काठमाडौं: सुस्मा कोइराला मेमोरियल अस्पताललाई जलन अस्पतालको रुपमा विकास गरिन लागेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जानकारी दिएका छन् ।बिहीबार आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले सरकारले पछिल्लो समय जलन उपचारलाई प्राथमिकता दिएर काम गरिरहेको बताएका हुन् ।
काठमाडौँको शङ्खरापुर नगरपालिकास्थित साँखुमा रहेको अस्पतालका संस्थापक देशीय निर्देशक हाइन स्टालको बिदाइ तथा नयाँ देशीय निर्देशक अल्बर्ट बेन्जिनको स्वागतमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
सरकारले भर्खरै देशभरका आठ अस्पताललाई जलन उपचार गर्न सकिने अस्पतालका रुपमा घोषणा गरेको र यसमा सुस्मा कोइराला अस्पताललाई समेत थप गरेर अगाडि बढ्न सकिने मन्त्री पौडेलको भनाई थियो । जलनको उपचारका लागि नेपालकै पहिलो अस्पतालका रुपमा विस २०५४ सालमा सुस्मा कोइराला मेमोरियल अस्पतालको स्थापना गरिएको थियो ।
अस्पतालले स्थापना कालदेखि हालसम्म आइपुग्दा चार लाख ८३ हजार २२ जनाको उपचार गर्नुका साथै ३२ हजार ८६४ जनाको शल्यक्रिया सम्पन्न गरेको छ । जर्मनी सहयोगमा सञ्चालित उक्त अस्पतालले हालसम्म १५ हजार ३७५ जनाको निःशुल्क उपचारसमेत गरिसकेको छ । आठ जना डाक्टर तथा कर्मचारीबाट सुरु भएको उक्त अस्पतालमा हाल १०० कर्मचारी कार्यरत रहेको अस्पतालका प्रशासन प्रमुख प्रफुल्ल शर्माले जानकारी दिए ।