नेपालगन्जः स्वास्थ्यमन्त्री प्रदीप पौडेलले फत्तेबाल आँखा अस्पतालको निरीक्षण गरेका छन् । मन्त्री पौडेलले अस्पतालको विभिन्न विभागहरूले प्रदान गर्ने सेवाको निरीक्षण गर्नुका साथै अस्पतालको भावी योजनाको बारेमा जानकारी लिएका थिए ।
नेपाली काँग्रेसका पूर्व पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री स्वः कृष्ण प्रसाद भट्टराईको १०० औं जन्मजयन्तीका अवसरमा नेपाली काँग्रेस क्षेत्र नं.२ ले फत्तेबाल आँखा अस्पतालमा आयोजना गरेको फलफूल वितरण कार्यक्रममा सहभागि भएका काँग्रेस केन्द्रीय सदस्य समेत रहेका मन्त्री पौडेलले अस्पतालको निरीक्षण गर्दै आँखा उपचारमा थप स्तरीय सेवा प्रवाहका निमित्त निर्देशन समेत दिए ।
उनले फत्तेबाल आँखा अस्पतालले आँखा उपचार सेवामा पश्चिम नेपालमै महत्वपूर्ण योगदान दिएको भन्दै प्रशंसा समेत गरेको क्षेत्रीय सभापति रमेश कुमार गुप्ताले जानकारी दिए । त्यसक्रममा अस्पतालका प्रबन्ध निर्देशक डा.कौशल कुमार बर्माले अस्पतालको नेपाल नेत्र ज्योति संघ केन्द्रको सहकार्यमा काठमाडौँको कान्तिपथमा रहेको ३ रोपनी बढी जग्गामा उच्च स्तरीय आँखा अस्पताल स्थापना गर्ने लक्ष्य रहेको सुनाए ।
उनले अस्पतालमा एनएमएसको सहकार्यमा एमडी अपथल्मोलोजी शैक्षिक कार्यक्रम सञ्चालन गर्न सकिने समेत मन्त्री पौडेललाई जानकारी गराए । मन्त्री पौडेलले काठमाडौँ कान्तिपथमा रहेको अस्पतालको जग्गामा पूर्वाधार निर्माणका लागि नेपाल सरकार सहयोग गर्न तयार रहेको बताए । एमडी अपथल्मोलोजी शैक्षिक कार्यक्रम सञ्चालनका लागि शीघ्र पहलकदमी लिने आश्वासन समेत मन्त्री पौडेलले दिए ।