फत्तेवाल आँखा अस्पतालका कर्निया विशेषज्ञ डा.राजशी श्रेष्ठ सम्मानित

    • समिरमान श्रेष्ठ

  • १८ मंसिर २०८१, मंगलवार

नेपालगन्ज: फत्तेवाल आँखा अस्पतालका कर्निया विशेषज्ञ (आँखाको नानी रोग) डा.राजशी श्रेष्ठ सम्मानित भएकि छिन् ।

आईतबार काठमाडौं स्थित तिलगंगा आँखा अस्पतालमा रहेको आई बैंकमा आयोजित एक कार्यक्रममा जुन २०२३ बाट अक्टोबर २०२४ सम्म  सबैभन्दा धेरै सर्जरी गरेका चिकित्सकहरुलाई सम्मान गर्ने क्रममा नेपालगन्ज स्थित फत्तेवाल आँखा अस्पतालमा कार्यरत कर्निया विशेषज्ञ डा.श्रेष्ठलाई सम्मान गरिएको हो ।

लाहानमा रहेको सगरमाथा चौधरी आँखा अस्पताल र बिराटनगर आँखा अस्पतालमा कार्यरत कर्निया विशेषज्ञहरुलाई समेत उक्त कार्यक्रममा सम्मान गरिएको छ । लाहान र विराटनगरका आँखा अस्पतालमा दुई-दुई जना कर्निया विशेषज्ञहरुले क्रमश ३२० र १८७ सर्जरी गरेर सम्मानित भएको बताईएको छ । गत जुलाईबाट मात्र कर्निया सर्जरी सुरु भएको फत्तेवाल आँखा अस्पतालमा भने अक्टोबर २०२४ सम्म १४७ वटा कर्निया सर्जरी भएको छ ।

फत्तेवाल आँखा अस्पतालका कर्निया विशेषज्ञ डा. राजशी श्रेष्ठ

अस्पतालका कर्निया विशेषज्ञ डा.राजशीको नेतृत्वमा त्यी सबै सर्जरी सम्पन्न भएका हुन् । यसअघि नेपालगन्जमा कर्नियाको सर्जरी सेवा थिएन । फत्तेवाल आँखा अस्पतालमा डा.राजशीले यो सेवाको सुरुवात गरेकी हुन् । उनले आफ्नै नेतृत्वमा १४७ बढी आँखाको नानी प्रत्यारोपण गरिएको भन्दै सेवा प्रभावकारी भईरहेको समेत जानकारी दिईन् ।

अस्पतालमा नानी प्रत्यारोपणका लागि नेपालबाट मात्र नभई भारतबाट समेत बिरामीहरु आउँने गरेको उनले बताईन् । क्यामिकल इन्जुरीका कारण आउने बिरामीहरुको कर्नियाको सर्जरी लगायत कर्नियाको धेरै प्रकारका सर्जरी सेवाहरु अस्पतालले प्रदान गरिरहेको छ ।

के हो आँखाको नानी प्रत्यारोपण, किन गरिन्छ ?

मानिसको मृत्यु भएको ६ घण्टाभित्र विशेषज्ञद्वारा आँखाको परीक्षण गरि आँखाको पुरै डल्लो नभई आँखाको नानी झिकिन्छ । यसरी झिकिएको नानी विशेष प्रयोगशालामा राखिन्छ र निश्चित समय वा २ हप्ताभित्र आवश्यक व्यक्तिलाई प्रत्यारोपण गर्नुलाईनै आँखाको नानी प्रत्यारोपण भनिन्छ ।

आँखा दानका बारेमा धेरैमा भ्रम छ। आँखा दान गर्ने भनेको आँखाको डल्लै दान गर्ने होइन। आँखाको कालो भागलाई ढाक्ने पारदर्शी भाग अर्थात् नानी प्रत्यारोपण गर्ने हो। मृत्यु भएको मानिसको कर्निया निकालेर अर्को मानिसमा प्रत्यारोपण गर्न सकिन्छ। नेपालका धेरै आँखा अस्पतालमा कर्निया प्रत्यारोपण हुन्छ। नेपालमा कर्निया दान गर्ने व्यवस्था छ भने तिलगंगा आँखा प्रतिष्ठानमा आई बैंक समेत सञ्चालन भइरहेको छ।

शरीरबाट कर्निया झिकेर दृष्टि गुमाएकाहरूलाई उपचार गर्न सकिने भएको हुँदा आँखा दान प्रति रहेका भ्रम चिर्दै आफु पनि आँखा दान गर्नु र अरुलाई पनि आँखा दान गर्न प्रोत्साहन गर्न डा.श्रेष्ठले सबैमा आग्रह समेत गरेकि छिन् ।

  • १८ मंसिर २०८१, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech