नर्सहरुका लागि विस्तृत क्रिटिकल केयर कोर्स

    • स्वास्थ्य पेज

  • १७ मंसिर २०८१, सोमबार

नेपालगन्ज: वेस्टर्न हस्पिटल नेपालगन्जले विस्तृत क्रिटिकल केयर कोर्सको औपचारिक सुरुवात गरेको छ। क्रिटिकल केयर नर्स एसोसिएसन अफ नेपालसँगको सहकार्यमा कोर्सको सुरुवात गरेको अस्पतालले जनाएको हो । क्रिटिकल केयरका क्षेत्रमा कार्यरत नर्सहरूको सीप र दक्षतालाई बढाई बिरामीहरूलाई विश्वस्तरीय हेरचाह उपलब्ध गराउन सक्षम बनाउने उद्देश्यले पाँच हप्ते प्रशिक्षण कार्यक्रमको सुरुवात गरिएको प्रशासनले बताएको हो ।

नेपाल मेडिकल एसोसियसन भेरी शाखा नेपालगन्जका अध्यक्ष डा.बिनोद थापा, वेस्टर्न हस्पिटलका अध्यक्ष तथा वरिष्ठ प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा.कल्पना थापा, क्रिटिकल केयर नर्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष कबिता सिटौला र सह-कोषाध्यक्ष बरुणा पौडेलले कार्यक्रमको संयुक्त रुपमा उद्घाटान गरेका हुन् ।

कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपाल मेडिकल एसोसियसन भेरी शाखा नेपालगन्जका अध्यक्ष तथा पश्चिम नेपालका चर्चित अर्थोपेडिक्स सर्जन डा.बिनोद थापाले आयोजित प्रशिक्षण कार्यक्रम यस क्षेत्रकै क्रिटिकल केयर सेवालाई मजबुत बनाउन महत्वपुर्ण रहेको उल्लेख गरे । क्रिटिकल केयर नर्स एसोसिएसन अफ नेपालसँगको सहकार्यबाट, नर्सहरूलाई उच्च दबावको वातावरणमा समेत उत्कृष्टता हासिल गर्न आवश्यक उपकरण र आत्मविश्वास प्रदान गर्न चाहको स्पष्ट पारे । यसले धेरैको जीवन बचाउन मद्दत गर्ने उनको विश्वास छ ।

क्रिटिकल केयर नर्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष कबिता सिटौलाले क्रिटिकल केयर कोर्सको उद्देश्य आफुहरुसँग मेल खाने र नेपालको सम्पूर्ण नर्सिङ मापदण्डलाई सुधार गर्न योगदान पुर्याउँने भएको हुँदा पहिलो पटक यस प्रकारको विशेष कार्यक्रम नेपालको पश्चिमी क्षेत्रमा आयोजना गरिएको बताईन् । यसले नर्सहरूलाई क्रिटिकल केयरका चुनौतीहरूको सामना गर्न सक्षम बनाउँने र अन्ततः बिरामीको परिणाम सुधार गर्ने अपेक्षा उनको छ ।कार्यक्रमले सैद्धान्तिक ज्ञान, व्यावहारिक प्रशिक्षण, र केस आधारित सिकाइको समन्वय गरी गहन पाठ्यक्रम प्रदान गर्नेछ।

सहभागीहरूले जटिल क्रिटिकल केयर केसहरूको व्यवस्थापन, अत्याधुनिक उपकरणहरूको प्रयोग, र प्रमाण आधारित अभ्यासबाट बिरामीको स्वास्थ्य सुधार गर्ने विशेषज्ञता प्राप्त गर्ने अस्पतालले जनाएको छ । कार्यक्रमले प्रमाणमा आधारित अभ्यासमार्फत नर्सहरूलाई सशक्त बनाउन र स्वास्थ्य सेवा क्षेत्रमा बलियो जनशक्ति निर्माण गर्न महत्वपुर्ण भुमिका खेल्ने विश्वास गरिएको छ ।

कोर्सको सुरुवात कार्यक्रममा वरिष्ठ सर्जन डा.रूपानन्द अधिकारी, वरिष्ठ अर्थोपेडिक्स सर्जन डा.किरण गुरुङ, एनेस्थेसियोलोजिष्ट डा.पारस पाण्डे, ईएनटी सर्जन डा.रवि स्वार, यूरो सर्जन डा.प्रबिन गुप्ता, प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा.एलिश श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

 

 

  • १७ मंसिर २०८१, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech