नेपालगन्ज: बाँकेमा आर्थिक वर्ष २०८०/०८१ मा १०१ जना एचआईभी संक्रमित फेला परेका छन् । १० हजार ७ सय ५९ जनामा परिक्षण गर्दा १०१ जनामा एचआईभी संक्रमण देखिएको स्वास्थ्य कार्यालय बाँकेका एचआईभी फोकल पर्सन रविन्द्र साहले बताए ।
विश्व एड्स दिवसको पूर्वसन्ध्यामा आज नेपालगन्जमा आयोजित पत्रकारहरुसंगको अन्तरक्रियामा फोकल पर्सन साहले आर्थिक वर्ष २०७९/०८० मा १७ हजार ३ सय २८ जनामा परिक्षण गर्दा १०९ जनामा संक्रमण देखिएको जानकारी दिए । संक्रमितहरुले भेरी अस्पतालबाट एआरटी सेवा लिदै आएका छन् । भेरीको एआरटी सेन्टरबाट अहिले ५ सय ८८ जनाले नियमित सेवा लिरहेको छन् ।
आर्थिक वर्ष २०८०/०८१ मा ७९ जना एआरटी सेवा लिने थपिएको उनले बताए । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्यांकअनुसार सन् २०२३ सम्म नेपालमा ३० हजार ३ सय एचआईभी संक्रमित रहेको उल्लेख छ । भेरी अस्पतालमा सन् २००४ बाट एआरटी कार्यक्रम सुरु भएको एआरटी काउन्सिलर इन्द्र सैनीले बताए । हालसम्म यो सेन्टरबाट १ हजार ७ सय १२ जनाले सेवा लिएका छन् । भेरी अस्पतालबाट संक्रमित ७ जना आमाले नेगेटिभ स्वस्थ बच्चा जन्माएका छन् ।
एड्स हेल्थ फाउन्डेसनका कार्यक्रम संयोजक संजयकुमार पौडेलले फाउन्डेसनले एचआईभी संक्रमितहरुको प्रभावकारी उपचार र रोकथामका सवालमा काम गर्दै आएको बताए । फाउन्डेसनले भेरी अस्पतालको एआरटी सेन्टरमा सन् २०१७ जुलाइदेखी काम गर्दै आएको छ । कार्यक्रममा भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन तथा एचआईभी फोकल पर्सन डा संकेत रिसालले एचआईभीको अवस्था, यसका लक्षण चिन्ह, जोगिने उपाय र सचेतनाका सवालबारे जानकारी गराएका थिए ।
सो अवसरमा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगत बहादुर शाहीले एड्स अन्त्यका लागि सचेतना अझै पनि जरुरी रहेको बताए । यस्तै नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले पछिल्लो समय एचआईभीको मुद्दा कमजोर भैरहेको बताए । उनले सरकारको प्राथमिकतामानै एचआईभीको मुद्दा नपरेको बताए । तीन तहको सरकार भएपनि संघीय र प्रदेश सरकारले एचआईभीको क्षेत्रमा बजेटनै नछुट्याएको बताए ।
‘एड्स अन्त्यको लागि सबैको अधिकार सुनिश्चित गरौं’ भन्ने नाराका साथ भोलि ३७ औं विश्व एड्स दिवस मनाइँदैछ ।
कार्यक्रममा कैद भएका तस्बिरहरु