नेपालगन्ज : बाँकेको खजुरामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । नेपाल नेत्रज्योति संघ, फत्तेबाल आँखा अस्पताल फुल्टेक्रा नेपालगन्ज, खजुरा गाउँपालिका स्वास्थ्य शाखा र रुइत फाउण्डेशन काठमाडौंको संयुक्त सहकार्यमा पहिलो दिन दुई वटा वडामा शिविर सञ्चालन गरिएको थियो ।
वडा नम्बर १ र २ मा रहेको राधापुर र सितापुर स्वास्थ्य चौकीमा सञ्चालन गरिएको आँखा शिविरमा ३५१ जना बिरामीको निःशुल्क आँखा परिक्षण गरिएको हो । त्यसमध्य ७३ जना मोतिविन्दुका विरामीहरुको निःशुल्क आँखा अप्रेशनको लागि रिफर गरिएको थियो ।
राधापुर स्वास्थ्य चौकीमा परिक्षण गराउने १३६ रहेको र त्यसमा २५ जनालाई मोतिबिन्दु भएको पत्ता लागेको थियो । वडा नम्बर २ मा रहेको सितापुर स्वास्थ चौकीमा गरिएको आँखा परिक्षणमा २१५ जना विरामी रहेकोमा ४८ जनालाई मोतिबिन्दु रहेको पाइएको नेत्र अधिकृत छन्दुलाल थारुले जानकारी दिए ।
सितापुर स्वास्थ्य चौकीमा नेत्र अधिकृत थारु सगैं नेत्र सहायक सुनयना थारु, परिशिक्षार्थी संगीता योगी र संगीता ओली खटिएका थिए । त्यस्तै, वडा नम्बर १ मा रहेको राधापुर स्वास्थ्य चौकीमा सञ्चालित आँखा शिविरमा नेत्र अधिकृत उमेर सादिक, नेत्र सहायक पुजा महतो, परिशिक्षार्थी सलिना थारु र समिक्षा थारु खटिएका थिए ।
आँखा शिविरमा निशुल्क चेकजाँच सगैं औषधि पनि बिरामिहरुले निशुल्क रुपमै प्राप्त गरेका थिए । आर्थिक अवस्था नाजुक भएकै कारण आफ्नो आँखाको मोतिबिन्दुको उपचार गराउन नसकेकाहरु शिविर मार्फत निशुल्क रुपमा अप्रेशन हुने भएपछि हर्षित भएका छन । खजुरामा सोमबार वडा नम्बर ३ र ४ मा रहेको स्वास्थ्य चौकीमा निःशुल्क आँखा स्वास्थ्य शिविर सञ्चालन हुने जनाइएको छ ।