नेपालगन्जः केही सातायता नेपालगन्जसहित देशभरनै वायु प्रदूषणको मात्रा बढेको छ । सवारीसाधन, निर्माणकार्यबाट उत्पन्न हुने र सडकबाट उड्ने धुलो, कलकारखाना तथा धान भित्र्याइसकेपछि खेतवारीमा लगाइने डढेलोबाट निस्किने धुवाँका कारण प्रदूषणको मात्रा बढेको छ । प्रायः मंसिरदेखि जेठसम्म वायु प्रदूषण उच्च देखिने गरेको छ ।
तराईतिर चिसो बढ्दै जाँदा न्यानो हुनका लागि काठ दाउरामात्रै नभइ प्लास्टिक तथा टायर बालेरसमेत आगो ताप्ने गरिन्छ । यसरी आगो बाल्दा निस्कने धुवाँले वायु प्रदूषण बढाउने काम गर्दछ । कतिपय ठाउँमा फोहोरसमेत जलाउने गरिन्छ । यसले वायु प्रदूषण बढाउन महत्वपूर्ण भूमिका खेल्दछ । नेपालगन्जमा भने उद्योगधन्दा, कलकारखाना, सवारी साधनबाट निस्कने हानिकारक धुवाँले वायु प्रदूषण निम्त्याउने गरेको छ । त्यसका अतिरिक्त सहरी क्षेत्रमा बढ्दो विकास–निर्माणका क्रियाकलापले पनि प्रदूषणलाई बढावा दिन्छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को प्रतिवेदन अनुसार प्रदूषित हावाका कारण प्रत्येक वर्ष ७० लाख मानिसको मृत्यु हुने गरेको छ । विगत ३० वर्षमा वायु प्रदूषणका कारण स्वास्थ्यमा धेरै घातक असर देखिएको छ । वायु प्रदूषणले सामान्यदेखि जटिलसम्मका स्वास्थ्य समस्या देखा परिरहेका छन् । प्रदूषित वायुमा कार्बन मोनोअक्साइड, ओजन, नाइट्रोजन डाइअक्साइड र सल्फर डाइअक्साइड जस्ता हानिकारक सूक्ष्म कण समेत समावेश हुन्छन् । जसले मानिस, जनावर र वनस्पतिमा हानिकारक प्रभाव पार्छ ।
डब्ल्यूएचओका अनुसार वायुमा हुने ‘पार्टिक्युलेट म्याटर’ र अन्य प्रदूषक तत्वले श्वासनली र फोक्सोमा सुजन गराउँदै प्रतिरक्षा प्रणाली कमजोर पार्छ । र, रगतको अक्सिजन बोक्ने क्षमतालाई कमजोर पार्छ । वायु प्रदूषण बर्खामा कम र जाडोमा बढी हुन्छ । बढ्दो वायु प्रदूषणले वातावरणसँगै मानिसको स्वास्थ्यमा पनि उत्तिकै असर गर्छ ।
वायु प्रदूषणले विशेषरी फोक्सोमा असर गर्ने छातिरोग विशेषज्ञ डा सुभाष योगीले बताए । चिसोमा वायु प्रदूषण बढ्ने भएकाले श्वासप्रश्वास सम्बन्धी रोगका बिरामी बढ्ने गरेको उनी बताउँछन् । नेपालगन्ज मेडिकल कलेजमा कार्यरत फिजिसियन समेत रहेका छातिरोग विशेषज्ञ डा योगीका अनुसार स्वास्थ्यमा प्रभाव पार्ने विभिन्न तत्वहरु हावामा मिसियो भने वायु प्रदूषण हुन्छ । वायु प्रदूषणले शरीरका सबै अंगमा असर गर्छ । तर विशेषगरी फोक्सोमा असर गर्ने उनको भनाइ छ । दीर्घ श्वासप्रश्वास रोग, फोक्सोको क्यान्सर, फोक्सो सम्बन्धी संक्रमणको कारक वायु प्रदूषण हुने उनको भनाइ छ ।
‘प्रदूषणले तत्कालीन र दीर्घकालीन रूपमा विभिन्न प्रकारको स्वास्थ्य समस्या निम्ताउँछ उनी भन्छन्–‘वायु प्रदूषणले सबैभन्दा पहिले त श्वासप्रश्वास प्रणालीका अंगहरु नाक, मुख, घाँटी, श्वासप्रश्वास नली र फोक्सोमा असर गर्छ । जसले निमोनिया, दम र फोक्सोको क्यान्सर जस्ता समस्या निम्तिन सक्छ ।’
प्रदूषणको कारण तत्कालीन रूपमा नाक बन्द हुने, घाँटी खसखस गर्ने, खोकी लाग्ने, आँखामा संक्रमण हुने, छाला सुख्खा हुने र फोक्सोको इन्फेक्सन जस्ता समस्या देखा पर्ने योगी बताउँछन् । ‘वायु प्रदूषणलाई ‘साइलेन्स किलर’का रूपमा लिइन्छ । प्रदूषणका कारण घाम मधुरो लाग्दा हाम्रो शरीरले भिटामिन ‘डी’ पर्याप्त मात्रामा पाउँदैन ।
बीचमा रहेको वायुमण्डलमा धुलोधुँवा जम्मा भएर बादलजस्तो बनेको कारण धर्तीमा सूर्यको प्रकाश प्रष्ट पर्दैन । जसको कारण हाम्रो रोग प्रतिरोधात्मक क्षमतामा कमी आउँछ र छिटोछिटो बिरामी हुन्छौँ’– डा. योगीले भने । पछिल्लो समय भिटामिन ‘डी’ को कमी भएका बिरामीहरु अस्पताल आउनेक्रम बढेको उनले बताए ।
डा योगी वायु प्रदूषणबाट सबैजना जोगिनुपर्ने बताउँछन् । प्रदूषित हावाबाट बच्नका लागि सकेसम्म घरबाट बाहिर ननिस्कन र निस्किँदा पनि नियमित रूपमा मास्क लगाउन उनले सुझाव दिन्छन् । योगी भन्छन्–‘प्रदूषण बढेका बेलामा हामीले विशेष ध्यान दिनुपर्छ र नियमित रूपमा मास्क लगाउने तथा चस्मा लगाउने गर्नुपर्छ ।’
डा योगी व्यक्ति आफूले सचेत हुनुका साथै राज्यले पनि यसलाई जनस्वास्थ्यको गम्भीर समस्याका रूपमा लिनुपर्ने सुझाव दिन्छन् । ‘राज्यले सडकहरू मर्मतदेखि प्रदूषण धेरै गर्ने सवारीसाधनहरूलाई कारबाही गर्नेसम्मका काम गर्नुपर्छ’–उनी भन्छन् ।