नेपालगन्ज: स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल भोलि नेपालगन्ज आउने भएका छन् । भेरी अस्पतालको नवनिर्मित भवनको हेमोग्लोबिनोप्याथी (सिकलसेल एनिमिया तथा थालेसिमिया) वार्ड उद्घाटन गर्न मन्त्री पौडेल नेपालगन्ज आउन लागेको भेरी अस्पताल विकास समितिका अध्यक्ष बिरेन्द्र बहादुर शाहले जानकारी दिए ।
मन्त्री भैसकेपछि पौडेल दोस्रो पटक भेरीमा आउन लागेका हुन् । पश्चिम तराईका थारु समुदायमा प्रमुख स्वास्थ्य समस्याको रूपमा देखिएको सिकलसेल एनिमिया रोग र थालेसिमियाको उपचारका लागि भेरी अस्पतालमा बेग्लै वार्डको स्थापना गर्ने निर्णय मन्त्री पौडेलले दुई महिना अगाडि गरेका थिए।
वार्डको अभावले गर्दा अस्पतालमा सिकलसेलका विरामीहरू आउने तर भने जस्तो उपचार गर्न नसकिरहेको अवस्थामा आफुहरूले बेग्लै वार्ड व्यवस्था गरेर सञ्चालन गर्न लागेको भेरी अस्पताल नेपालगन्जमा प्रमुख मेसु डा. निराजन सुवेदीले बताए ।
`खास गरी थारु समुदायमा देखिने सिकलसेल एनिमिया रोग समस्याका रूपमा देखिएको थियो, यसलाई बेग्लै वार्ड स्थापना गरेर सञ्चालन गर्नु पर्ने जरुरी नै थियो’, भेरी अस्पताल नेपालगन्जमा प्रमुख कन्सल्टेन्ट फिजिसियन समेत रहेका सिकलसेल विज्ञ डा राजन पाण्डेले भने, ‘दैनिक जसो दुई तीन जनालाई रगत चढाउनु पर्ने हुन्छ तर यसको लागि निश्चित ठाउँ नहुँदा निकै अप्ठारो थियो, अब छुट्टै वार्ड भएपछि धेरै सहज हुनेछ । ´