विश्व मधुमेह दिवसमा प्रभातफेरी

    • स्वास्थ्य पेज

  • २९ कार्तिक २०८१, बिहीबार

घोराहीः विश्व मधुमेह दिवसका अवसरमा दाङको घोराहीमा सचेतनामूलक ¥याली गरिएको छ । स्वास्थ्यकर्मी, जनप्रतिनिधिलगायतको सहभागितामा सचेतनामूलक प्रभातफेरी गरिएको हो । बिएस डाइग्नोस्टिक एण्ड पोलिक्लिनिक प्राइभेट लिमिटेड, नेपाल घरेलु उद्योग महासंघ दाङ र लायन्स क्लब अफ घोराही अम्बिकेश्वरीको संयुक्त आयोजनामा भएको प्रभातफेरी सहिदगेट, तुलसीपुरचोक, दामोदरचोक, बैंक रोड, हस्पिटल रोड हुँदै कार्यक्रम स्थल बिएस डाइग्नोस्टिक एण्ड पोलिक्लिनिक प्राइभेट लिमिटेडको कार्यालयमा पुगेर सकिएको थियो ।

प्रभातफेरी कार्यक्रमपछि बोल्ने वक्ताहरुले मधुमेह रोग नियन्त्रणका लागि खानपिनसँगै नियमित व्यायाम आवश्यक रहेको बताएका थिए । शरीरमा खानपिनको मात्र नमिल्दा पछिल्लो समय अधिकांशमा सुगरको अवस्था देखिएको भन्दै डा. प्रकाश सुवेदीले खानपिनसँगै नियमित एक्साइज आवश्यक रहेको बताए ।

सुगरको मात्रा बढ्दा स्वास्थ्य नै जोखिम रहने गरेको भन्दै डा. सुवेदीले मधुमेहबाट बच्नका लागि खानपिनमा ध्यान दिनुका साथै नियमित स्वास्थ्य परीक्षण आवश्यक रहेको बताए । शरीरमा सुगरको मात्र बढ्दा मृगौला, आँखा, मुटुरोगको जोखिम बढाउनुका साथै पक्षघात समेत हुने जोखिम रहेको भन्दै डा. सुवेदीले भने, ‘सुगर रोगका कारण स्वास्थ्यमा अनेक समस्या आउन सक्छन् । त्यसले सुगरलाई शरीरमा लाग्न नै नपाउने गरी ध्यान दिनुपर्छ ।’

कार्यक्रममा घोराही उपमहानगरपालिका नगरप्रमुख नरुलाल चौधरीले स्वास्थ्य नै हरेक नागरिकको महत्वपूर्ण सम्पत्रति भएकाले आफ्नो स्वास्थ्यमा ध्यान दिन आवश्यक रहेको बताए । जति धन पैसा कमाए पनि स्वास्थ्यमा समय दिइएन भने त्यो काम नलाग्ने भन्दै नगरप्रमुख चौधरीले हरेक नागरिकले दैनिक दुई घण्टा व्यक्तिगत स्वास्थ्यका लागि योग, व्यायामलगायतका शारीरिक अभ्यासका काम गर्नुपर्ने बताए ।

शारीरिक अभ्यास हुने काम नगर्ने तर मिठो मिठो खाने बानी बस्दा धेरै मानिस बिरामी हुने र धेरै पैसा खर्च भइरहेको भन्दै त्यसलाई रोक्नका लागि व्यक्तिगत स्वास्थ्यमा हरेक नागरिकले ध्यान दिनुपर्ने बताए । सरकारले योग व्यायामका लागि प्रत्येक वडामा योगहल बनाउने काम गरिरहेको भन्दै त्यसले सहयोगी भूमिका खेल्ने बताए । मधुमेह दिवसका अवसरमा ६३ जना बढीको सुगर परीक्षणसमेत गरिएको थियो ।

  • २९ कार्तिक २०८१, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech