सप्तरी: सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा कार्यरत एक कर्मचारी मृत भेटिएका छन् ।
सप्तरीको राजविराजस्थित जिल्ला खेलकुद विकास समिति परिसरको भवनको झ्यालमा बाँधिएको अवस्थामा अस्पतालको टिकट काउन्टरमा कार्यरत अन्दाजी ४० वर्षीय सुधीर कुमार झाको शव फेला परेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
मृतक झाका दुवै खुट्टाले भुईं टेकेको देखिन्छ । उनको घाँटीको डोरी झ्यालको रडमा बाँधिएको छ । झ्यालमा बाँधिएको झाको दुवै खुट्टा भुईँमा देखिएकाले घटना शङ्कास्पद देखिएको प्रहरीले जनाएको छ । कसैले हत्या गरेर शव झ्यालको रडमा बाँधेर छाडेको हुनसक्ने अनुमान प्रत्यक्षदर्शीले गरेका छन् ।
स्थानीयले आज बिहान शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।