एन्टिबायोटिकको दुरुपयोग रोक्न प्रधानमन्त्री ओलीको आग्रह

    • स्वास्थ्य पेज

  • ३ मंसिर २०८१, सोमबार

नेपालगन्जः प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिजैविक प्रतिरोध (एन्टिबायोटिक) औषधीको असरलाई न्यूनीकरण गर्न (फैलावट रोक्ने) आफ्नो तहबाट सक्दो पहल गर्न सबैसँग आग्रह गरेका छन् । विश्व प्रतिजैविक सचेतना सप्ताह २०२४ को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन् ।

साथै प्रधानमन्त्री ओलीले प्रतिजैविक प्रतिरोधको बारेमा आफू र आफ्नो परिवार तथा समुदायलाई प्रशिक्षित गराउने प्रतिबद्धता गर्न अनुरोध गरे ।

सबैको संयुक्त प्रयासले मात्र यसको चुनौतीको सामना गर्न सकिने हुँदा सबै सरोकारवाला निकायलाई सहकार्य गर्न प्रधानमन्त्री ओलीले आव्हान गरे ।

“प्रतिजैविक प्रतिरोध अर्थात् सङ्क्रमणको उपचारमा प्रयोग हुने औषधीले उपचारको क्रममा आवश्यक परेको अवस्थामा प्रभावहीन हुने अवस्था हो । नेपाल प्रतिजैविक प्रतिरोधको बढ्दो समस्याबाट अछुतो छैन ।

यो समस्या मानव स्वास्थ्यको मात्र विषय नभई पशु स्वास्थ्य, कृषि, खाद्य तथा वातावरणको लागि पनि चुनौती बनिरहेको छ” उनले भने, “प्रतिजैविक प्रतिरोध मानव, पशु र कृषिमा एन्टिबायोटिकको अत्यधिक प्रयोग र दुरुपयोगसँग जोडिएको हुँदा यो समस्या न्यूनीकरण तथा रोकथाम गर्न सबै क्षेत्र र निकाय एकजुट हुन अनिवार्य भएको छ ।”

प्रतिजैविक प्रतिरोधले विश्वव्यापी रूपमा पारिरहेको असरलाई सम्बोधन गर्न ७७ औँ विश्व स्वास्थ्य सभा तथा संयुक्त राष्ट्र सङ्घको ७९ औँ महासभामा प्रतिजैविक प्रतिरोधसम्बन्धी उच्चस्तरीय बैठकमा सरकारले प्रतिबद्धता जाहेर गरेको छ ।

प्रधानमन्त्री ओलीका अनुसार यसै वर्षदेखि एक स्वास्थ्य अवधारणाअनुरूप सबै क्षेत्रबाट प्रतिजैविक प्रतिरोध सम्बोधनका लागि आवश्यक पहल गर्न सरकारले राष्ट्रिय प्रतिजैविक प्रतिरोध कार्य योजना पारित गरी लागु गरिसकेको छ ।

  • ३ मंसिर २०८१, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech