खानेले निरन्तर खाइरहने र नखानेले एक पटक पनि औषधि नखाइदिएका कारण ६ वर्षमा सकिनुपर्ने यो अभियान १३ वर्ष पुग्दा पनि सकिएको छैन । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगतबहादुर शाहीले एउटा व्यक्तिले औषधि खाने र अर्कोले नखाइदिने गरेका कारण समुदायस्तरमा हात्तीपाइलेको जोखिम कायमै रहेको बताए ।विगत दुई वर्षदेखि यो अभियानमा तीन वटा औषधि खुवाउने गरिएको छ ।