सीओपीडी अर्थात् क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज । यो श्वासप्रश्वास सम्बन्धी दीर्घ रोग (दम) हो । यो रोग लागिसकेपछि मानिसहरुमा श्वासप्रश्वासमा समस्या आउछ । यसले क्रमसः बिरामीको फोक्सो बिग्रार्दै लैजान्छ । पछिल्लो समय दीर्घ श्वासप्रश्वास रोगको प्रकोप नियन्त्रण गर्न चुनौतीपूर्ण बन्दै गएको छ ।
नेपालमा दम हुनुमा धुवाँ, वायु प्रदूषण, धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन र वंशाणुगत गुणहरुले प्रभाव पारिरहेको अवस्था छ । नेपालमा प्रायः दाउरामा खाना पकाउने हुनाले पनि दमको समस्या दिन प्रतिदिन बढिरहेको छ । मानिसमा दम रोग हुने प्रमुख कारण मध्ये धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन भएपनि कलकारखाना, ईट्टा उद्योग लगायतका विभिन्न श्वासप्रश्वास सम्बन्धी असुरक्षित क्षेत्र पनि प्रमुख समस्या बन्दै आएका छन् ।
मृत्युको कारण मध्ये श्वासप्रश्वास सम्बन्धी दीर्घ रोग अहिले दोस्रो कारण बनेको छ भने अस्पतालमा भर्ना हुनुपर्ने अवस्थाको सिर्जना गर्ने प्रमुख कारण पनि अहिले दम सम्वन्धी रोग बनेको छ । नेपालमा श्वासप्रश्वास सम्बन्धी दीर्घ रोगको प्रकोप ‘सुषुप्त महामारी’ बन्दै गएको छ ।
दमका लक्षण चिन्ह
छिटो—छिटो सास फेर्ने, खोकी आउने, श्वास फेर्दा छात्तीबाट घ्वार—घ्वार आवाज आउने, सास फेर्न कठिनाई हुने, हाछ्यूँ आउने, घाँटी खसखसाउने, छाती कसिने यसका प्रमुख लक्षण हुन् ।
कसरी जोगिने ?
दम रोग श्वासप्रस्वाससँग सम्बन्धित भएकाले सावधानीका उपाय पनि यसैसँग सम्बन्धित छन् । धुवाँ, धुलोलगायतका वातावरणीय प्रदूषणबाट जोगिनु पर्दछ । त्यसका लागि गुणस्तरीय मास्कको प्रयोग गर्नुपर्दछ । यसका साथै चिसोबाट जोगिनुपर्दछ । जाडो समयमा दम रोगले झन् च्याप्छ । त्यसैले घर वा कोठालाई न्यानो पार्ने, न्यानो लुगा लगाउने गर्नु पर्दछ ।
सकेसम्म चिसोबाट बच्नुपर्दछ । खाना पकाउन सुधारिएको चुलोको प्रयोग गर्ने, स्वस्थ जीवनशैली उपनाउने हो भने दमबाट जोगिन सकिन्छ । त्यसैगरी निमोनिया, इन्फुलुन्जा, कोभिड विरुद्धका खोपहरु निर्देशिकाहरु बमोजिम लगाउने, १९ लगायतका सम्वन्धी खोप लगाउनु पर्छ । शारीरिक र मानसिक तन्दुरुस्तीमा ध्यान दिने हो भने यो बाट बच्न र बचाउन सकिन्छ ।
(भेरी अस्पताल नेपालगन्जमा कार्यरत प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. पाण्डे मेडिसिन विभाग प्रमुख पनि हुन् )