नवजात शिशुको हेरचाह गर्दा निकै संवेदनशील हुनुपर्छ । जन्मदेखि २८ दिन वा १ मिहनासम्मको उमेरलाई नवजात शिशु अवस्था भनिन्छ । बच्चा गर्भावस्थाको नौ महिना पूरा भएपछि जन्मिन छन् । कुनै कुनै केसमा बच्चा समय पहिले जन्मिन्छ यस्ता शिशुलाई अपरिपक्व भनिन्छ ।
यसरी जन्मिने शिशुको शरीरका धेरै अंग अपरिपक्व अवस्थामा नै हुन्छन् । मुटु, मस्तिष्क, फोक्सो र पाचन शक्तिमा समस्या देखिएको हुन सक्छ । महिना नपुगी जन्मिएका शिशुमा देखा पर्ने विभिन्न जटिलता पाँच वर्षमुनिका बालबालिकाको मृत्यु हुने प्रमुख कारण बन्दै गएको छ। सन् २०२० को तथ्याङ्कअनुसार कुल एक करोड ३० लाख अर्थात् प्रत्येक १० मध्ये एक बच्चा समय नपुगी जन्मिएका थिए। विश्वभरिमा पाँच वर्षमुनिका नौ लाख शिशुको मृत्यु प्रीटर्मु जन्म अर्थात् महिना नपुगी जन्मिँदा उत्पन्न जटिलताका कारण भएको थियो।
महिना नपुगी बच्चा किन जन्मिन्छ ?
- सङ्क्रमण
- गर्भवती महिलाको स्वास्थ्यमा विद्यमान प्री(इक्ल्याम्प्सिया ९उच्च रक्तचापका कारण धेरै टाउको दुख्ने, दृष्टिमा समस्या हुने र बान्ता हुने जस्ता लक्षण देखिन्छन्० जस्ता रोग
- पाठेघरको मुखमा हुने कमजोरी
- एकभन्दा बढी बच्चा जन्मिएका महिलाको गर्भ।
- महिना पुग्नुअगाडि हुने जन्मबारे अनुसन्धान गर्ने यूकेको एउटा च्यारिटी ‘टमी’ ले गरेको एक अध्ययनले कतिपय महिलाको योनी र पाठेघरबीचको भाग महिना नपुग्दै खुलेको पाइएको थियो।
- उक्त भाग समय नपुगी खुल्दा प्रीटर्म जन्म हुने गर्छ।
- महिना नपुग्दै हुने जन्म रोक्नका लागि उपचार उपलब्ध छ।
- सर्भिकल स्टिचु भनिने उपचारविधिमा शल्यक्रिया गरी पाठेघरको मुखतिर टाँका लगाइन्छ। तर यो उपचारविधि महँगो छ।
महिना नपुगी जन्मिएका बच्चालाई कसरी हेरचाह गर्ने ?
अपरिपक्व शिशुले अरु सामान्य शिशुले जस्तै सजिलै आमाको दूध खान सक्दैन । शिशुले आमाको दूध थोरै मात्र चुस्न सक्छ भने समय–समयमा दूध खुवाइरहनुपर्छ । आमाको दूध सिधै खान नसकेमा दूध एउटा भाँडोमा राखेर सानो चम्चाले पनि खुवाउनुपर्छ । गर्भ रहेको २४ सातापछि जन्मिएका बच्चाहरू पनि बाँच्ने सम्भावना हुन्छ। तर नवजातशिशुलाई जोगाउन अस्पतालमा विशेष हेरचाहसहितको सुविधाआवश्यक हुन्छ। उनीहरूलाई जीवित राख्नका केहि विशेष उपकरणहरू आवस्यक हुन्छन् ।
इन्क्युबेटर : यो उपकरण नवजातशिशु कक्षमा सबैभन्दा धेरै प्रयोग हुन्छ। यो उपकरणलाई गर्भाशयजस्तै गरी बनाइएको हुन्छ र यसले महिना नपुगी जन्मिएका बच्चाहरूको विकासका लागि सुरक्षित ठाउँको आवश्यकता पूर्ति गर्छ।
भेन्टिलेटर : यसले आफ्नै प्रयासमा सास फेर्न सक्षम भइनसकेका नवजातशिशुमा अक्सिजन र अन्य चापको स्थिर प्रवाह गर्छ।
मोनिटर : यो अत्यावश्यक सङ्केतहरूको निगरानीका लागि प्रयोग गरिन्छ। यसमा मुटुको धड्कन, रक्तचाप र अक्सिजनको मात्रा जस्ता कुरा हेरिन्छ।
इन्ट्रभीनस ड्रिपः यो रक्तनलीबाट बच्चाहरूलाई तरल पदार्थ वा औषधि दिन प्रयोग गरिन्छ।
फीडिङ ट्यूब : यो बच्चाको पेटमा नाक वा मुखको माध्यमबाट खानेकुरा पुर्याउन प्रयोग गरिन्छ।
इन्फ्यूजन पम्प : यो आवश्यक पोषण, तरल पदार्थ वा रगत र औषधि दिन प्रयोग गरिन्छ।
नाभीमा राखिने क्याथटर : यो पनि बच्चालाई आवश्यक औषधि र पोषण दिनका लागि प्रयोग गरिन्छ। यसको एउटा उपकरण रक्तचाप मापन र रगतमा निश्चित प्रकारका ग्यासहरूको मापन गर्न पनि प्रयोग हुन्छ।
भविष्यमा देखिन सक्छ समस्या ?
मस्तिष्क र मुटुसम्बन्धी रोग, कुपोषण जस्ता समस्या समय अगावै जन्मिएका शिशुलाई पछि देखिन सक्छ । धेरै भेन्टलेटरमा राखेका शिशुमा फोक्सोमा बढी समस्या भएको पाइन्छ । उनीहरुलाई जन्डिस देखिएमा समयमै उपचार गराइहाल्नुपर्छ । उपचार नभएमा जन्डिस मस्तिष्कमा फैलिएर दिमागको पक्षघात समेत हुन सक्छ ।