नेपालगञ्ज: नेपालगञ्जमा उत्पादन हुने स्वास्थ्यजन्य फोहोर दैनिकरुपमा संकलन हुन्छ । संकलन गरिएको फोहोर एकीकृत स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्रमा लगिन्छ । २ वटा फोहोर बोक्ने गाडीमा १२ जना मानिसले दैनिकरुपमा फोहोरमैला संकलन गर्दछन् । एक दिन संक्रमित फोहोर उठाइन्छ भने अर्को दिन असंक्रमित फोहोर । नेपालगञ्ज उपमहानगरपालिकाले वडा नम्बर २३ हिरमिनियास्थित ल्याण्डफिल साइट परिसरमै एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र बनाएको छ ।
स्थानीय सरकारले सञ्चालन गरेको यो देशकै पहिलो र एक मात्र नमुना स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्र हो । नेपालगञ्ज उपमहानगरपालिकाले ४६ लाखको लागतमा संरचना निर्माणको काम गरेको हो भने जिआइजेडले मेसिन सहयोग गरेको छ । जिआइजेडले त्यहाँ दुई वटा अटो क्लेब मेसिन र एउटा बेलर मेसिन सहयोग गरेको हो । अटो क्लेबले हानिकारक फोहोरमैला पकाउने कामगर्दछ भने बेलर मेसिनको काम फोहोरलाई छानेर निस्किने काम लाग्ने बस्तुलाई बण्डल बनाउने हो ।
फोहोर पूर्णरुपमा पाके–नपाकेको थाहा पाउन ल्याब परीक्षण गरिन्छ । अन्तिममा काम नलाग्ने फोहारलाई ‘डम्पिङ’ गरिन्छ भने काम लाग्ने बस्तुहरु बजारमा विक्री हुने गर्दछ । नेपालगञ्ज उपमहानगरपालिकाले एकीकृत स्वास्थ्यजन्य फोहोरमैला ब्यवस्थापन केन्द्र सञ्चालनको जिम्मा १० वर्षका लागि स्वच्छ नेपाल हाम्रो अभियान नामक संस्थालाई दिएको छ । स्वास्थ्य संस्थाबाट निस्कने फोहोरमैला व्यवस्थापनगर्ने उद्देश्यका साथ एकीकृत स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याइएको वातावरण इन्जिनियर प्रकाश डिसीले बताउँछन् ।
मेडिकल सिटीका रुपमा विकास भइरहेको नेपालगञ्जमा यो अपरिहार्य नै थियो । स्वास्थ्यजन्य फोहोर अति संवेदनशील हुने भएका कारण यसको उचित व्यवस्थापन त झन अतिजरुरी नै हुन्छ । उचित व्यवस्थापन अभावले संक्रमण फैलिने जोखिम धेरै हुन्छ । अन्य फोहोरको तुलनामा स्वास्थ्यजन्य फोहोर सबैभन्दा बढी दूषित र संक्रामक हुने भएकाले आफू निर्वाचित भएर आउने वित्तिकै प्राथमिकता दिएर स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्र स्थापना गरेको नगर प्रमुख प्रशान्त विष्ट बताउँछन् ।
२०७९ असोज २० गते उद्घाटन गरिएको यो केन्द्र सञ्चालनका लागि २०७९ पौषदेखि स्वच्छ नेपाल हाम्रो अभियानलाई जिम्मा दिइएको हो । नेपालगञ्जबाट अहिले संक्रमित फोहोर दैनिक ३५० देखि ४०० केजी र असंक्रमित फोहोर ८०० देखि १००० केजीसम्म संकलन हुन्छ । १०२ वटा स्वास्थ्य संस्थायसमा आबद्ध छन् । यसमा ठूला साना अस्पताल, ल्याब, क्लिनिक आबद्ध छन् । स्वच्छ नेपाल हाम्रो अभियानका अध्यक्ष भानु भट्टले फार्मेसीहरु अझै यसमा आबद्ध नभएको बताउँछन् । सबैलाई आबद्ध गर्न भने चुनौती भइरहेको उनको भनाइ छ ।
आबद्ध नहुनेलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा भट्टको जोड छ । आबद्ध भएकाहरुले पनि पैसा दिने बेलामा आनाकानी गर्ने गरेका छन् । ठाउँ सरेर अन्यत्र जाँदा पनि जानकारी नगराउने प्रबृत्ति पनि देखिएको छ । भट्टका अनुसार स्वास्थ्य संस्थाले अरु बेला कुनै गुनासो नगर्ने तर पैसा उठाउन गएको बेलामात्र गुनासो गर्ने गरेका छन् । स्वास्थ्य संस्थाले फोहोरको मात्रा अनुसार महिनाको कम्तीमा १०० रुपैयाँदेखि ७० हजार रुपैयाँसम्म शुल्क बुझाउँछन् । सम्झौता बमोजिम नेपालगञ्ज उपमहानगरपालिका अनुगमनमा नगइदिएको दुःखेसो पनि भट्टले सुनाए ।
महिनामा दुई पटक अनुगमन गर्नुपर्ने भनिएको छ । स्वच्छ नेपाल हाम्रो अभियानले प्रशोधनबाट निस्किएका काम लाग्ने बस्तु बजारमा विक्रीगर्दा मासिक ४० हजार रुपैयाँसम्म आम्दानी गरिरहेको छ । उसले उपमहानगरपालिकालाई मासिक ४० हजार रुपैयाँ राजश्वपनि बुझाउँछ । नेपालगञ्ज उपमहानगरपालिकाले एकीकृत स्वास्थ्यजन्य फोहोरमैला ब्यवस्थापन केन्द्र सञ्चालन गरेर उत्कृष्टकार्य त गरिरहेको छ ।
तर, सबै स्वास्थ्य संस्थालाई त्यसको दायरामा आबद्ध गर्न भने सकेको छैन, जुन अतिआवश्यक छ । नियमित अनुगमनलाई पनि आत्मसाथ गर्न सके प्रभावकारिता बढ्नेछ ।