स्वास्थ्यमन्त्रीको उपस्थितिमा भेरीमा मिर्गौला प्रत्यारोपण सेवा विस्तारका लागि सम्झौता

सातैं प्रदेशमा अंग प्रत्यारोपण सेवा विस्तार गर्दै सेवालाई सर्वसुलभ र सहज बनाउँछौंः स्वास्थ्यमन्त्री पौडेल


    • प्रिया स्मृति ढकाल

  • ८ पुष २०८१, सोमबार

नेपालगन्जः भेरी अस्पताल नेपालगन्जमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिने भएको छ । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरसँग सम्झौता भएसँगै भेरी अस्पताल नेपालगन्जमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने पक्का भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा सोमवार भेरी अस्पतालमा मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा.पुकार चन्द्र श्रेष्ठ र भेरी अस्पताल नेपालगन्जका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.निराजन सुवेदीबीच मिर्गौला प्रत्यारोपण सेवा संचालनका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

मन्त्री पौडेलले सबै संघीय अस्पतालहरुमा मानव अंग प्रत्यारोपण सेवा विस्तार गर्ने सरकारको योजना रहेको सुनाए । त्यहीक्रममा भेरी अस्पतालमा पनि मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिएको उनको भनाइ छ । ‘सातै प्रदेशमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने सरकारको योजना छ स्वास्थ्यमन्त्री पौडेलले भने-‘ पोखरा र सुर्खेतमा सेवा सुरु भइसकेको छ । अव भेरी अस्पतालमा पनि सेवा सुरु गर्ने गरी सम्झौता भएको छ । सातैं प्रदेशमा अंग प्रत्यारोपण सेवा विस्तार गर्दै सेवालाई सर्वसुलभ र सहज बनाउने गरी लागेका छौं ।’

भेरी अस्पतालमा मिर्गौला सेवा संचालनका लागि मानव अंग प्रत्यारोपण केन्द्रले जनशक्तिदेखि प्राविधिक सहयोग गर्ने मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा.श्रेष्ठले बताए । सकेसम्म एक महिनाभित्रै मिर्गौला प्रत्यारोपण सेवा भेरीबाट दिन सकिने उनले बताए । ‘मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्नका लागि केही कानुनी प्रक्रियाहरु छन् उनले भने-‘ती कानुनी प्रक्रियाहरु भेरी अस्पतालले पूरा गरे प्रत्यारोपण सेवा विस्तारका लागि महिना दिन पनि नलाग्न सक्दछ ।’ उनले मिर्गौला प्रत्यारोपण सेवा विस्तारका लागि भेरी अस्पतालमा जनशक्ती रहेको र अभाव भएका जनशक्तिहरु मनव अंग प्रत्यारोपण केन्द्रले काजमा व्यवस्थापन गरिसकेको जानकारी दिए ।

‘नेफ्रोलोजिष्ट, युरोलोजिष्ट लगायतको जनशक्ति भेरीसँगै छ उनले भने-‘आवश्यक पर्ने नेफ्रो फिजिसियन केन्द्रबाट काजमा खटाउने छौं । सेवा विस्तारका लागि आवश्यक पर्ने सबै उपकरण केन्द्रबाटै ल्याएर भएपनि भेरीमा प्रत्यारोपण सेवा सुरु गर्न हामी आतुर छौं ।’ उनले केन्द्रीकृत अंग प्रत्यारोपण सेवालाई विकेन्द्रीकरण गर्दै लैजाने सरकारको नीतिअनुरुप केन्द्रले सेवा विस्तार गर्दै आएको पनि बताए ।

डा.श्रेष्ठले मिर्गौला प्रत्यारोपण सेवालाई सर्वसुलभ गराउने गरी केन्द्र अगाडि बढेको उल्लेख गरे । भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डन्ट डा. निराजन सुवेदीले भेरी अस्पतालमा विशिष्टिकृत सेवा विस्तार गर्दै लैजानेक्रममा मानव अंग प्रत्यारोपण सेवा पनि विस्तार गर्न लागिएको बताए । उनले अंग प्रत्यारोपण सेवा विस्तारका लागि आवश्यक पर्ने कानुनी जटिलता तथा सहजीकरणका लागि छिट्टै पहल गरिने पनि विश्वास दिलाए ।

  • ८ पुष २०८१, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech