मलद्वार र मलाशयका भित्ताहरुमा रहेको रक्तनली सुन्निने र त्यसबाट उत्पन्न हुने विभिन्न समस्या नै पायल्स हो । सुरुवाती चरणमा खानपान र जीवनशैली बदलेर यसबाट छुटकारा पाउन सकिन्छ ।
जटिल अवस्थामा भने शल्याक्रिया गर्नुपर्ने समेत हुनसक्छ । योग, आयुर्वेद लगायत परम्परागत उपचार विधीबाट पनि यसको निदान खोज्न सकिन्छ ।मानव शरीरमा लाग्ने धेरै रोगको कारण अस्वस्थ खाना र अस्तव्यस्त जीवनशैली नै हो।
यस्ता कारणले हुने रोगहरुमध्ये पाइल्स पनि एक हो । पाइल्स गोप्य अङ्ग (दिसाद्वार) मा हुने हुँदा धेरै व्यक्तिहरु रोग लागे पनि समयमा चिकित्सकलाई देखाउन जाँदैनन् । यसले गर्दा पाइल्स बढ्दै जाने र पछि स्वास्थ्यमा अन्य समस्याहरु पनि देखिने हुन्छ ।
पहिलो चरण
यस अवस्थामा दिसा गर्दा मासुको डल्ला बाहिर आउँदैन । तर रगत बग्ने र दुखाइ भने हुने गर्दछ । यस अवस्थामा रहेको पाइल्सलाई औषधिको प्रयोगबाट निको पार्न सकिन्छ ।
दोस्रो चरण
यो अवस्थामा दिसा गर्दा मासुको डल्ला बाहिर आउँछ र दिसा गरिसकेपछि आफैँ भित्र जान्छ । यसका साथै दुख्ने अनि रगत आउने समेत हुन्छ । यो अवस्थासम्म पनि लामो समयसम्म औषधि सेवन गरी निको पार्न सकिन्छ ।
तेस्रो चरण
यस चरणमा दिसा गर्दा मासुको डल्ला बाहिर आउँछ र आफैँ भित्र नगई औँलाले धकेलेर भित्र पठाउनुपर्ने हुन्छ।यसका साथै बढी मात्रामा दुख्ने अनि रगत बग्ने हुन्छ । यस अवस्थासम्म आइपुगेको पाइल्स औषधिले निको नहुने भएकाले क्षारसूत्र विधिबाट नै उपचार गर्नुपर्ने हुन्छ ।
चौथो चरण
यस चरणमा मासुको डल्ला बाहिर नै बसिरहन्छ साथै अत्यधिक दुखाइ र रगत बग्ने हुन्छ । समयमै उपचार नगर्दा मासुको डल्ला कुहिन थाल्दछ र संक्रमण सम्पूर्ण शरीरमा फैलिएर मान्छेको मृत्यु पनि हुन्छ ।
पाइल्सका लक्षणहरु
दिसा बस्दा दिसामा रगत आउने, मलद्वारबाट मासु पलाउने, पानी बग्ने एवं चिलाउने पाइल्सका मुख्य लक्षणहरु हुन् । त्यस्तै मलद्वारबाट पलाएको मासु मलद्वारमा च्यापिएको अवस्थामा अत्यधिक दुखाइ हुन्छ । दिसा गर्ने ठाउँ अर्थात् मलद्वारवरिपरि चिलाउनु, मलद्वारबाट सिँगानजस्तो बग्नुजस्ता समस्याहरु पाइल्सको शुरुवाती लक्षण हुन् ।
कारणः
-निरन्तर लामो समयको कब्जियत पाइल्सको प्रमुख कारण हो। अनि अनुचित खानपान र सुखसयलको जीवनशैली पनि।
– मैदाजन्य खानपान, माछा, मासु, अन्डा, दूध आदि बढी प्रयोग गर्नु। धेरै चिल्लो, पिरो, अमिलो, मसला र खुर्सानी टोक्ने बानी।
– हरियो सागसब्जी, फलफूलको कमी र पानी कम पिउनु।
– तौल बढी हुनु। शारीरिक श्रमको कमी तथा नियमित व्यायाम नगर्नु। एकै ठाउँमा बस्ने बानी गर्नु।
– राती ढिला सुत्ने र बिहान ढिला उठ्नु।
– दिसा, पिसाब रोक्ने बानी।
यो रोग १ देखि २ प्रतिशतसम्म क्यान्सरमा परिणत हुने गरेको पाइएको छ । यो रोगका अप्रेसन गरेका बिरामीमा ३० देखि ४० प्रतिशतसम्म दोहोरिएको पाइएको छ । तर, क्षारसूत्र विधिबाट उपचार गरेका बिरामीमा भने १ प्रतिशतभन्दा पनि कममा मात्र दोहोरिने देखिएको छ । समयमै उपचार गरेमा यो रोगबाट सजिलै मुक्त हुन सकिन्छ ।
उपचार
पाइल्सका चारवटा अवस्थाहरुमध्ये पहिलो र दोस्रो अवस्थामा सामान्यतया औषधिबाट उपचार गर्न सकिन्छ । तेस्रो र चौथो अवस्थामा क्षारसूत्र विधिबाट उपचार गरिन्छ । मलद्वारबाहिर रहने पाइल्सको उपचार औषधि वा क्षारसूत्रबाट गर्न सकिन्छ ।
पाइल्सको उपचार एलोप्याथी चिकित्साबाट प्रभावकारी भएको मानिन्न । एलोप्याथी विधिबाट पाइल्सको शल्यक्रिया गराए पनि पाइल्स फेरि बल्झिने धेरै सम्भावना रहन्छ । अतः पाइल्स रोगमा आयुर्वेद पद्धति नै उत्तम मानिन्छ ।
पाइल्सको शुरुवातको अवस्थामा दिसालाई पातलो बनाउने वा खुलाउने औषधिको प्रयोग गर्न सकिन्छ । एउटा भाँडामा मनतातो पानी र त्यसमा थोरै नून राखेर मलद्वारलाई सेक्ने कार्य निकै प्रभावकारी मानिन्छ।
कहिलेकाहीँ पाइल्सजस्तो मानिने क्यान्सर पनि शुरुमा दुख्ने र रगत बग्ने हुन्छ । तर धेरैले क्यान्सरलाई पनि पाइल्स भन्दै बस्न सक्छन् । बिरामीको तौल घट्ने, शरीरमा रक्तअल्पता हुने, शरीर कमजोर हुने, खान मन नलाग्नेजस्ता क्यान्सरका लक्षण हुन् ।
पाइल्सजस्तो रोग देखिए पनि यस्ता लक्षण भएको खण्डमा क्यान्सर हो कि भनेर स्वास्थ्य परीक्षण गर्न जरुरी हुन्छ । तर सबै पाइल्स क्यान्सर हुँदैन । पाइल्स हुँदा क्यान्सर हो कि भनेर डराउनुपर्दैन । तर यस्तो लक्षण देखा परेको खण्डमा भने क्यान्सर हुनसक्छ र क्यान्सरको चिकित्सककहाँ जान अपरिहार्य छ । शुरुको अवस्थामा पाइल्स नै भए पनि यसको उपचार राम्रोसँग नभएमा क्यान्सर हुनसक्छ ।