प्यारालाइसिस भएको कसरी थाहा पाउने ? लक्षण र उपचार

    • डा. सुवास फुँयाल/न्यूरो इन्टरभेन्सनिस्ट

  • ३ पुष २०८१, बुधबार

दिमागमा रगत पुर्‍याउने नसा बन्द भइ आउने समस्यालाई ‘स्ट्रोक’ (मस्तिष्कघात) वा प्यारालाइसिस भनिन्छ । यस्ता समस्याको पहिचान गर्ने र उपचार गर्ने प्रविधि नै न्यूरो इन्टरभेन्सन हो । टाउको नखोलिकन खुट्टाको नसाबाट सानो तार प्रवेश गराएर समस्या देखिएको भागसम्म पुर्‍याइ यो प्रविधिमार्फत उपचार गर्न सकिन्छ ।

‘स्ट्रोक’ दुई किसिमको हुन्छ । एउटा ‘इस्केमिक स्ट्रोक’, अर्को ‘हेमोरेजिक स्ट्रोक’ । शरीरको सबै अङ्ग नियन्त्रण गर्ने भनेकै दिमागले हो । सोच्ने, बोल्ने, हातखुट्टा चलाउने, मुटुको धड्कन, श्वास फेर्ने सबै केन्द्र दिमागमा हुन्छ । यसलाई जीवित बनाएर राख्न रक्त सञ्चार भएर सबै केन्द्रमा पुग्न आवश्यक हुन्छ ।

दायाँ भागको दिमागमा लिएर जाने रगतको नसा बन्द भयो भने एक्कासी हातखुट्टा चल्दैनन् र प्यारालाइसिस हुन्छ । बोल्न सकिँदैन । आँखा धमिलो देख्ने । मुख बाङ्गो हुने हुन्छ । यो भनेको ‘स्ट्रोक’ हो । स्ट्रोक भनेको रगतको नसा बन्द भएर रक्तसञ्चार नै अवरोध हुनु हो । यसलाई नै सामान्य भाषामा मस्तिष्कघात वा प्यारालाइसिस भन्ने गरिन्छ ।

प्यारालाइसिस ४० वर्षमाथि उमेरकालाई लाग्ने सम्भावना हुन्छ । सुगरका बिरामीलाई पनि यो समस्या हुने सम्भावना हुन्छ । सुगरको औषधि सेवन गर्नु भएन भने पनि यो समस्या हुने देखिन्छ । रगतमा भएका सुगरको मात्रा दिमागको नसामा गएर जम्ने हुन्छ । यसले दिमागको नसा बन्द हुने समस्या आउँछ । प्रेसरका बिरामीलाई प्रेसर परीक्षण गरिएको छैन, प्रेसर परीक्षण गरेर पनि नियमित औषधि सेवन गरेका छैनौँ भने पनि प्यारालाइसिस हुने सम्भावना रहन्छ । प्रेसर दिमागको नसामा पुग्छ । ती नसा खुम्चिँदै गएर बन्द हुन्छ । यसले प्यारालाइसिस गराउँछ ।

आजको भोलिभन्दा पनि लामो समयमा यो समस्या देखा पर्छ । यस्तै, मोटोपना भएका व्यक्तिमा यो रोग लाग्न सक्छ । त्यसैले मोटोपना बढी भएका व्यक्तिले नियमित रुपमा व्यायाम गर्नु पर्छ । धुम्रपान सेवन गर्ने, मादक पदार्थ सेवन गर्ने व्यक्ति, मुटुको समस्या भएका व्यक्तिमा यो रोग बढी हुन्छ । मुटुले रगत फालेर शरीरका विभिन्न ठाउँमा पुर्‍याउने गर्छ । तर मुटुमै समस्या भएमा रगत राम्रोसँग फ्याक्न सकेन भने रगत जमेर ढिक्का बन्छ । रगत ढिक्का बन्न नदिन मुटु रोगका बिरामीलाई रगत पातलो बनाउने औषधि दिइन्छ । त्यो औषधि नियमित सेवन नगरेमा रगत जम्छ । रगतको ढिक्का उछिट्टिएर दिमागका अन्य नसामा गएर बन्द भइदिन्छ । यिनै कारणले गर्दा प्यारालाइसिस, पक्षघात तथा स्ट्रोकको समस्या देखिन्छ ।

प्यारालाइसिस भएको कसरी थाहा पाउने ?

प्यारालाइसिसको लक्षण छिटो देखिन्छ । यद्यपि लक्षण देखिएको केही क्षणमै अवस्था गम्भीर बन्न सक्छ । त्यसैले प्यारालाइसिस हुँदा देखिने लक्षणलाई अंग्रेजीको ‘बी फास्ट’ भन्ने तरिकाबाट बुझ्न सक्छौँ ।

बि अर्थात् ‘ब्यालेन्स’ : शरीरको सन्तुलत बिग्रने । हिँड्न, बस्न र उठ्न असहज हुने ।

ई अर्थात् ‘आई ’ : यसको अर्थ आँखा धमिलो देख्नु । एउटा वा दुवै आँखाले हेर्नमा कठिनाइ हुनु ।

एफ अर्थात् ‘फेस’ : अनुहार र मुख बाङ्गिनु ।

ए अर्थात् ‘आर्म’ : हात लुलो हुनु, शरीरको एक भाग अचानक कमजोर महसुस हुनु ।

एस अर्थात् ‘स्पिच’ : बोली लर्बराउनु ।

टी अर्थात् ‘टाइम’ : समयमै अस्पताल पुर्‍याउनु ।

यो रोग एक्कासी हुने हो । यसमा समय एउटा महत्त्वपूर्ण कुरा हो । यसमा गोल्डेन आवर भन्ने हुन्छ । यस्ता लक्षण भएका व्यक्तिको दिमागको नसा बन्द भएको हुन्छ सक्छ । त्यो दिमागको नसा समयमै अर्थात २४ घण्टाभित्र खोल्न सकेमा पहिलाजस्तै मान्छे निको हुन्छ ।  त्यही भएर समय एकदमै महत्त्वपूर्ण हुन्छ ।

कम उमेरकालाई पनि जोखिम बढ्दो

पछिल्लो समय साना उमेरका व्यक्तिलाई पनि प्यारालाइसिसको जोखिम बढ्दो छ । पहिला बढ्दो उमेरमा स्ट्रोकको जोखिम हुन्छ भनिन्थ्यो । किनकि सुगर, प्रेसर लगायत रोगहरू बढ्दो उमेरमा देखिन्थ्यो तर पछिल्लो समय आएर ‘स्ट्रोकिङ योङ्ग’ पनि भनिन्छ । मैले २० वर्षको मानिसलाई पनि उपचार गरेको छु । ९२ उमेरकालाई पनि उपचार गरेको छु । २०/२२ वर्ष उमेरकालाई पनि यो रोग हुन थालेको छ । किन भने कम उमेरका मानिसले पनि एकदमै तनाव लिन्छन् । समयमा सुत्दैनन् । मानिस ७ देखि ९ घण्टा सुत्नु पर्छ । तर तनाव लिन्छौँ, यो सबै कुराले पनि स्ट्रोक गराउँछ । अहिले १०० जनामध्ये १५ जना ४० वर्षभन्दा कम उमेरकालाई स्ट्रोक भएको पाइन्छ ।

उपचार कस्तो छ ?

सन् २०१५ पछि विश्वले नै नयाँ फट्को मारेको छ । २०१५ अगाडि नसामा जमेको रगत पगाल्न औषाधि दिइन्थ्यो । तर विभिन्न अध्ययनले मोटो नसामा त्यो औषधिले खासै राम्रो काम गरेका देखिएन । त्यसपछि सन् २०१५ पछि गाइड लाइन नै परिवर्तन भयो । मोटो नसा बन्द हुँदा गर्नैपर्ने उपचार पद्धति ‘मेकानिकल थ्रोम्बेक्टोमी’ हो । यो भनेको तारमार्फत बन्द भएका नसालाई खोल्न सक्ने प्रविधि हो । नेपालमा पनि २०१९ यता यो प्रविधि भित्रिएको छ । यसैलाई ‘न्युरोइन्टरभेन्सन’ पनि भनिन्छ । यसको उपचार खर्च कम्तीमा ४ लाख रुपैयाँको हाराहारी हुन्छ । यस उपचार पद्धतिमा प्रयोग हुने सामग्रीहरू महँगो पर्ने भएकाले यो उपचार महँगो छ ।

यो उपचार पक्कै पनि सरकारी निकायमा हुन थाल्यो भने सस्तो पर्न सक्छ ।  धेरै रोगमध्ये एकदम कम रोग हुन्छन्, जसलाई गोल्डेन आवरमा उपचार गर्नुपर्छ । यो रोग पनि २४ घण्टाभित्र उपचार गर्न सकिएन भने उपचार सम्भव नै हुँदैन ।

नेपालमा न्यूरो इन्टरभेन्सनिस्ट जनशक्ति कम छन् । मुख्य अस्पतालमा एक वा दुई जना न्यूरो इन्टरभेन्सनिस्ट हुनु आवश्यक छ । २४ घण्टामा अस्पताल आइपुगेमा यो रोगको शत प्रतिशत उपचार गर्न सकिन्छ । तर सो समयभन्दा पछि अस्पताल आएमा उपचार मुस्किल हुन्छ । सरकारी अस्पतालमा पनि यस रोगको उपचार विस्तार गर्न आवश्यक छ । एक पटक स्ट्रोक भएको व्यक्तिलाई सामान्य व्यक्तिको तुलनामा पुनः स्ट्रोक हुन सक्ने सम्भावना बढी हुन्छ । त्यस्ता व्यक्तिले नियमित औषधि सेवन गर्ने, नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ ।

  • ३ पुष २०८१, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech