सडकमा जथाभावी स्वास्थ्यजन्य फोहोर फाल्ने अंकित मेडिकललाई ठाउँका ठाउँ जरिवाना 

    • स्वास्थ्य पेज

  • ११ मंसिर २०८१, मंगलवार

नेपालगन्ज: नेपालगन्ज उपमहानगरपालिकाले जथाभावी स्वास्थ्यजन्य फोहोर फल्नेमाथी निगरानी बढाएको छ । निगरानीसंगै उपमहानगरपालिकाले सचेत पार्ने र अटेरी गर्नेलाई कार्वाही समेत गर्दै आएको छ ।

यसैक्रममा अंकित मेडिकल हल अल्ट्रासाउन्डले जथाभावी स्वास्थ्यजन्य फोहोर सडकमा फालेको नेपालगन्ज उपमहानगरपालिकाको अनुगमन टोलिले फेला पारेको छ । नगर प्रमुख प्रशान्त विष्ट सहितको अनुगमन टोलिले अंकितले मेडिकलबाट निस्कने स्वास्थ्यजन्य फोहोर  सडकमै फालेको फेला पारेको हो ।

नेपालगन्ज उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापन सम्बन्धी ऐन अन्तर्गत अंकितलाई ५ हजार जरिवाना गरिएको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए । `अंकितले स्वास्थ्यजन्य फोहोर सडकमा फालेको अनुगमन टोलिले फेला पारेपछि ठाउँका ठाउँ कार्वाही गरिएको हो´  चन्दले भने ।

चन्दका अनुसार स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका लागि   नेपालगन्ज उपमहानगरपालिका-२३ मा स्वास्थ्यजन्य फोहोर प्रशोधन केन्द्र स्थापना गरिएको छ । दुई वर्ष अघि स्थापना गरिएको यो केन्द्रमा नेपालगन्ज उपमहानगरपालिकाका सरकारी अस्पताल तथा स्वास्थ्य संस्था, निजि अस्पताल तथा मेडिकलहरुबाट निस्कने स्वास्थ्यजन्य फोहोर संकलन, प्रशोधन र बिसर्जन हुँदै आएको छ ।

त्यसमा नेपालगन्ज उपमहानगरपालिकाका सबै वडाका स्वास्थ्य संस्था यसमा आवद्ध भएका छन् । नेपालगन्जका अन्य सरकारी तथा निजि मेडिकलहरु पनि आवद्ध भएका छन् । अहिलेसम्म १०७ वटा संस्था आवद्ध भएका छन् । यसमा आवद्ध भएका संस्थाबाट निस्कने स्वास्थ्यजन्य फोहोर संकलनका लागि संस्थालाई नै जिम्मेवारी दिइएको छ । मंगलबार कार्वाहीमा परेको अंकित मेडिकल हललाई पनि उक्त संस्थामा आवद्ध गरिएको छ । अन्य स्वास्थ्य संस्थालाई पनि आवद्ध हुन उनले आग्रह गरे । नगर क्षेत्रमा जथाभावी स्वास्थ्यजन्य फोहोर फाल्नेलाई यस अघि पनि उपमहानगरपालिकाले कार्वाही गर्दै आएको छ ।

घर तथा व्यावसायबाट निस्क्ने फोहोर व्यवस्थापनका लागि सबैको सहयोग महत्त्वपूर्ण हुने भएकाले नागरिकहरु पनि सचेत हुनुपर्ने नगर प्रमुख विष्टले बताए । उनले भने-`नगरलाई स्वस्थ र सरसफाइयुक्त बनाउन प्रत्येक नागरिक सचेत हुनुपर्छ । जनप्रतिनिधिले मात्रै गरेर हुँदैन ।´

फोहोर मैला सार्वजनिक स्थानमा फाल्नेलाई पहिलो पटक चेतावनी दिने गरिएको र फेरि पनि उस्तै कार्य गरेको पाइएमा  ५ सय रुपैयाँदेखि १० हजार रुपैयाँसम्म जरिवाना  गर्ने गरिएको महाशाखा प्रमुख चन्दले बताए  । मंगलबारको अनुगमनमा नगर प्रमुख विष्ट, महाशाखा प्रमुख चन्द, फार्मेसी अधिकृत डा अस्मित आचार्य, नगर प्रहरी प्रमुख सुर्य बोगटीलगायतको सहभागिता रहेको थियो।

त्यसैगरी फोहोर वर्गीकरण नगर्नेलाई पनि त्यहीअनुसारको कार्वाही गर्ने गरिएको छ । वर्गीकरण नगरी फोहोर फाल्नेलाई एक हजारदेखि ५ हजार रुपैयाँसम्म जरिवाना तिर्नु पर्ने ऐनमा उल्लेख छ ।

यसैगरी सार्वजनिक सरसफाइमा बाधा पुर्‍याउनेलाई पनि जरिवानाको व्यवस्था गरिएको छ ।   सार्वजनिक स्थानमा धूलो, धुँवा, वा फोहोर फाल्ने कार्य गरेमा एक हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ ।

फोहोरमैला व्यवस्थापन नियम उल्लङ्घन गर्ने व्यवसायलाई ५ हजारदेखि ५० हजर रुपैयाँसम्म जम्मा, निर्धारित समयभन्दा बाहिर फोहोर निकाल्ने वा अन्यत्र राख्नेलाई  पहिलो पटक ५ सय र बारम्बार गरेमा ५ हजार  रुपैयाँसम्म जरिवाना गरिने उल्लेख छ ।

  • ११ मंसिर २०८१, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech