रुम हिटर प्रयोग गर्दा के के कुरामा ध्यान दिनुपर्छ ?

    • स्वास्थ्य पेज

  • ७ पुष २०८१, आईतवार

जाडोमा मानिसहरू घर वा कोठालाई न्यानो राख्न रुम हिटर वा ब्लोअरको सहारा लिन्छन् । किनभने रुम हिटरले केही मिनेटमै चिसो कोठा तताउँछ।

यद्यपि, यसको प्रयोगको क्रममा अत्यधिक सावधानी अपनाउनु पर्छ। थोरै लापरबाही पनि घातक हुन सक्छ। साथै यसले स्वाथ्य समस्या पनि निम्त्याउन सक्छ ।

रुम हिटर भनेको के हो र यसले कसरी काम गर्छ?
यो एक इलेक्ट्रोनिक उपकरण हो, जसले तातो सिर्जना गर्दछ। सामान्यतया, कोठाको हिटर धेरै हल्का र पोर्टेबल हुन्छ। यो निकल क्रोमियम मिश्रित धातुले बनेको छ। यसको प्रतिरोध मध्यमदेखि उच्च स्तरको हुन्छ। उच्च प्रतिरोधको कारण, यसको भित्र करेन्ट प्रवाह हुँदा तातो उत्पन्न हुन्छ।तर, तातो उत्पादन गर्दा यसले कार्बन मोनोअक्साइड ग्यास निकाल्छ। यो गन्धरहित ग्यास हो। त्यसैले यसले मौन मृत्यु निम्त्याउन सक्छ।

रुम हिटरले कस्ता स्वास्थ्य समस्याको जोखिम बढाउँछ?
रुम हिटरले हामीलाई चिसोबाट बचाउँछ, तर यसको प्रयोग सीमित गर्नुपर्छ। यसले स्वास्थ्यलाई धेरै किसिमले हानि पुर्‍याउन सक्छ।

हाम्रो शरीरमा सबैभन्दा बढी अक्सिजन मस्तिष्कलाई चाहिन्छ। कार्बन मोनोअक्साइड एक विषालु ग्यास हो, जसले शरीरमा रक्तसञ्चारलाई असर गर्छ। शरीरमा यसको अत्यधिक मात्राका कारण मस्तिष्कमा रगतको आपूर्ति हुन सक्दैन, जसका कारण अचानक मृत्यु हुने वा ब्रेन हेमरेज हुने खतरा बढ्छ ।

यसबाहेक जाडोमा हावा सुख्खा हुन्छ । यस्तो अवस्थामा रुम हिटरले हावाको आर्द्रतालाई अझ घटाउने काम गर्छ। यसले छाला वा आँखामा जलन हुन सक्छ।

छाला र आँखामा असर:
रुम हिटर चलाउँदा कोठाको नमी हट्छ, जसका कारण छाला सुख्खा र निर्जीव हुन सक्छ। यसका साथै आँखामा जलन र सुख्खापनको समस्या पनि बढ्छ । यदि तपाईँ लामो समयसम्म हिटरको छेउमा बस्नुभयो भने, यसले छालालाई निर्जलीकरण गर्न सक्छ र दाग वा चिलाउने हुन सक्छ।

श्वासप्रश्वास प्रणालीमा प्रभाव:
रुम हिटरबाट निस्कने तातो हावाले सास फेर्न गाह्रो हुन सक्छ, विशेष गरी दम वा अन्य श्वासप्रश्वास समस्याबाट पीडित व्यक्तिहरूलाई। साथै, रुम हिटरको लामो समयसम्म प्रयोगले नाक र घाँटी सुख्खा हुन सक्छ जसले सङ्क्रमणको जोखिम बढाउँछ।

छाला र कपालको लागि हानिकारक
जाडोमा शरीरलाई न्यानो बनाउन हिटर ब्लोअरको प्रयोग गरिन्छ । तर यसको गर्मीले तपाईँको छाला जलाउन सक्छ। तपाईँले रातो हुने र चिलाउने जस्ता समस्याहरूको सामना गर्नुपर्ने हुन सक्छ। वास्तवमा, हिटर र ब्लोअरले छालाको नमी हटाउँछ। यसले तपाईँको छाला सुख्खा र निर्जीव देखिन सक्छ । यो कपालको लागि पनि सुरक्षित मानिँदैन। यसको अगाडि धेरै बेर बस्दा टाउकोको छाला पनि बिग्रन्छ । यसले तपाईँको कपाल झर्ने पनि हुन सक्छ ।

नाक रगत बग्ने
यदि तपाईँ लामो समयसम्म रुम हिटर वा ब्लोअर प्रयोग गर्दै हुनुहुन्छ भने, यसले कोठामा अक्सिजन कम गर्छ। जसका कारण नाक भित्रको छाला सुख्खा हुनसक्छ । यसले गर्दा तपाईँको नाकबाट रगत पनि आउन सक्छ।

रुम हिटर प्रयोग गर्दा के के कुरामा ध्यान दिनुपर्छ ?
रुम हिटर चिसोबाट जोगाउनको लागि उत्कृष्ट इलेकट्रोनिक उपकरण हो। तर, यसको प्रयोग गर्दा सावधानी अपनाउनु जरुरी छ । यदि तपाईँको घरमा पुरानो रुम हिटर छ भने प्रयोग गर्नुअघि यसलाई मर्मत गर्नुहोस्। साथै, घरको कुन भागमा प्रयोग गरिरहनुभएको छ भन्ने कुरामा ध्यान दिनुहोस्। थोरै लापरबाहीले घरमा आगो लाग्न सक्छ।
रुम हिटर प्रयोग गर्नुअघि राम्ररी सफा गर्नुहोस्। यसो गर्दा यसमा जमेको धुलो हट्छ र हिटर प्रयोग गर्दा गन्ध पनि आउँदैन।

सुत्नुअघि हिटर बन्द गर्नुहोस् र बच्चाहरूबाट टाढा ठाउँमा राख्नुहोस्।

हिटर चलाउँदा कोठाको झ्याल पूर्ण रूपमा बन्द नहोस् भन्ने कुरामा ध्यान दिनुहोस् । कोठामा ताजा हावा भेन्टिलेसनको लागि ठाउँ बनाउनुहोस्।

हिटरको वरिपरि प्लाष्टिकको झोला, कागज वा त्यस्ता ज्वलनशील वस्तु नराख्नुहोस्।

तपाईको घरमा दम वा श्वासप्रश्वासका बिरामी छन् भने उनको कोठामा हिटर चलाउनबाट जोगिनुहोस्। दमका बिरामीहरूलाई हिटरको समस्या हुन सक्छ।

  • ७ पुष २०८१, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech