कवाडी सामान जलाएर नेपालगन्जमा प्रदूषण गर्ने शितला ट्रेडर्सलाई कारबाही

    • स्वास्थ्य पेज

  • १३ पुष २०८१, शनिबार

नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिकाले कवाडी सामान जलाएर प्रदूषण गर्ने शितला ट्रेडर्सलाई कारबाही गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० औद्योगिक क्षेत्र अगाडि अवस्थित शितला ट्रेडर्सले कवाडी सामान जलाएर प्रदुषण गरेपछि नेपालगञ्ज उपमहानगरपालिकाले ‘फोहोरमैला व्यवस्थापन ऐन २०७५’ बमोजिम ५ हजार रुपैयाँ जरिवाना गरेको छ ।

नगर प्रहरी प्रमुख सूर्य बहादुर बोगटी नेतृत्वको टोलीले ट्रेडर्सका सञ्चालक सन्तोष गोडियालाई जरिवाना गराएको हो । पत्रकार एवम् नेपालगन्ज ग्लालरीका सञ्चालक समिरमान श्रेष्ठले सामाजिक सञ्जाल (फेसबुक) मा भिडियो पोष्ट गरेपछि नगर प्रहरीले ‘एक्सन’ लिएको हो । नेपालगन्ज उपमहानगरपालिकाले सडकमा जथाभावी फोहोर फाल्ने तथा प्रदुषण गर्नेहरु विरुद्ध कडा नीति लिएको छ ।

फोहोरमैला ब्यवस्थापनका लागि लामो समय सचेतनात्मक अभियान चलाएको नेपालगञ्ज उपमहानगरपालिकाले पछिल्लो समय कानुन बमोजम धमाधम कारबाही गरिरहेको छ । नगर प्रमुख प्रशान्त विष्टले फोहोरमैला ब्यवस्थापनका लागि गम्भिरतापूर्वक काम गरिरहेको भन्दै नगरबासीले यो अभियानमा सघाउनुपर्ने बताए ।

‘सुरु सुरुमा हामीले प्रबद्र्धनात्मक कार्यक्रम गर्यौं, अब भने कडारुपमा जानै पर्दछ । फोहोरमैलाविरुद्ध शून्य सहनशिलताका साथ हामी अघि बढेका छौं’–उनले भने । विष्टले जथाभाबी फोहोर फालेको थाहा पाएमा सचेत नागरिकका हिसाबले जानकारी गराउन आग्रह समेत गरेका छन् ।

  • १३ पुष २०८१, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech