स्वास्थ्य स्वयंसेविकाहरु स्वास्थ्य क्षेत्रका मेरुदण्ड हुन्

    • स्वास्थ्य पेज

  • २० मंसिर २०८१, बिहीबार

नेपालगन्जः हरेक वर्ष पाँच डिसेम्बरमा पर्ने अन्तर्राष्ट्रिय स्वयंसेविका दिवसको दिनलाई नै नेपालमा राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसका रूपमा मनाउने गरिएको छ । २१ औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस २० मंसिर अर्थात् ५ डिसेम्बरमा मनाइन्छ । यस दिवसलाई खासगरी महिला स्वास्थ्य स्वयंसेविकाको कदर र मनोबल उच्च राख्ने उद्देश्यका रूपमा मनाउने गरिएको भए तापनि प्रत्येक वर्ष मनाइने यस्ता दिवसले महिला स्वास्थ्य स्वयंसेविकाको कामको कदर र सम्मानमा के भूमिका खेल्दै आइरहेको छ भन्ने प्रश्न जहाँको त्यहीँ नै छ । महिला स्वास्थ्य स्वयंसेविकाहरू नेपालको स्वास्थ्य क्षेत्रको मेरुदण्ड हुन् ।

उनीहरूले आफूले काम गरिरहेको समुदाय र नेपालको स्वास्थ्य प्रणालीलाई जोड्ने पुलको काम गरिरहेको राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारुले बताइन् । २१ औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा गाउँपालिकामा आयोजित कार्यक्रममा उनले सामान्यभन्दा सामान्य रोगको उपचार नपाएर दीर्घकालीन रूपमा रोगी बनेर बस्न र ज्यानै गुमाउन बाध्य समुदायमा महिला स्वयंसेविकाले निकै महत्वपूर्ण काम गरिरहेका बताइन् ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर एरीको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै उनले महिलाले स्वास्थ्य स्वयंसेविकाका रूपमा स्वास्थ्य सेवा प्रदान गरिरहेको उल्लेख गरिन् । चिकित्सकको सहरकेन्द्रित मानसिकताले गर्दा गाउँघरका कयौँ स्वास्थ्य संस्था चिकित्सकविहीन छन् भने भएका अन्य स्वास्थ्य कर्मचारीले पनि बिरामीलाई राम्रो सेवा दिन नसकिरहेको अवस्थामा स्वास्थ्य स्वयंसेविकाको भूमिका उल्लेख्य रूपमा सह्राहनीय रहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत एडीले बताए ।

वडा अध्यक्ष राम लखन थारुको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले गरेका थिए । दिवसकै अवसरमा वडा नं. १, ६ र ७ मा पनि बि–ग्रुपको आर्थिक सहयोगमा पोषण परियोजना अन्तर्गत कार्यक्रम गरिएको शाखा प्रमुख केसीले जानकारी दिए । राप्तीसोनारीमा ११० जना स्वमसेविका छन् । पालिकाले महिला स्वास्थ्य स्वयंसेविकाको प्रोत्साहनका लागि मासिक बैठक भत्तामा थप दुई हजार रुपैयाँ प्रदान गरेको छ । यसैगरी महिला स्वास्थ्य स्वयंसेविकाहरुको बीमाको प्रिमियर पनि पालिका आफैले तिरिदिने गरेको केसीले बताए । उनका अनुसार पोषाक भत्ता पनि पालिकाले प्रदान गर्दै आएको छ ।

  • २० मंसिर २०८१, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech