अकुपन्चर के हो ? कसरी काम गर्छ ?

    • डा. झुला अधिकारी

  • ६ पुष २०८१, शनिबार

Acupuncture session in a Japanese medical study. Young woman is lying down while the operator inserts the needles in the back of the patient

अकुपञ्चर चिकित्सा चिनियाँ चिकित्सा पद्धतिअन्तर्गतको चिकित्सा विधि हो । अकु अर्थात सियो र पञ्चर अर्थात घोचाई । यस अर्थमा स साना सियोको माध्यमबाट छालाका विभिन्न विन्दुहरूमा गरिने घोचाई नै सामान्य अर्थमा अकुपञ्चर चिकित्सा हो ।

अकुपञ्चर चिकित्सा पद्धतिको सुरुवात 

प्राचीन कालमा मानिस युद्ध लड्दा ढुङ्गाको हतियार प्रयोग गर्थे।  युद्धमा लड्दा ढुङ्गाको हतियारले मानिसका विभिन्न ठाउँमा प्रहार गर्थे । यसरी ढुङ्गाको हतियार शरीरका विभिन्न भागमा रोपिँदा त्यो रोपिएको भागमा घाउ त लाग्दथ्यो तर प्रहार गरेको ठाउँमा घाउ भएता पनि शरीरको अर्को कुनै भागको दुखाइ कम भएको महसुस गर्न थाले, लामो समय देखिको रोग निको भएको पाए ।

किन र कसरी भयो भनेर विचार गर्ने क्रममा एक प्रकारको अनुसन्धान नै प्रारम्भ भएको अनुमान गरिन्छ । र यो बिस्तारै अकुपञ्चर चिकित्साको रुपमा विकसित भएको ठानिन्छ । यसरी हेर्दा यो चिकित्सा पद्धतिको सुरुवात मानव सभ्यताको सुरवातसंगै भएको मानिन्छ । ऊर्जालाई कहिले हामीले आफू भित्र महसुस गरेका छौं त ?

आयुर्वेद तथा चाइनिज चिकित्साका अनुसार जीवनीय उर्जा हाम्रो शरीरमा रहेका विभिन्न च्यानल मार्फत निरन्तर प्रवाह भई रहेको हुन्छ भन्ने मान्यता रहि आएको छ ।  आयुर्वेद अनुसार यस्ता च्यानललाई स्रोत भनिन्छ ।

त्यसैगरी हिन्दु धर्म, बौद्ध धर्ममा पनि शरीर भित्र ऊर्जाको प्रवाह हुने कुराको व्याख्या पाइन्छ।  योगमा उर्जा प्रवाह हुने मार्गलाई नाडी भनिन्छ । मेरुदण्डमा रहेका विभिन्न चक्रहरु उर्जाका केन्द्र हुन् भनी चक्र जागरणका विभिन्न विधिहरूको समेत उल्लेख पाइन्छ ।

चिनियाँ चिकित्सा पद्धति अन्तर्गतको अकुपञ्चरका अनुसार हाम्रो शरीरमा रहेका उर्जा वहने मार्ग (मेरिडियन)  मार्फत उर्जा निरन्तर प्रवाह भइरन्छ भन्ने मान्यता रहेको छ ।  करिब ५ हजार वर्षभन्दा पनि पहिलेदेखि चीनबाट सुरु भएको अकुपञ्चर चिकित्सा १६औं शताब्दी पछि युरोप र अमेरिका हुँदै संसार भरी नै लोकप्रिय बन्दै गइरहेको हो ।हाल विश्वका झन्डै १९६ राष्ट्रहरूमा अकुपञ्चर सेवा विस्तार भएको पाइन्छ ।

प्रारम्भिक रुपमा ढुङ्गाबाट वनेका निडल बाट नै अकुपंचर गर्ने गरिन्थ्यो भने समयक्रममा धातुको खोजसंगै स्टोन निडललाई धातुद्वारा निर्मित सुईहरूले विस्थापित गर्दै गए ।  अहिले प्रयोग हुने अकुपञ्चर सियोहरु धागो जस्तै मसिना खालका, खिया नलाग्ने किसिमका, स्टीलबाट बनेका हुन्छन् । अकुपञ्चर सियोको विकाससँगै यसका चिकित्सा सिद्धान्तहरू पनि विकास भएको पाइन्छ ।

चाइनिज चिकत्साको केही मुख्य आधारभूत सिद्धान्त
— यिन याङ्ग सिद्धान्त ।
— पञ्चतत्वको सिद्धान्त ।
— प्रमुख अङ्ग सम्बन्धि सिद्धान्त
—मेरिडियन तथा कोल्याटेरल्स सिद्धान्त ।
—यिन याङ्ग सिद्धान्त

ब्रमाण्ड र पृथ्वीका नियमहरुलाई यीन र याङ सिद्धान्तको मार्फत बुझ्न सकिन्छ । ब्रमाण्ड र पृथ्वीका सम्पूर्ण वस्तु,चरित्रहरूलाई यीन र याङको रुपमा व्यक्त गर्न सकिन्छ । जस्तै, पानी यीन हो र आगो याङ हो , यीन चन्द्र हो भने याङ सूर्य हो ,अंध्यारो यीन हो भने उज्यालो याङ हो ।

पञ्चतत्वको सिद्धान्त
ब्रमाण्ड, पृथ्वी र प्रकृतिमा भएको सम्पूर्ण जीवन प्रकृया वा जीवन चक्र भनेकै पञ्चतत्वको गतिबाट सम्भव भएको हो । पञ्चतत्वहरु क्रमश काठ , आगो, पृथ्वी, धातु र पानी पञ्चतत्वहरु प्रकृतिका विभिन्न रुपहरु हुन् ,प्रकृतिमा एउटा सर्वमान्य गतिशील सन्तुलन  हुन्छ जुन पञ्चतत्ववाट प्राप्त हुन्छ । जीवनको श्रोत र शक्ति प्रकृतिबाट प्राप्त हुन्छ र पञ्चतत्व र जीवनवीच एउटा अटुट सम्वन्ध रहेको हुन्छ । पञ्चतत्वको नियमहरूबाट नै जीवनको सञ्चालन भएको हुन्छ ,नियमको सही सञ्चालन र सन्तुलन नै स्वस्थ जीवन हो ।

मेरिडियन तथा कोल्याटेरल्स सिद्धान्त  

चिनियाँ चिकित्सा पद्धति अनुसार शरीरमा एक प्रकारको जीवनीय शक्ति (छी) प्रवाह भइरहेको हुन्छ । उक्त शक्ति प्रवाहित हुने निश्चित काल्पनिक वाटोलाई शक्ति मार्ग भनिन्छ । मेरिडियन सिद्धान्त अकुपञ्चर चिकित्साको अत्यन्तै महत्त्वपूर्ण सिद्धान्त हो ।

चिनियाँ चिकित्सामा मानिसको जीवनले कसरी काम गर्छ ? रोग कसरी लाग्छ ? रोग निको पार्ने के कस्ता उपायहरू अपनाउने भन्ने जस्ता अत्यन्तै महत्त्वपूर्ण ज्ञान यिनै मेरिडियनहरुले प्रदान गर्छ ।

यिनै मेरिडियनहरुमा नियमित रुपले जीवनीय शक्ति ( छी ) प्रवाहित भएको हुन्छ । कुनै कारणले यिनको प्रवाहमा अवरोध आएमा स्वास्थ्यमा समस्या देखा पर्दछ र दुखाई हुने गर्छ ।

अकुपञ्चरले त्यही अवरोध हटाएर रोग निको पार्दछ वा दुखाई कम गर्छ  भन्ने मान्यता छ । मेरिडियन लाइनमा लगभग ३६१ वटा मुख्य उर्जा विन्दुहरु अवस्थित हुन्छन् । यिनलाई अकुपोइन्टस् भनिन्छ ।

अकु बिन्दुहरुमा स-साना मसिना  विशेष प्रकारका बिशेषता भएका सियोहरुद्वारा विभिन्न विधि प्रयोग गरी शारीरिक, मानसिक, भावनात्मक स्तरमा जीवनीय शक्तिलाई सन्तुलन बनाउँछ । यसरी विभिन्न स्वास्थ्य समस्याहरुको समाधान हुने गर्छ ।

अकुपञ्चरले कसरी काम गर्छ र दुखाई कम गर्छ ? 
सन् २०१७ मा प्रकाशित न्यूरोपञ्चर भन्ने पुस्तकका अनुसार अकुपञ्चरले विभिन्न तरिकाले आफ्नो काम गर्छ । जसमा स्थानीय मेकानिजम, स्पाइनल कर्ड मेकानिजम, इन्डोजेनस ओपोइड सर्किट मेकानिज्म,स्नायु प्रणाली मेकानिज्म र स्नायुमांशपेसीगत मेकानिजम पर्छ ।
अकुपञ्चर चिकित्सा अन्य विभिन्न स्वास्थ्य समस्याहरुमा उपयोगी भएता पनि बिशेष रुपले दुखाई कम गर्नका लागि प्रख्यात छ ।

अकुपञ्चरले दुखाई कसरी कम गर्न मद्धत गर्दछ भन्ने कुरालाई हामी आधुनिक विज्ञान विशेष गरी स्नायूतन्त्र क्रिया विज्ञानका हिसाबले हेर्ने प्रयास गरौं । कुनै स्थानमा चोट लागेमा हामीलाई दुख्छ तर दुखाई महशुस हुनका लागि एक निश्चित प्रकृया पुरा हुनु पर्दछ जसलाई पेन पाथ वे भनिन्छ । तीन तहका स्नायूहरु एक आपसमा मिलेपछि मात्र सामान्यतया हामीलाई दुखाई महसुस हुन्छ वा यो पाथ वे पुरा हुन्छ ।

पहिलो तहको स्नायू ; चोट लागेको स्थानवाट सी फाइबर र ए डेल्टा फाइबर नाम गरेका विशेष खाले स्नायूलेहरुले दुखाईको संवेदनालाई बोकेर मेरुदण्डमा भएको स्पाइनल कर्डको डर्सल हर्न सम्म पुर्‍याउँदछ ।

सेल बडी या त स्पाइनल कर्डमा वा ब्रेन स्टिममा रहेको दोस्रो तहको स्नायूले दुखाईको सम्बेदना लिएर चोट लागेको जुन भाग हो त्यो  भन्दा अर्को पट्टी क्रस गरेर स्पाइनोथालामिक ट्रयाक हुँदै माथि मस्तिष्कको थालामस सम्म लैजान्छ र तेस्रो तहको स्नायू मस्तिष्कको थालामसवाट सुरु भई मस्तिष्कको अग्र भागमा रहको (जुन स्थानमा चोट लागेको हो सोहि अनुसार को दुखाई महशुष हुने विशेष किसिमको ) सोमाटो सेन्सरी कर्टेक्समा गएर टुङ्गिन्छ र हामीलाई दुखाईको महसुस हुन्छ ।

स्पाइनल कर्डको डर्सल हर्नमा रहेको सब्स्टान्सिया जेलाटिनोसा भन्ने स्थानमा पहिलो तहको स्नायूले दोस्रो तहको स्नायुलाई न्युरो ट्रान्समिटरमार्फत दुखाईको सम्बेदना पठाउने गर्दछ त्यसैगरी यस्तो सम्बेदना दोस्रोबाट तेस्रोमा पनि जाने गर्छ । जब हामी अकुपञ्चर गर्दछौं तब  केही मोटा एवं संकेतहरुलाई छिटो लैजाने किसिमका ए बीटा फाइबर नाम गरेका अर्का स्नायूहरु उत्तेजित हुन्छन्।

जसले स्पाइनल कर्डको डर्सल हर्नमा रहेको सब्स्टान्सिया जेलाटिनोसा भन्ने स्थान जहाँ पहिलो तहको स्नायूले दोस्रो तहको स्नायुलाई सब्स्टान्स पी ,ग्लुटमेट नामका न्युरो ट्रान्स मिटर  मार्फत दुखाईको सम्बेदना पठाउने गर्दछ त्यहि स्थानमा दुखाई कम गर्ने खाले संकेतले दुखाईको संवेदनालाई नै केहि कम गर्ने वा रोक्ने गर्दछ र त्यो भन्दा माथि तर्फ संवेदनालाई जान नै दिंदैन यसरी स्पाइनल कर्डको तहमा नै दुखाई कम हुने हुन्छ ।

अकुपञ्चर गर्ने अकुविन्दुहरुमा यस्ता ए बीटा नाम गरेका स्नायूहरु दुखाईका सम्बेदना बोक्ने खाले स्नायूहरु भन्दा ज्यादा मात्रामा रहेका हुन्छन् । जब हामी कुनै अकुविन्दुमा अकुपञ्चर गर्दछौं तव दुखाईको सम्बेदना भन्दा अघि नै इन्डोरफिन जस्ता  दुखाई कम गर्ने खाले संकेतले पहिलो र दोस्रो स्नायूको वीचमा सम्बेदना जाने गेटलाई नै बन्द गरी दिन्छ र त्यस भन्दा माथि दुखाईको सम्बेदना नै जाँदैन वा कम मात्रामा जाने हुन्छ । यसलाई प्रसिद्ध गेट कन्ट्रोल थेयरी भनेर पनि जानिन्छ ।

अर्को तर्फ अकुपञ्चर उपचारको असर स्पाइनल कर्डको तह हुँदै हाम्रो मस्तिष्क सम्म पनि पुग्छ  । आवश्यकताअनुसार हामीले छानेका अकुविन्दु अनुसार प्राकृतिक दुखाई कम गर्ने केन्द्रको रुपमा रहेको हाइपोथालामस र अरु त्यस्तै केन्द्रहरु सक्रिय हुन्छन् ।जसले वेटा इन्डर्फिन नामक दुखाई कम गर्ने प्राकृतिक हर्मोन निस्कन्छ जसले  मिड ब्रेनमा रहेको पेरी एक्यूडक्ट ग्रे नामक केन्द्रलाई सक्रिय गर्दछ जसले सेरोटोनिन जस्ता हर्मोनहरु मार्फत डर्सल हर्नमा रहेको सब्स्टान्सिया जेलाटिनोसामा नै दुखाईको संवेदनालाई कम गराउन भूमिका खेल्छन् ।

विभिन्न अध्ययनहरू अनुसार अकुपञ्चरले प्राकृतिक पेन किलर हर्मोनहरु निकाल्न मद्धत गर्छ । जसमा इन्डोरफिन पोलिपेप्टाइड्स इन्केफलिन डाइनर्फिन लगायतले दुखाई कम गर्न मद्धत गर्छ ।साथै अकुपञ्चर चिकित्साले शरीरमा भएका यस्ता दुखाई कम गर्ने न्यूरो ट्रान्समिटरहरुको संख्यामा समेत वृद्धि गरेर दुखाई कम गरेको पाइएको छ ।

त्यसैगरी एक्सियल रिफ्लेक्स आर्क सिद्धान्त अनुसार पनि अकुपञ्चरले दुखाई कम गर्न सहयोग गरेको पाइन्छ । यी विभिन्न प्रक्रियाबाट अकुपञ्चरले दुखाई कम गर्न सहयोग गर्दछ भनेर पछिल्ला अध्ययनहरुले देखाएको पाइन्छ । चिनियाँ  चिकित्सा अन्तर्गत अकुपञ्चरबाहेक  पनि एउटै चिकित्सा सिद्धान्त अनुसार कार्य गर्ने अन्य चिकित्सा विधिहरूमा पनि छन् ।

जसमा  एक्युप्रेसर, मोक्सिबुसन, कानको अकुपञ्चर, विद्युतीय अकुपंचर, कस्मेटीक अकुपञ्चर, स्काल्प अकुपञ्चर र रक्तमोक्षण लगायतका विधिहरू पर्छन् ।

खोज तथा अनुसन्धान

पछिल्लो समयमा मेरिडियनका वारेमा वैज्ञानिक खोजहरु भइरहेका छन् र निरन्तर भई नै रहने छन्। आधुनिक खोजहरु अनुसार मेरिडियनको रुपमा व्याख्या गरेको पाइन्छ । त्यसै गरी पछिल्लो समयमा शरीर क्रिया विज्ञान सम्बन्धी अध्ययनले स्नायु तन्त्र परिकल्पनालाई अगाडी सारेको पाइन्छ जस अनुसार अकुपञ्चर गर्दा सर्वप्रथम शरीरका संवेदी उत्तेजित गरी त्यो संकेत दिमागमा पुर्याई दिमागवाट पुन आवश्यक संकेत पाएपछि नै चाहिएिको अकुपञ्चरको परिणाम प्राप्त हुन्छ भनिएको छ तर अझै अनुसन्धानहरुले यहि नै हो भनेर यकिन गरी सकेको भने छैन ।

नेपालमा अकुपन्चर 

पहिलेको तुलनामा नेपालमा सचेतना बढेको छ ।  नेपालमा पनि सरकारी तथा निजी अस्पताल एवं क्लिनिकमा अकुपञ्चरका माध्यमबाट उपचार  सेवा संचलानमा छ । सरकारी स्तरमा रहेको केन्द्रीय चिकित्सलय नरदेवीमा अकुपञ्चर गर्न आउने बिरामीहरुमा विभिन्न प्रकारका पक्षाघात, हड्डी खिएर भएका दुखाई, कम्मरको दुखाई, घुँडाको दुखाई, माइग्रेन टाउको दुखाई, कुमको जोर्नी दुखाई, मर्केको, कम्मर तथा घाँटीको नसा च्यापिएर भएको दुखाई तथा लाटोपना, झम्झमाउने जस्ता नसा सम्बन्धी समस्याहरु त्यसैगरी चिन्ता तनाव एवं अनिद्राबाट पीडित बिरामीमा अकुपञ्चर अत्यन्तै प्रभावकारी पाइएको छ।  दक्ष जनशक्ति नहुँदा देशव्यापी रुपमा भने यो सेवा विस्तार हुन सकेको छैन ।

सावधानी

यो उपचारको  फाइदा लिन दक्ष चिकित्सकबाट मात्र लिनुपर्छ । दक्ष व्यक्तिले आवश्यक अकुपोइन्टहरुमा विधिपूर्वक अकुपञ्चर सियो राख्दा बिरामीलाई उक्त सियो राखेको स्थानमा तातो महसुस हुने , भारी भएको जस्तो हुने , एक प्रकारको करेन्टको प्रवाह भए जस्तै हुनु पर्छ भने सियो राख्ने व्यक्तिले समेत त्यो अनुभूति गर्छ।

अकुपञ्चर चिकित्साको सही लाभ लिनका लागि यस्तो महसुस हुनु अति जरुरी हुन्छ जसलाई ऊर्जाको अनुभूति भनिन्छ । जसकारण जहाँ पायो त्यही जो सुकै व्यक्तिसँग अकुपञ्चर गराउन हुँदैन । हेर्दा उस्तै लागे पनि गर्ने व्यक्तिको दक्षता विना अकुपञ्चरवाट लाभ लिन सकिँदैन केवल आफ्नो स्वास्थ्य ,पैसा र समयको वर्वादी मात्र हुनेछ ।

 (नेपाल चाइनिज मेडिसिन चिकित्सक समाजको अध्यक्ष समेत रहेका अकुपञ्चर विज्ञ हाल काठमाडौंको  केन्द्रीय आयुर्वेद चिकित्सालय, नरदेवीमा कार्यरत छन् ।)

  • ६ पुष २०८१, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech