नेपालगन्जमा मातृ मृत्युदरको अवस्था चिन्ताजनक

    • स्वास्थ्य पेज

  • ६ मंसिर २०८१, बिहीबार

नेपालगन्ज: नेपालगन्ज स्वास्थ्य सेवाका दृष्टिकोणले सुविधायुक्त सहर, बर्थिंग सेन्टरदेखि ठूला अस्पतालसम्मको उपलब्धता तर मातृ मृत्युदरको अवस्था चिन्ताजनक । यो यथार्थले नेपालगन्जलाई सताइरहेको छ । अपेक्षाकृतरुपमा मातृ मृत्युदर नघटेपछि सरोकारवाला चिन्तित छन् । लुम्बिनीमै बाँकेमा मातृ मृत्युदर उच्च छ । बाँकेमा पनि सदरमुकाम नेपालगन्जको ग्राफ अझ माथि देखिन्छ ।

नेपालगन्जमा बढ्दो मातृ मृत्युदर घटाउनु चुनौतिपूर्ण देखिएको छ । नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाले बढ्दो मातृ मृत्युदर घटाउने मुद्दालाई प्रमुख प्राथमिकतामा राख्दै सचेतना प्रबद्र्धनदेखि प्रोत्साहनसम्मका कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।

यसैक्रममा स्वास्थ्य महाशाखाले नगरमा रहेका पाँच वटा बर्थिंग सेन्टरको निरीक्षणसंगै सरोकारवालाबीच अन्तरक्रियात्मक छलफल कार्यक्रम गरेको छ । स्थानीय सरकार र प्रेषण केन्द्र (रेफरल सेन्टर) बीच समन्वय अभिबृद्धि गर्दै मातृ मृत्युदरको ग्राफ कसरी घटाउन सकिन्छ भन्ने विषयमा मन्थन गरेको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए ।

नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर १३, १४, १७, २० र २२ मा बर्थिंग सेन्टर सञ्चालन गरिएका छन् । बर्थिंग सेन्टरको प्रेषण केन्द्रका रुपमा रहेका भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका प्रसूति वार्डका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थितिमा बर्थिंग सेन्टर निरीक्षण गरिएको हो ।

बीग्रुप र लुथरन वर्ल्ड रिलिफको संयुक्त आयोजनामा स्थानीय परियोजना समिति अनुगमन र वैठक सम्पन्न भएको हो । यी संस्थाले बर्थिंग सेन्टरहरुमा प्राविधिक सहयोग (उपकरणसहित) गर्दै आएका छन् ।

नगर उपप्रमुख कमरुद्दिन राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सरोकारवालाले मातृ मृत्युदर चुनौतिको विषय बनेको भन्दै सबै गम्भीर हुनुपर्नेमा जोड दिएका थिए । बर्थिंग सेन्टर र रेफरल सेन्टरबीच प्रभावकारी समन्वयमा जोड दिइएको छ । उपप्रमुख राईले सबै मिलेर यो विषयलाई समाधान गर्न सकिने बताए ।

सचेतना प्रबद्र्धन, नियमित गर्भ जाँचका लागि प्ररित गर्ने, प्रोत्साहन गर्ने, बर्थिंग सेन्टरमा प्रभावकारी सेवा दिने, रेफरल सेन्टरले पनि ‘क्विक रेस्पोन्स’ र समन्वयमा चासो दिने हो भने धेरै हदसम्म समस्या समाधान हुने उनको भनाइ छ  ।

राईले गर्भवती महिलालाई प्रसुतिका बेला अस्पताल पुग्न सहज गराउने उद्देश्यले नेपालगञ्ज उपमहानगरपालिका एम्बुलेन्स खरिद गर्ने योजनामा रहेको बताए । मातृशिशु मृत्युदर घटाउन नेपालगन्ज उपमहानगरपालिका गम्भीर रहेको उनको भनाइ छ ।

वडा नम्बर २० का वडा अध्यक्ष कौशलकुमार धोबीले प्राविधिक र व्यवस्थापकीय रुपमा धेरै विषयमा अझै समस्या रहेको भन्दै ती जटिलतालाई सहज बनाउन सके अपेक्षित उपलब्धि हासिल हुने बताए ।

भेरी अस्पताल नेपालगन्जका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. निराजन सुवेदीले प्रसूति सेवालाई अझ सहज र प्रभावकारी बनाउन भेरी अस्पताल प्रयासरत रहेको बताए । नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठले सुरक्षित सुत्केरी गराउन भेरीले सक्दो कोशिस गरिरहेको बताइन् ।

स्वास्थ्य कार्यालय बाँकेकी विष्णु श्रेष्ठले नेपालगन्जमा मातृ मृत्युदर चिन्ताजनक अवस्थामा रहेको बताइन्  । श्रेष्ठले गत बर्ष नेपालगञ्जमा ७ जनाको मृत्यु भएकोमा अहिले चार महिनामै ४ जनाको मृत्यु भइसकेको बताइन्  । कार्यक्रममा बीग्रुपले आफ्ना हालसम्मका गतिविधि र उपलब्धिबारे जानकारी गराएको थियो ।

स्वास्थ्य महाशाखा प्रमुख चन्दले अन्तरक्रियाबाट सरोकारवालाहरुबीच समन्वय र सहकार्यलाई अझ व्यवस्थित र प्रभावकारी बनाएर लैजान सकिए मातृ मत्युदर अपेक्षितरुपमा घटाउन सकिने निष्कर्ष निकालिएको बताए । चन्दले घरमै सुत्केरी हुनेको संख्या धेरै हुनु, सुत्केरी गराउन समयमै स्वास्थ्य संस्था नपुग्नु, नियमित गर्भ जाँच नगराउनु मुख्य समस्या रहेको बताए । चन्दका अनुसार नेपालगन्ज उपमहानगरपालिकाले गर्भवती महिलालाई नियमित चेकजाँचका लागि समयमै उपस्थित गराउन यसै आर्थिक वर्षदेखि एसएमएस प्रणाली लागू गर्ने योजना बनाएको छ । एसएमएसमार्फत उनीहरुलाई नियमित चेकजाँचका लागि सूचित गरिन्छ ।

यस्तै प्रोत्साहन कार्यक्रम पनि छिट्टै लागू गरिने चन्दको भनाई छ । चन्दका अनुसार नगरमा क्रियाशील १९२ जना महिला स्वास्थ्य स्वयंसेविकाको मातहतमा गठित आमा समूहलाई पनि परिचालन गरिँदैछ  । एक जना स्वयंसेविका बराबर २० जना आमा सम्मिलित एउटा आमा समूह छ । अन्तरक्रिया कार्यक्रमको सहजीकरण नेपालगन्ज उपमहानगरपालिकाकी सिनियर अनमी निरीक्षक निर्मला खनालले गरेकि थिइन् ।

  • ६ मंसिर २०८१, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech