नेपालगन्ज: नेपालगन्ज स्थित फत्तेवाल आँखा अस्पतालमा हालसम्म १५६ जनाको आँखामा नानी प्रत्यारोपण गरिएको छ ।
गत जुलाईबाट मात्र कर्निया सर्जरी सुरु भएको यस अस्पतालमा मंसिर ३० गते आइतबार सम्म १५६ जनालाई नानी प्रत्यारोपण सेवा प्रदान गरिएको अस्पतालका कर्निया विशेषज्ञ (आँखाको नानी रोग विशेषज्ञ) डा.राजशी श्रेष्ठले जानकारी दिईन् । ड.श्रेष्ठका अनुसार आँखाको प्रकृति अनुसार २२ हजारदेखि रु ३३ हजारसम्म शुल्क लिएर आँखाको नानी प्रत्यारोपण हुँदै आएको छ ।
उनले १० देखि ८० वर्ष उमेरसम्मका व्यक्तिको आँखाको नानी प्रत्यारोपण गरिएको समेत जानकारी दिईन्। प्रत्यारोपण भने जुनसुकै उमेर समूहका व्यक्तिमा गर्न सकिने उनि बताउँछिन् । काठमाडौं स्थित तिलगंगा आँखा प्रतिष्ठानमा मात्र आई बैंक सञ्चालनमा रहेका कारण तिलगंगा आँखा अस्पतालबाट आँखाको नानी ल्याएर अस्पतालमा सफलतापूर्वक प्रत्यारोपण सेवा प्रदान भईरहेको छ ।
यसअघि नेपालगन्जमा कर्नियाको सर्जरी सेवा थिएन । फत्तेवाल आँखा अस्पतालमा डा.राजशीले यो सेवाको सुरुवात गरेकी हुन् । उनको टिममा अप्थाल्मीक एसिस्टेन्ट हेमन्त श्रेष्ठ, सुस्मिता चौधरी, सब्नम चौधरी, पिन्की शाहु र अन्य सहयोगीहरु छन् । डा.राजशीले छोटो अवधीमा १५६ बढीको आँखाको नानी प्रत्यारोपण गरिएको भन्दै सेवा प्रभावकारी भईरहेको स्वास्थ्य पेजसँगको कुराकानीमा बताईन् ।
फत्तेवालमै यो सेवा पाउँने भएपछि पश्चिम नेपाल र छिमेकी भारतबाट उपचारका लागि अस्पताल आउँने बिरामीहरुलाई समेत राहत भएको छ । शरीरबाट कर्निया झिकेर दृष्टि गुमाएकाहरूलाई उपचार गर्न सकिने भएको हुँदा आँखा दान प्रति रहेका भ्रम चिर्दै आफु पनि आँखा दान गर्नु र अरुलाई पनि आँखा दान गर्न प्रोत्साहन गर्न डा.श्रेष्ठले सबैमा आग्रह समेत गरेकि छिन् ।
केहि हप्ता अघिमात्र तिलगंगा आँखा अस्पतालमा रहेको आई बैंकमा आयोजित एक कार्यक्रममा जुन २०२३ बाट अक्टोबर २०२४ सम्म सबैभन्दा धेरै सर्जरी गरेका चिकित्सकहरुलाई सम्मान गर्ने क्रममा नेपालगन्ज स्थित फत्तेवाल आँखा अस्पतालमा कार्यरत कर्निया विशेषज्ञ डा.श्रेष्ठलाई समेत सम्मान गरिएको थियो ।
पश्चिम नेपालमै आँखाको उपचारका लागि रेफरल अस्पतालकै रुपमा चिनिने फत्तेवाल आँखा अस्पतालले कर्नियाको सेवासँगै आँखाका विभिन्न समस्याहरुको समेत सफल उपचार गर्दै आएको छ ।