नेपालगन्जः बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रेडियोथेरोपी सेवा सुरु भएको छ । बहुप्रतीक्षित लिन्याक मेसिनद्धारा एक जना क्यान्सर पीडित बिरामीको सेकाई गरिएसँगै अस्पतालमा रेडियोथेरोपी सेवा पूर्णरुपमा सुरु भएको अस्पतालका कार्यकारी निर्देशक डा.प्रकाश प्रसाद साहले स्वास्थ्य पेजलाई जानकारी दिए ।
यसअघि सेकाई सेवा लिनका लागि भरतपुर, काठमाडौं तथा भारतको लखनउ जानुपर्ने वाध्यात्मक अवस्था थियो । लिन्याक मेसिन संचालनमा नआउँदा सेकाई सेवा लिनका लागि यसक्षेत्रका बिरामीलाई सकस हुँदै आएको थियो । बहुप्रतीक्षित लिन्याक मेसिन अस्पतालमा ल्याइएपनि संचालन नहुँदा अस्पतालले आलोचना खेप्दै आएको थियो ।
लिन्याक मेसिन दुई वर्ष अघि नै अस्पतालमा ल्याइएको थियो । तर विभिन्न स्वार्थ समूहको टक्रावका कारण लिन्याक मेसिन अस्पतालमै थन्किएको थियो । लिन्याक मेसिन क्यान्सरको उपचारका लागि अत्यावश्यक मेसिन हो। यसले क्यान्सरको उपचारमा प्रयोग हुने रेडिएसन प्रदान गर्छ।
‘यो मेसिन सञ्चालनमा आएपछि क्यान्सरका बिरामीहरूलाई अप्रेसनपछि गरिने सेकाइ, अप्रेसन नगर्दै गरिने सेकाइहरूलाई सहज हुनेछ। अब क्यान्सरको सम्पूर्ण उपचार किमो, अप्रेसन र सेकाइ यहींबाट हुनेछ,’ डा. साहले स्वास्थ्य पेजलाई भने।
नेपाल सरकारको अनुदान प्राप्त भएको र खरिद प्रक्रिया सुरु भएको लामो समयपछि धेरै प्राविधिक जटिलताका बीच स्वास्थ्य मन्त्रालयको सहयोगमा मेसिन अस्पताल ल्याइएको थियो ।