बाँकेमा दुई वर्ष मुनिका एक हजार पाँच सय बढी बालबालिका कुपोषित

    • स्वास्थ्य पेज

  • ११ पुष २०८१, बिहीबार

तस्वीर फाइल

नेपालगन्जः बाँकेका सबै स्थानीय तहमा कुपोषणका बालबालिका फेला परेका छन् । गत साउनदेखि अहिलेसम्म दुई वर्षमुनिका कुपोषण भएका एक हजार पाँच सय ८८ बालबालिका फेला परेका हुन् । “पछिल्लो समय कुपोषण भएका बालबालिकाको अवस्था घट्दो देखिन्छ । यद्यपि जिल्लाका आठ वटै स्थानीय तहमा चालु आवको पाँच महिनामा एक हजार पाँच सय ८८ बालबालिका फेला परेका छन्”, जिल्ला स्वास्थ्य कार्यालयका पोषण फोकल पर्सन अधिकृत देवनारायण उपाध्यायले भने । उनले कुपोषणको अवस्थामा रहेका बालबालिकालाई लक्षित गरेर संघ, प्रदेश र स्थानीय सररकारले पोषण विशेष कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिँदै सबैभन्दा बढी मधेसी र मुश्लिम समुदायका बालबालिकामा कुपोषणको समस्या देखिएको बताए ।

समाजमा रहेका विभिन्न समुदायमा फरकफरक अवस्थामा रहेका बालबालिकालाई कुपोषण भएको देखिएको अधिकृत उपाध्यायले उल्लेख गरे । उनका अनुसार सबैभन्दा बढी जानकी गाउँपालिका, नरैनापुर गाउँपालिका र सबैभन्दा कम कोहलपुर नगरपालिकामा कुपोषणका बालबालिका रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जानकी गाउँपालिकामा तीन ७४, नरैनापुर गाउँपालिकामा तीन सय ५१, नेपालगन्ज उपमहानगरपालिकामा दुई सय २०, डुडुवा गाउँपालिकमा एक सय सात बालबालिकामा कुपोषणको समस्या देखिएको छ ।

राप्तीसोनारी गाउँपालिकामा एक सय ५०, कोहलपुर नगरपालिकामा ६०, बैजनाथ गाउँपालिकामा दुई सय ३५ र खजुरा गाउँपालिकामा ९१ गरी एक हजार पाँच सय ८८ बालबालिकामा कुपोषण रहेको पोषण फोकल पर्सन उपाध्यायले जानकारी दिए । सबै तहका सरकारबाट जनचेतनामूलक कार्यक्रमसहित पोषण विशेष कार्यक्रममार्फत बालबालिकामा पुगिएको उनले उल्लेख गरे । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अङ्गतबहादुर शाहीले बालबालिकामा देखिएको कुपोषण घट्दोमा अवस्थामा देखिए पनि सन्तोषजनक नरहेको उल्लेख गर्दै जसरी घट्नुपर्ने त्यसरी नघटेको बताए ।

  • ११ पुष २०८१, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech