प्रा.डा मोहनराज शर्मा त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान आईओएमको डीनमा नियुक्त

    • स्वास्थ्य पेज

  • ३० मंसिर २०८१, आईतवार

काठमाडौं: प्राडा मोहनराज शर्मा त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान आईओएमको डीनमा नियुक्त भएका छन्। त्रिवि कार्यकारी बैठकले प्राडा शर्मालाई चार वर्षका लागि डीनमा नियुक्त गर्ने निर्णय गरेको हो।

डीनका लागि नाम सिफारिस गर्न गठित समितिले सिफारिस गरेका तीन जनामध्ये कार्यकारी बैठकले शनिबार प्राडा शर्मालाई डीनमा नियुक्त गरेको हो। डीनका लागि डा शर्मासहित प्राडा दिव्या सिंह शाह र प्राडा सुधा बस्नेतको नाम सिफारिस गरेको थियो।

नवनियुक्त डीन प्राडा शर्माले नियुक्तिको पत्र लिन बाँकी रहेको जानकारी दिए। ‘पत्र लिन बोलाउनु भएको छ,’ उनले भने, ‘आज पत्र लिएर काम अगाडि बढाउने छु।’

डीनका लागि नाम पठाएको लामो समय हुँदा पनि डीनमा नियुक्त गर्ने निर्णय भने हुन सकेको थिएन। त्रिविले चिकित्सा शास्त्रसँगै अन्य शंकायका रिक्त पदहरुमा समेत नियुक्ति गर्न बाँकी रहेकाले समय लागेको बताउँदै आएको थियो।

डीन नियुक्तिका लागि सिफारिस समितिले गत असोज १३ गते अल्पसूचीमा रहेका पाँच जनासँग कार्ययोजनासहित अन्तर्वार्ता लिएको थियो। जसमा त्रिवि कार्यकारीमा पुगेका तीन जनासहित प्राडा अभिमन्यु झा र प्राडा उत्तमकृष्ण श्रेष्ठ थिए।

आईओएममा डीन रहेकी दिव्या शाहको कार्यकाल गत असार ३ गते सकिएको थियो। त्यसपछि उनलाई अर्को डीन नियुक्ती भएर नआउँदासम्म जिम्मेवारीमा रहेर काम गर्न पत्र दिइएको थियो।

  • ३० मंसिर २०८१, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech